आरबीबी म्युचुअल फन्ड भोलिदेखि बिक्री खुल्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्यूचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्यूचुअल फण्ड–१ यही असार २३ गते (बुधबार) देखि बिक्री खुल्ला हुने भएको छ ।
यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो । यो योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले दुुई प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मूल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षता पूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरको वेव साईटमा गई आवेदन दिन सक्ने छन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

प्रतिक्रिया