शनिबार, वैशाख १५, २०८१

आर्थिक चलखेल गर्न ‘क्यूभीसी’ खोलिएको भन्दै संघद्वारा आन्दोलनको चेतावनी

नेपालखोज २०७८ असार २२ गते १८:०७

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार जाने युवा र व्यवसायीलाई लिएर आन्दोलनमा गर्नेछौं ।’ उनले कतार भिसा सेन्टर (क्यूभीसी) को यथाशीघ्र छानबिन गर्न सरकारसँग माग गरे । कतार भिसा सेन्टर (क्यूभीसी) को आवश्यकता र क्रियाकलापबारे पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङकोे भनाइ थियो । उनले जुनसुकै अवस्थामा पनि क्यूभीसी स्थापना हुनुपर्ने तर कामदारलाई अलपत्र पार्न नहुने उनको तर्क थियो ।

तामाङले क्यूभीसीले ५० हजार युवाको कतार जाने सपना चकनाचुर बनाएको समेत आरोप लगाए । उनले भने, ‘क्युभीसी हाल राज्यभन्दा पनि माथि छ ।’ ८० हजार मानिस क्यूभीसीकै कारण कतार जानबाट वञ्चित भएको समेत जिकिर गरे । उनले दूरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरू २० दिनसम्म क्यूभीसीका लागि डेट कुरेर बस्दा उल्टै ऋणमा डुबेको बताए । उनले भने, ‘२० दिन कुर्दा पनि युवा कामदारको क्यूभीसीको आफ्नो समस्याले फेरि मेडिकल रिपोर्ट फेल गराउँछ ।’

पत्रकार सम्मेलनमा नेपाल वैदेशिक रोजगार संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । क्युभीसीले नेपाली कामदारमाथि ज्यादति गरेको भन्दै उनले एकपक्षीय रूपमा व्यवसाय, व्यवसायी र कामदारको हितविपरीत आर्थिक भार थप्ने र अघोषित सिन्डिकेट कायम गर्ने नियत प्रस्ट देखिएको बताए ।

उनले क्युभीसीले अत्यधिक मागलाई थेग्न नसकेकोसमेत उल्लेख गरे । क्यूभीसीले पैसाका आधारमा, सेलेक्टेड संस्थाको मात्र काम गरेको आरोप लगाउँदै मल्लले क्यूभीसी खारेज गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले क्यूभीसीका कारणले व्यवसाय अस्तव्यस्त भएको बताए । क्युभीसीका कारण बेरोजगार र गरिब नेपाली युवा ठगिएको उनले आरोप लगाए । नेपाली युवाले क्यूभीसीको अप्वाइनमेन्ट लिन महिनौं कुर्नुपर्दा आर्थिक भार थपिएको उनले बताए । उनले क्यूभीसीलाई तत्काल बन्द गरी अनियमितालाई छानबिन गर्नसमेत माग गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले आमनागरिकलाई क्यूभीसीले अत्यन्त मर्का पारेको बताए । क्यूभीसी स्थापना भएदेखि नै विवादमा भएको उनको भनाइ छ । संघको मागलाई सहयोग गर्न सरकार, युवा तथा सम्बन्धित निकाय सबैलाई आग्रह गरे । क्यूभीसी स्थापनाको सुरुवातमै सिन्डिकेट लागु हुने सम्भावना धेरै भएकाले तत्कालीन वैदेशिक रोजगारमन्त्री गोकर्ण विष्टले गर्न नचाहेपछि परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएकोे समेत जिकिर गरे ।

कतार व्यवसायीका तर्फबाट लोकतान्त्रिक एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले मन्त्रालयलाई समेत बाइपास गरेर आएको क्यूभीसीले दर्ता र अनुमति लिँदा प्रबन्धपत्रमा भएको नियम पालनासमेत नगरेको आरोप लगाए ।

क्यूभीसीद्वारा लगाइएको सिन्डिकेट मान्न आफूहरू तयार नभएको बताए । कामदारको क्यूभीसीको रिपोर्ट कुर्न रातभर व्यवसायीले कुर्नुपर्ने यो कस्तो नियम हो भन्दै आक्रोश पोखे । ‘क्युभीसीले दादागिरी देखाएको छ, दादागिरी मान्न तयार छैनौं,’ उनले भने, ‘क्यूभीसीले काम नगर्दा व्यवसायीले कामदार समयमै पठाउन नसक्दा कतारका कम्पनीले घाना र युगान्डाबाट कामदार ल्याउँदा नेपाली युवाहरूको रोजगार खोसिएको छ । नेपाली युवाको माग पूरा गर्न नसक्ने क्यूभीसी हामीलाई किन चाहियो ?’ मागपत्रअनुसार भएका ८८४ व्यवसायीलाई क्यूभीसी स्वीकार्य नभएको अर्यालले बताए । उनले क्यूभीसीले सम्पूर्ण कामदारको मेडिकल रिपोर्ट सात दिनमै तयार हुन्छ भने मात्रै स्वीकार्ने नत्र नसक्ने अस्वीकार गर्ने स्पष्ट पारे ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले कार्यक्रम सञ्चालन गर्दै संघको विज्ञप्ति पढेर सुनाएका थिए । वैदेशिक रोजगारीका लागि कतार जाने कामदार र पठाउने व्यवसायीका लागि कतार भिसा सेन्टर (क्यूभीसी) बाधक बनेको, काममा ढिलासुस्ती हुँदा व्यवसायी र कामदारहरू व्यापक मर्कामा परेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाए ।

प्रतिक्रिया