‘कतार जाने युवालाई पाइलैपिच्छे सास्ती, मेडिकल रिपोर्ट एक महिनामा पनि आएन’ (भिडियो रिपोर्ट)
वैदेशिक रोजगार व्यवसायी भन्छन्- क्यूभीसीको भूमिका सरकारभन्दा माथि
काठमाडौं । वैदेशिक रोजगार व्यवसाय नेपालको प्रमुख आर्थिक मेरुदण्डका रुपमा रही आएको छ । नेपालका युवा युरोपियन देशदेखि विभिन्न खाडी राष्ट्रमा गएर श्रम गरी आर्थिक आयआर्जन गर्दा देशको गरिबी उकास्न प्रमुख टेवा मिलिरहेको छ ।
बाहिरी मुलुकमा काम गर्न जानका लागि स्वास्थ्य परीक्षण महत्त्वपूर्ण पक्ष हो । नेपालमा कतार भिसा सेन्टर (क्यूभीसी) स्थापना हुनुअघि नेपाल सरकारबाट मान्यता प्राप्त देशका जुनसुकै ठाउँका स्वास्थ्य संस्थाबाट पनि वैदेशिक रोजगारका लागि स्वस्थ्य परीक्षण गर्न सकिन्थ्यो ।
नेपालमा स्वस्थ्य परीक्षणमा पास भएपछि कतारमा पुगेपछि पनि कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम थियो । तर अब भने नेपालमा स्थापना गरिएको क्यूभीसीबाट मात्र स्वास्थ्य परीक्षण गर्ने नियम लागु भएको छ । यसले कतारमा पुगेर स्वास्थ्य परीक्षणमा फेल भएपछि निराश भएर फर्किनुपर्ने अवस्थाको अन्त्य त भएको छ । तर ,पछिल्लो समयमा कतार सरकारले कतार भिसा सेन्टर नेपालमै स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेपछि यसको वैदेशिक रोजगार व्यवसायी एवं कतार जान खाजेका केही युवाहरूले भने विरोध जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) स्थापना गरेर एकाधिकार लागु गर्न खोजेको भन्दै विरोधका आवाजहरू निकालिरहेको छ । संघले आन्दोलन गर्ने चेतावनी पनि दिइरहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने गरिएकामा एकाधिकारका लागि मात्रै क्यूभीसी सेन्टर नामक व्यापारिक संस्था खडा गरिएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु रुष्ट भएका हुन् ।
अहिले काठमाडौंको चक्रपथमा स्थापना गरिएको कोरिया भिसा सेन्टर (क्यूभीसी) मा देशका विभिन्न क्षेत्रबाट युवा कामदारहरू आएर स्वास्थ्य परीक्षण गराइरहेका छन् ।
यसैक्रममा काठमाडौंस्थित क्यूभीसीमा लकडाउनको समयमा देशका विभिन्न ठाउँबाट भाडा तिरेर स्वास्थ्य परीक्षण गराउन आएकाहरु भेटिए । यस्तो लकडाउनका बेला गाउँबाट आएर स्वस्थ्य परीक्षण गराउने नियमले आफूहरूलाई निकै झन्झट भएको उनीहरुको गुनासो छ । वैदेशिक रोजगारमा निकै वर्ष अनुभव बटुलेका सिन्धुलीका लाक्पा दोर्जे एक महिनादेखि स्वास्थ्य परीक्षण गरिएको रिपोर्ट नआएर झन्झट बेहोर्नुपरेको बताउँछन् ।
एक पक्षबाट हेर्दा नेपालमा क्यूभीसी राम्रो पक्ष भए पनि अर्कोतर्फ गाउँगाउँबाट काठमाडौं आएर लामो समय बस्नुपर्दा कामदारहरूको खर्च बढेको छ । फेरि काठमाडौं आएर स्वास्थ्य जाँच गराउँदा कतिपय युवा मेडिकल फेल हुन्छन् । तर कस्तो स्वस्थ्य कमजोरीका कारणले फेल भएँ भन्ने कारण नबताइदिँदा आफूहरू रनभुल्लमा परेको कामदारहरूको गुनासो छ । केही युवा कामदारले २० दिन कुर्दा पनि क्यूभीसीकै समस्याले मेडिकल रिपोर्ट फेल गराएको गुनासो गरेका छन् । स्वास्थ्य परीक्षणका लागि आएका कतिपयले नेपालमा क्यूभीसी स्थापना ठीक नभएको बताउँछन् ।
निःशुल्क स्वास्थ्य परीक्षण भनिए पनि यातायात खर्च, होटेलको महँगो बसाइ र महँगो खानाका कारण रिपोर्ट नआउन्जेलसम्म बस्नै गाह्रो भएको उनीहरूको प्रतिक्रिया छ ।
