डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताएका छन् ।
मिडिया इन्टरनेसनलको ८औं वार्षिकोत्सव कार्यक्रमलाई वेबिनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताए । उनले कोभिड पछि यसको महत्व थप बढेको उल्लेख गरे ।
डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाइ छ । उनले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।
उपप्रधानमन्त्री समेत रहनुभएका अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’को लोगो अनावरण गरेका थिए । अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलले आर्थिक क्षेत्र एवं वित्तीय साक्षरता क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रसंशा गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए ।
कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।
उनले पूँजी बजारमा गत साउनदेखि अधिकांश कामहरु डिजिटल माध्यमबाट भइरहेको बताए । उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रीकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धतासमेत जनाए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसनलाई महत्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए ।
देशमा आर्थिक सवलीकरणका लागि वित्तीय साक्षरताको महत्व र आवश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंसासमेत गरे ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बिमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए ।
समितिले हाल बिमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बिमा क्षेत्रका बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बिमा संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भिम पौडेल, हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, वाग्मती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का सिइओ नीलेशमान सिंह प्रधान, नेपाल कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेलगायतले आर्थिक सवलीकरण र वित्तीय साक्षरताको क्षेत्रमा मिडिया इन्टरनेसनलले खेलेको भूमिकाको प्रशंसा गरे ।
बैंक, वित्त, बिमा, तथा पुँजी बजारको क्षेत्रमा वित्तीय जागरण ल्याउने कार्यमा ७ वर्षदेखि सक्रिय मिडिया इन्टरनेसनलले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी संचालन गर्दै आएको छ ।
मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता र डिजिटलाइजेसनलाई सँगसँगै अगाडि बढाउने बताए । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको लोगो अनावरण गरेका थिए ।
वित्तीय साक्षरतालाई डिजिटलाइजेसनसँग जोड्नेगरी नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेसनलले सुरु गरेको फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको गत जेष्ठ २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया