चोरीको मोटरसाइकल धनीलाई हस्तान्तरण

नेपालखोज २०७८ असार २२ गते १३:५८

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।

कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइकल र ८ वटा स्कुटर छन् । पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।

हराएको सवारी साधन फेलापरेपछि सवारी धनीहरु पनि खुसी भएका छन् । उनीहरुले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन् ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया