मंगलबार, मंसिर २५, २०८१

विपतका कारण घरबार गुमाएकालाई अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार दिइने

नेपालखोज २०७८ असार २० गते १५:२४

काठमाडौं । सरकारले मनसुजन्य विपत्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदै गृहमन्त्री विष्णु पौडेलले तत्कालअस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिए ।

यस बर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए । यसबर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पुर्ण निजी आवासहरुको समेत विपत् प्रभावित नीजि आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माण गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

उनले भने “यसबर्षको मनसुनजन्य विपद्बाट २०७८ असार १६ गते सम्म विभिन्न जिल्लामा आंशिक तथा पुर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको छ ।”

सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए । उनले गत बर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुर्ननिर्माणको काम सुरु गरिएको पनि उहाँले जानकारी दिए । उनले यसबर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे सभालाई विस्तृत जानकारी गराएका थिए ।

मन्त्री पौडेलले पीडीतको राहत तथा उद्धारका लागि प्रदेस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारवाहीको पनि फेयरिस्त प्रस्तुत गरे । त्यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिहरुले स्थानीय तह र अन्य संघ संस्थासंग समन्वयन गरी प्रभावितहरुलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरुलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए ।

विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षतिभएका संरचनाको पुर्ननिर्माण कार्य पनि जारी रहेको मन्त्री पौडेलले जानकारी दिए । तर ठूलो क्षति भएका कारण वेशिसहर मनाङ्ग सडक, अरनिको राजमार्ग सडक, बाजुराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौडालगायतका स्थानमा अवरुद्ध सडक अझै अवरुद्ध रहेकाले ती सडकखण्ड खोल्ने प्रयास जारी र सेती दोभान लगायत मुग्लि नाराष्णगढ सडकका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास भईरहेको उनले जानकारी दिए ।

उनले सरोकारवाला निकाय र तीनका पदाधिकारीहरुलाई विपद्बाट पुगेको क्षतिको समिक्षा गरि पुनर्निर्माण र पुनःस्थापनाका काम अघि बढाउन निर्देशन दिईएको पनि उनले जानकारी दिए । उनले बाढी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरुद्ध बनेका राजमार्ग, खानेपानी, विद्युत्, सञ्चारलगायतका अन्य सेवाहरु सरोकालवाला निकायहरुको समन्वयनमा तत्काल सुचारु गर्न प्रबन्ध मिलाईएको जानकारी दिए ।

मन्त्री पौडेलले गतबर्षको पहिरोबाट क्षति भएका सिन्धुपाल्चोक, कालिकोट, पर्वत, म्याग्दी, संखुवासभा लगायत १३ जिल्लाका विभिन्न स्थानहरुको भौगर्भिक अध्ययन गरि पुर्ननिर्माण, पुनःस्थापना र जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने प्रक्रिया पनि थालनी भएको बताए ।

प्रतिक्रिया