ओली प्रवृत्तिविरुद्ध एकजुट हुन विपक्षी गठबन्धनको आह्वान

नेपालखोज २०७८ असार १६ गते २०:०६

काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ ।

नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शिर्षनेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

अन्तरक्रियामा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् । साथै उनले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रको रक्षाका लागि ५ दलिय गठबन्धन बनेको स्पष्ट पारेका छन् ।

उनले भने “ लोकतन्त्र,राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छांै । ओलीका विरुद्ध जाने हदसम्म तपाईहरुसंग हो हामी तर तपाईहरु भित्र पनि हामीले ओली देखेका छौ हामीले । त्यसैले धेरै आसा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँ सम्म हामी संगै छौ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसंग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु ।”

राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल बिर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरु उस्तै नभएको दाबी गरे । शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफुले गरेको योगदान तथा सम्झौताहरुको फेयरिस्त राख्दै उनले ती काममा लचिलो हुनु गल्ति थियो भनी प्रश्न गरे ।

कम्युनिष्ट पार्टी एकिकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको उनले टिप्पणी गरे । उनले विश्वभरका कम्युनिष्ट पार्टीहरुमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए । उनले सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने , वर्तमान सरकारले गरेका अबैधानिक राजनीतिक नियुक्तिहरुलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया