विरासतको उल्झनमा अल्झिएको कोइराला परिवार
नेपाली कांग्रेसको स्थापनादेखि यसको विकास एवं विस्तारसम्म कोइराला परिवारको विशिष्ट योगदान तथा भूमिका रहँदै आएको छ । यस क्रममा मातृकाप्रसाद, विशेश्वर, सरोज, गिरिजा, शैलजा (आचार्य) , नोना, सुशीलजस्ता नेताहरुले आ-आफ्नो कालखण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
आफ्नो कर्मको बलमा यो परिवारका यी वरिष्ठ सदस्यहरुले कांग्रेसको मात्र होइन मुलुककै इतिहासमा विशेष स्थान बनाएका छन् । खासगरी नेपालको प्रजातान्त्रिक जागरण र संघर्षमा कोइराला परिवारले गरेको त्याग र बलिदान उच्च कोटीको मानिन्छ ।
यद्यपि यो परिवारका पहिलो पुस्ताका लगभग सबैजसो नेताले यो संसारबाट बिदा लिइसकेका छन् । कांग्रेसको राजनीतिमा उनीहरुको स्थान लिन दोस्रो पुस्ताका नेताहरु अर्थात् छोरा कोइरालाहरु संघर्षरत छन् तर कोइराला परिवारभित्रै पारिवारिक बिँडो कसले थाम्ने भन्ने कुराको निर्क्योल तथा मत्यैक्यता नहुँदा आन्तरिक प्रतिस्पर्धा र मतभेद चुलिएको छ । यसैको परिणाम स्वरूप नेपाली कांग्रेसको आगामी महाधिवेशनले छनोट गर्ने मुख्य नेतृत्वमा कोइराला परिवारबाटै ३-३ जना र कथित कोइराला क्याम्पबाट थप त्यति नै दाबेदारी देखापरेको छ । यसरी हेर्दा अहिले कोइराला परिवारका साथै कथित कोइराला क्याम्पसमेत मियोबिनाको अथवा अविभावकविहीनजस्तो पनि देखिएको छ ।
अघिल्लो पुस्ता जीवित छँदै परिवारको विरासतको टुंगो नलागेको वा नलगाइएको कारणले पनि अहिलेको छिन्न-भिन्नताको स्थिति उत्पन्न भएको हो । अहिले परिवारको आन्तरिक नेतृत्व संघर्षलाई व्यवस्थित गरिदिने वरिष्ठ व्यक्तित्वको अभावसमेत खट्किएको छ ।
कांग्रेसभित्र कथित कोइराला क्याम्पबाट आधा दर्जनभन्दा बढीले सभापतिमा दाबी गर्नु आफैंमा उदेकलाग्दो त छँदै छ स्वयं कोइराला परिवार भित्रैबाट वर्तमान महामन्त्री तथा बीपीपुत्र शशांक, गिरिजापुत्री सुजाता अनि नोना पुत्र शेखरको दाबेदारी देखिनु र महाधिवेशनको मुखमा आइपुग्दासम्म उनीहरुबीच मतैक्यता सिर्जना हुन नसक्नुलाई स्वभाविक मान्न सकिँदैन ।
एकताका यी तीन जनाबीच विभिन्न चरणमा छलफल चलेर आन्तरिक सहमति कायम भएको भनिए पनि अहिलेसम्म त्यसको सकारात्मक परिणाम कसैले देख्न पाएका छैनन् । बरु विरासतका यी तीन दाबेदार तीनतिर जस्तो स्थिति देखापरेको छ । लामो समयदेखि उनीहरुले कांग्रेसको भावी नेतृत्वको विषयमा सामूहिक छलफलसमेत गरेका छैनन् । आजको दिनसम्म तीनैजना आ-आफ्नो महत्त्वाकांक्षा पूरा गर्ने दौडमा जोडतोड साथ लागेका छन् ।
कोइराला परिवारभित्र नयाँ पुस्ताबाट विरासतको दौडमा एकताका एकमात्र खेलाडी थिए- बीपीपुत्र प्रकाश कोइराला तर प्रकाश पहिल्यै ‘रिङ-आउट’ भए । मनीषा कोइरालाका बुबा प्रकाश कांग्रेस राजनीतिको दृश्यबाट हराउनुका अनेकौं कारण तथा किस्सा-कहानी सुन्न पाइन्छ । तथापि धेरैजसो जानकारले भन्ने कारणचाहिँ एउटै छ- प्रकाश कोइरालालाई हटाउन कसैले विशेष बल गर्नुपरेन उनी आफैं आफ्ना गतिविधिका कारण रिङबाट बाहिर हुत्तिए । यद्यपि त्यति बेला पनि केही युवा कोइरालाहरुले राजनीतिमा चासो नदेखाएका होइनन् तर बीपीपुत्रका अगाडि उनीहरु पहिल्यै मैदानबाहिर फ्याँकिए जसरी केही समयपछि प्रकाश स्वयं फ्याँकिए ।
गिरिजाप्रसाद कोइरालाको रजगज चलेका बेला जर्मनीको बसाइँ र परिवारसमेत त्यागेर आफ्नो राजनीतिक महत्त्वाकांक्षा पूरा गर्न नेपाल आएकी थिइन् सुजाता कोइराला । पितालाई सघाउन आएकी सुजाता पछि गएर कांग्रेसभित्र गिरिजाप्रसादको मात्र होइन कोइराला परिवारकै उत्तराधिकारीका रुपमा खडा भइन् । विभिन्न प्रकारका विवादहरुबीच अघि बढिरहेकी सुजाताका लागि पिताको देहावसान निकै ठूलो धक्का साबित भयो । सँगै शारीरिक रोगले समेत उनको यात्रामा अवरोध खडा गर्यो । अहिले सुजाता पुन: सक्रिय जीवनमा फर्कने प्रयास गर्दै कांग्रेस सभापतिमा दाबी गरिरहेकी छिन् ।
गिरिजाप्रसादको देहावसानपछि विशेष रुपमा लाइम लाइटमा आएका शशांक कोइरालाले दुईपटक संसद्को निर्वाचन मात्र जितेनन् पार्टीको आन्तरिक निर्वाचनमा लोकप्रिय मतका साथ महामन्त्री पद हासिल गरे । बीपीपुत्र शशांकका लागि यत्ति स्वभाविक थियो । अहिले उनले पनि सभापतिमा दाबी गरिरहेका छन् । त्यसका पछाडि बीपीपुत्र हुनुका अतिरिक्त सांसद् तथा महामन्त्री पदमा रहेर काम गरिसकेको आधारसमेत उनमा छ ।
उता लामो समय चिकित्सा र अप्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नोनापुत्र शेखर कोइराला पनि पार्टी केन्द्रीय सदस्य तथा सांसद रहिसकेका व्यक्तित्व हुन् । कोइराला परिवारको यो पुस्तामा राजनीति बुझेको र आमकार्यकर्तासँग बढी घुलमिल भएको मानिने शेखर कोइरालासमेत कांग्रेस सभापतिका प्रवल दाबेदार हुन् ।
त्यसो भए कोइराला परिवारबाट के यी तीनैजना सभापति लड्छन् त ? अवश्य लड्दैनन् । यदि लड्दैनन् भने कसको नाममा सहमति बन्छ त ? यदि सहमति नबने चुनाव लडेरै छाड्ने दुईजना को-को होलान् ? परिवारभित्रै सहमति नबनिरहेको अवस्थामा कोइराला क्याम्पकै भनिएका अन्य दाबेदारको व्यवस्थापन कसरी होला ? के यो क्याम्पबाट गैरकोइरालाका नाममा सहमति बन्ने अबस्था छ ?
यदि त्यसो भयो भने कांग्रेसको कोइराला क्याम्पभित्रै कोइराला विरासतको अन्त्य होला ? यी र यस्ता अनेकौं प्रश्न छन् जसको तत्काल कुनै जवाफ छैन । समय क्रममा यी सबै कुराको जवाफ भने अवश्य आउँदै जानेछ ।
प्रतिक्रिया