जसपा आधिकारिक रुपमा फुट्ने, विभाजनसम्बन्धी प्रक्रियामा अगाडि बढ्न दुवै पक्ष सहमत

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल आधिकारिक रुपमा फुट्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुबै पक्ष सहमत भएका हुन् ।
जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुबै पक्षलाई सहमती जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो ।
तर जसपाको दुबै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतीबाट हुन नसकेको बताए ।
अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाइको प्रक्रिया अगाडी बढाएर विवादको निरुपण गर्ने बताए ।
जसपा उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताए ।
पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने कुरा आफूहरुले छलफलका क्रममा राखेको उनले बताए ।
पार्टी एकता हुने कि नहुने भन्नेमा महन्थ ठाकुर पक्षको हात रहेको र पार्टीको आधिकारिकता भने निर्वाचन आयोगले आफुहरुलाई दिने नेता यादवले दाबी गरे ।
जसपा महन्थ ठाकुर पक्षका नेता अनिल कुमार झाले आफुहरुले कुनै पनि गल्ती र असंवैधानिक काम नगरेकाले क्षमा माग्नुपर्ने अथवा आत्म आलोचना गर्नु आवश्यक नरहेको बताए ।
उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडी बढेको उनले बताए । आजको छलफलबाट दुबै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडी बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
निर्वाचन आयोगमा भएको छलफलमा उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित थिए ।

प्रतिक्रिया