शुक्रबार, चैत १६, २०८०

यी हुन् विरुद्ध आहार ?

डा. हेमराज कोइराला २०७८ असार २६ गते १३:०८

आहार संयोगका आधारमा मात्र विरुद्ध हुँदैन । देश, काल, परिस्थिति, मौसम, पाचन क्षमता, मात्रा, दोष, प्रकृति, विकृति (रोग), बल, बय, संस्कार, वीर्य अदिका आधारमा पनि विरुद्ध हुन्छ ।

१. देश वा स्थान विरुद्धको आहार : स्वास्थ्यका लागि सबैभन्दा हितकर खानेकुरा भनेको व्यक्ति बसिरहेकै स्थानमा फलेफूलेका खानेकुराहरू हुन् । स्थानीय वा क्षेत्रीय खानेकुराहरू खाँदा व्यक्ति र खानेकुराको प्रकृति मिल्छ तर एक क्षेत्रमा फलेफूलेको खानेकुरा अर्को क्षेत्रका मान्छेले खाँदा विरुद्ध हुन्छ ।

२. काल विरुद्धको आहार : काल अथवा समयका आधारमा पनि आहार विरुद्ध हुन सक्छ । जस्तो काँक्रो बिहान १० बजेभन्दा पहिले खानु अति उत्तम, १० देखि ४ बजेसम्म खानु ठीकै तर ४ बजेपश्चात् खानु हानिकारक हुन जान्छ । यसैगरी दही, सातु, अमिलो खानेकुराहरू राति खान हुँदैन ।

३. परिस्थिति विरुद्धको आहार : मान्छेको जीवनमा युद्ध, शान्ति, तनाव, चिन्ता, शोक, उदाशीनता, प्रणयजस्ता अनेक परिस्थितिहरू आइलाग्छन् र खानेकुरा यी परिस्थतिअनुरूपको हुनुपर्छ । जस्तै, शोकको घडीमा नुनको सेवन, तनावको परिस्थितिमा गरिष्ठ भोजनलाई विरुद्ध मानिन्छ ।

४. मौसम विरुद्धको आहार : जाडो-गर्मी, वर्षा-सुक्खा वा भिन्न-भिन्न मौसममा जे फल्छ त्यही खाए राम्रो हुन्छ । जस्तै, असारको आँप पुसमा खानु राम्रो होइन यसैगरी पुसको सुन्तला असारमा खानु राम्रो होइन । यसैगरी जाडोको चिसो र सुक्खा खानेकुरा खानु र गर्मी मौसममा तातो खानेकुरा खानु मौसमविरुद्धका आहार हुन् ।

५. पाचन विरुद्धको आहार : हरेक मान्छेमा पाचन क्षमता भिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मजाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । यसर्थ कमजोर पाचन क्षमता भएकाहरूले तारेको र भुटेको धेरै तेल हालेको माछा-मासु, अन्डाजस्ता गरिष्ठ खानेकुरा खानु हुँदैन ।

६. मात्रा विरुद्धको आहार : मह र घिउलाई समान मात्रामा सेवन गर्दा विषाक्त हुने मानिएको छ ।

७. दोष विरुद्धको आहार : वात प्रकृतिको मान्छेका लागि वात बढाउने खालको, कफ प्रकृतिको मान्छेका लागि कफ बढाउने खालको र पित्त प्रकृतिको मान्छेका लागि पित्त बढाउने खालको खानेकुरा विरुद्धका आहार हुन् ।

८. प्रकृति विरुद्धको आहार : मान्छे सात्विक, राजसिक र तामसिक गरेर तीन प्रकृतिको छ । सात्विक प्रकृतिको मान्छेलाई तारेको र भुटेको, गरिष्ठ र उत्तेजक खानेकुरा दिँदा त्यो खाना गरिष्ठ हुन जान्छ भने राजसिक व्यक्तिलाई सादा खानादिँदा त्यो खाना पनि विरुद्धको खाना हुन्छ ।

९. विकृति (रोग) विरुद्ध आहार : हरेक रोगमा खानु हुने र खानु नहुने कुराहरूको सूची हुन्छ । रोगअनुरूप नभएको खानेहुरूलाई विकृति विरूद्धको आहार भनिन्छ ।

१०. बल (परिश्रम) विरुद्धको आहार : मान्छे परिश्रमका आधारमा निष्क्रिय, सामान्य र सक्रिय जीवनशैलीको हुन सक्छ र उसले गर्ने परिश्रम पनि सामान्य मध्यम र कठिन हुन सक्छ । यसर्थ कठिन परिश्रमीलाई कम खान दिनु र सामान्य परिश्रमीलाई धेरै खानदिनु बल विरुद्धको आहार मानिन्छ ।

११. वय (उमेर) विरुद्धको आहार : लिटो खानेलाई भात खान दिनु र भात खानेलाई लिटो खानदिनु वय विरुद्धको आहार हो ।

१२. पाक संस्कार विरुद्धको आहार : अमिलो खानेकुरालाई तामा वा पित्तलको भाडामा राख्दा वा पकाउँदा खाना विषाक्त हुन्छ । यसैगरी मह वा दहीलाई तताउँदा पनि हानिकारक हुन्छ । यस्ता खानेकुरालाई पाक संस्कार विरुद्धको आहार भनिन्छ ।

१३. वीर्य विरुद्धको आहार : शीतवीर्य पदार्थहरूलाई उष्णवीर्य पदार्थहरूसँग खाएको आहारलाई वीर्य विरुद्धको आहार भनिन्छ ।

१४. रूचि विरुद्धको आहार : आफूलाई रूचि नभएको खानेकुराहरू परिस्थितिवश खानुपरेको खानेकुरालाई हामी रूचिविरुद्धको आहार भन्छौं ।

१५. संयोगका विरुद्धको आहार : दुई वा दुईभन्दा धेरै पदार्थको मिश्रण स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भने त्यस खानेकुरालाई संयोग विरुद्धको आहार भनिन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया