शनिबार, जेठ ५, २०८१

प्लास्टिक झोलाको विकल्पमा ‘बायो ब्याग्स’

नेपालखोज २०७९ साउन ८ गते १२:२६

काठमाडौं । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा आउने भएको छ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिस विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जसको नाम बायो ब्याग्स अर्थात् जैविक झोला हो ।

बायोब्याग्स प्रयोगपछि कम्पोस्ट मलसमेत बनाउन सकिन्छ । बायोब्याग्स बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्याग्सलाई वातावरणमैत्री बनाउँछ । वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो । प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोस्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ । प्लास्टिकको झोलाले वातावरणमा प्रदूषण मात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहोरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहोरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहोर मानवका लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिशाप बन्दै आएको छ । जबकि जैविक झोला वातावरणमैत्री छ ।

व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पका रूपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९, नंखेलस्थित बायो ब्याग्स नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेका छन् । करिब एक करोड लगानीमा उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश बेजू बताउँछन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका बेजूले जैविक झोलालाई बायो ब्याग्स नाम दिएको बताए । उद्योगमा एकदर्जन स्थानीय युवालाई रोजगारीसमेत दिएको र पोखरामा उत्पादन बिक्री गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । अन्य सहरमा समेत डिलर खोल्ने तयारी भइरहेको उनको भनाइ छ । ‘प्लास्टिक झोलाको विकल्पका रूपमा जैविक झोला उत्पादन गर्ने बायो ब्याग्स नेपाल प्रालि नेपालमा पहिलो उद्योग हो,’ सञ्चालक बेजूले भने ।

मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोस्ट मल बनाउन सकिन्छ । बाल्दा पनि खरानी बन्छ, खरानी पनि मल नै हो । उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपर मार्केट, होटेल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए । उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए । ‘मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौं, बेजूले भने ।’

हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहोर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लास्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारौं चराचुरुंगी, कछुवालगायत जनावरहरू मर्छन् । प्लास्टिकका झोला जनावरले पचाउन सक्दैन । त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवरण गर्नुपर्छ । प्लास्टिकको झोला क्षय हुन एक हजार वर्षसम्म लाग्ने बताइन्छ । जुन सबै जीवित प्राणीहरूका लागि हानिकारक साबित हुँदै आएको छ यसको व्यवस्थापनका लागि मानवजातिले चर्का मूल्य चुकाउँदै आउनुपरेको छ तैपनि समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै आएको छ । प्लास्टिक बाल्दा वायु प्रदूषण अत्यधिक बढ्छ ।

व्यवसायी बेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए । उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खोजबिन गरेको बताउँछन् । प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पका रूपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको बेजूको भनाइ छ । ‘मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन । जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ,’ उनले भने, ‘प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ । त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो ।’ उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा धारणा राखे । सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी बेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ र यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पका रूपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको बैजूको तर्क छ ।

जैविक झोलालाई कम्पोस्टमा परिणत गरी माटोलाई उर्वर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन । यो जीव जनावरले सजिलै पचाउनसमेत सक्छ,’ उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा बिरुवालाई कुनै हानि-नोक्सानी गर्दैन । उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ । बोटबिरुवाका लागि कम्पोस्ट मलका रूपमा खाद्य तत्त्व आपूर्ति गर्छ ।’ उनका अनुसार बायो ब्याग्स सामान्य प्लास्टिकका झोलाभन्दा डेढ गुणा महँगो छ । ‘तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य केही पनि होइन,’ बेजूले भने ।

प्रतिक्रिया