मंगलबार, वैशाख ३०, २०८२

‘राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ’

नेपालखोज २०७८ असार २१ गते १६:०४

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्र्तगतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संविधानले दुई सदनात्मक व्यवस्था गरेको भएपनि प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाको औचित्य नै नभएको जस्तो देखिएको बताइन् ।

संविधानले राष्ट्रिय सभा सधैँ रहन्छ भनेको भएपनि कामले पनि सधै रहेको जस्तो देखाउनुपर्ने उनले बताए । समितिले विपत् अथवा संविधानको मौलिक हकसँग सम्बन्धित कुनै कानुनहरुको बारेमा छलफल गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभा सदस्यहरुले पनि क्रियाशिलता बढाउनुपर्ने बताए । राष्ट्रिय सभा सदस्यहरुको संसदको भूमिका भन्दा पनि बढी पार्टीको भूमिकामा बढी देखिएका कारण प्रभावकारीता हुन नसकेको उनले बताए । पार्टी सदस्य र संसद सदस्यको भुमिकामा स्पष्ट हुँदै सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताए ।

उनले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पुर्याएर छलफल गर्नुपर्ने बताए । विधायन व्यवस्थापन समितिका सभापति परशु राम मेघी गुरुङले समितिको आगामी बैठकले सामाजिक सुधार ऐन र संक्रामक रोग ऐन सम्बन्धी ऐनको विषयमा छलफल गर्ने जानकारी दिए ।

समितिले क्रमशः प्रतिलिपि अधिकार ऐन, भूमी सम्बन्धी, सार्वजनिक खरिद ऐन र भ्रष्टाचारको सम्बन्धमा छलफल गर्ने पनि जानकारी दिए ।

राष्ट्रिय सभाको आठौं अधिवेशन सुरु भएसँगै समितिहरु क्रियाशिल हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।

प्रतिक्रिया