यद्यपि ,केहीले यसको विरोध गरिरहँदा केहीलाई भने यो नियम ठीकै लागेको छ । उनीहरू भन्छन्, ‘गाउँगाउँबाट काठमाडौं आउने बाध्यता भए पनि यो नियमले कतारमा पुगेर मेडिकल फेल भएर निराश भई फर्किनुपर्ने अवस्था हुँदैन ।
यता क्यूभीसीविरुद्ध युवा कामदारसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने वैदेशिक रोजगार संघले चेतावनी दिँदै छ । हिजो असार २२ गते मात्रै संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यूभीसीमा सीमित व्यक्तिहरूले अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल गरेको आरोप लगाएको छ । संघका अध्यक्ष कमल तामाङले क्यूभीसीका नाममा सिन्डिकेट लागु गर्न खोजिएको दाबी गरेका छन् । उनले कतार भिसा सेन्टर (क्यूभीसी) को आवश्यकता र क्रियाकलापबारे यथाशीघ्र छानबिन गर्न सरकारसँग मागसमेत गरेका छन् । पत्रकार सम्मेलनमा तामाङले क्यूभीसीले ५० हजार युवाको कतार जाने सपना चकनाचुर बनाएको आरोपसमेत लगाए । क्यूभीसी हाल राज्यभन्दा पनि माथि भएको आरोप लगाउँदै उनले ८० हजार मानिस क्यूभीसीकै कारण कतार जानबाट वञ्चित भएको दाबी गरे ।
दूरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरू २० दिनसम्म क्यूभीसीका लागि ‘डेट’ कुरेर बस्दा उल्टै ऋणमा डुबेको वैदेशिक रोजगार व्यवसायी र केही वैदेशिक रोजगारमा जाने तयारीमा रहेका कामदारहरुको ठहर छ । नेपाल वैदेशिक रोजगार संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले क्यूभीसीले पैसाका आधारमा, सेलेक्टेड संस्थाको मात्र काम गरेको आरोप लगाए । उनले क्यूभीसी खारेज गर्न सरकारसँग माग गरे ।
यस्तै लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले नेपाली युवाले क्यूभीसीको अप्वाइनमेन्ट लिन महिनौं कुर्नुपर्दा आर्थिक भार थपिएको जनाए । प्रायः सबै वैदेशिक रोजगार व्यवसायी र योसँग सरोकार राख्नेहरू क्यूभीसी प्रणालीसँग रुष्ट छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले तत्कालीन वैदेशिक रोजगारमन्त्री गोकर्ण विष्टले गर्न नचाहेपछि परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको पत्रकार सम्मेलनमा जिकिर गरेका छन् ।
यता कतार व्यवसायीका तर्फबाट लोकतान्त्रिक एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले मन्त्रालयलाई समेत बाइपास गरेर आएको क्यूभीसीले दर्ता र अनुमति लिँदा प्रबन्धपत्रमा भएको नियम पालनासमेत नगरेको आरोप लगाएका छन् ।
देश संघीयतामा गइसकेको अवस्थामा पछिल्लो समयमा श्रम स्वीकृतिलगायत कामहरू प्रदेशबाट भइरहेका छन् । पछिल्लो समयमा युवाहरू अब काठमाडौं धाउनुपर्ने बाध्ययताबाट मुक्त भइयो भनेर मख्ख थिए । तर कतार भिसा सेन्टरले काठमाडौंको एक ठाउँबाट मात्रै स्वास्थ्य परीक्षणलगायतका काम गर्दा दूरदराजमा बसोबास गर्ने र विदेश जान चाहने युवाहरूलाई साँच्चै सास्ती भएको छ । उनीहरू आर्थिक मारमा परेका छन् । अहिले नेपालमा क्यूभीसी विवादमा छ । वैदेशिक रोजगार व्यवसायी महासंघ र केही युवा कामदारहरूले कतार जाने कामदार र पठाउने व्यवसायीका लागि कतार भिसा सेन्टर क्यूभीसी बाधक पक्ष भएको दाबी गरेका छन् ।
यस्तै क्यूभीसीको काममा ढिलासुस्ती हुँदा व्यवसायी र कामदारहरू व्यापक मर्कामा परेको उनीहरूको गुनासो छ । नेपालमा क्यूभीसी साँच्चै व्यवहारिक रूपमा ठीक छैन भने नेपाल सरकारले पुनर्विचार गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने देखिएको छ ।
तस्बिर/भिडियो : संगम ढकाल
प्रतिक्रिया