बुधबार, असार ११, २०८२

२ महिनापछि उपत्यकाका सडकमा जाम, नियमित चल्न थाले सबै सार्वजनिक यातायात

नेपालखोज २०७८ असार २२ गते १३:५१

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) देखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । झन्डै दुई महिनापछि सार्वजनिक यातायातका साधनहरु चलेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर ललितपुर) मा लागु हुनेगरी सवारीसाधनमा लगाउँदै आएको जोर-बिजोर प्रणाली हटाउनुका साथै २५ सिट क्षमताभन्दा कमका सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिए पनि आजदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सह-चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्ने सर्तसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर(बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारीसाधन सञ्चालनको अनुमति दिएको हो ।

तर उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारीसाधनले भने अझै सञ्चालन अनुमति पाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा माथिका सवारीसाधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यसभन्दा कम सिट हुने ट्याम्पो, माइक्रोबस व्यवसायी तथा तिनमा कार्यरत मजदुर संगठनहरूले विरोध गर्दै आएका थिए ।

व्यवसायी र मजदुर संगठनको दबाबपछि प्रशासनले मातहतका निकायमा परामर्श गरी स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिइएको हो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइनेछ ।
-फाइल तस्बिर

प्रतिक्रिया