शुक्रबार, वैशाख १४, २०८१

‘भिडलाई निर्देशित गर्नुपर्ने हाम्रा नेताहरु भिडबाटै परिचालित भए’

ओम आचार्य २०७८ माघ ११ गते १८:३३

नेपालको राजनीतिमा देखिएको गणतन्त्र स्थापनापछिका घटनाक्रम (गिरिजाप्रसाद कोइरालाको अवशानपछि) ले वर्तमान नेताहरुमा राजनेता हुने गुण देखिएन । भिडलाई हेर्ने र आफ्नो विचार बनाउने प्रवृत्ति अहिले नेताहरुमा देखिएको छ । यसले दूरगामी प्रभाव जे जस्तो छाडोस् वर्तमानमा वाहवाह र मिडियामा छाइरहने प्रवृत्तिले राजनेता उत्पादन गर्दैन । बीपीले निर्वाशितकालमै राष्ट्रिय मेलमिलापको दर्शन लिएर सम्पूर्ण कांग्रेस र जनभावनाविपरीत नेपाल प्रवेश गर्नुभयो । आफ्नो नीति र दर्शनमा नेतृत्व गरेर जनमत बनाउनु भयो । तत्कालीन समयमा भिडवाट निर्देशित हुनु भएन जोखिम उठाउनु भयो र भिडलाई नेतृत्व गर्नु भयो ।

त्यस्तै जनमत संग्रहमा पनि नतिजालाई स्वीकार्न नगर्न र आन्दोलनमा जान जनसागर देख्दा-देख्दै एक्लै त्यो नतिजा स्विकार्नै घोषणा गरेपछि असन्तुष्ट पक्ष आन्दोलन गर्न जुर्मुराएकाहरु एकाएक सान्त भए । बीपीकै नेतृत्वमा समाहित भए । उहाँका यस्तै थुप्रै नेतृत्व गर्ने क्षमताले उहाँलाई राजनेतामा स्थापित गर्यो । यस्तै किसिमको नेतृत्व गर्ने भूमिका माओवादीले पनि १० वर्ष सशस्त्र आन्दोलन गर्यो । नेपालमा नयाँ राजनीतिक दर्शन र सोच लिएर अगाडि बढ्यो । सिंगै मुलुक विपक्षमा जनभावनाविपरीत १० वर्ष सशस्त्र आन्दोलन गरिरह्यो । जोखिम उठाउदै जनमत बनाउँदै गयो अन्तत: नेपालमा नेतृत्व गर्ने हैसियतमा आफूलाई स्थापित गरे । यस्तै किसिमको नेतृत्व गिरिजाप्रसाद कोइरालामा पनि राम्ररी विकसित भइरहेको थियो । अहिले शेखर कोइरालामा पनि त्यो गुण देखिँदै छ ।

यो खुनमै आउँछ कि ? यो संस्कारमै आउँछ कि ? वर्तमानका हाम्रा नेताहरु द्वन्द्वकालपछिका सबै राजनीति दलका नेताहरु भिडलाई हेर्ने, भिडको विचार लिने, समाचारको टिप्पणीसमेत लाई आधार बनाएर आफ्नो राजनीति विचार व्यक्त गर्ने प्रवृत्तिका वर्तमानका नेताहरुले नेपाल हाँक्न सक्छन् ? नेतृत्व दिन सक्छन् ?, अहिलेका नेता जोखिम उठाउन चाहँदैन जसले जोखिम उठाउँछ राजनीतिमा त्यसले नेतृत्व गर्छ, त्यसले नेपाल हाँक्छ ।

तपाईंहरु विचार गर्नुस्, विगतका घटनाक्रमतिर फर्कनुस् र वर्तमान हेर्नुस् जति पनि नेता छन् सबै भिडबाट परिचालित, सञ्चालित छन् । उनीहरुले अहिलेसम्म आफ्नो कुनै पनि राजनीतिक दर्शन, नीति, सिद्धान्त दिएर मुलुकलाई प्रभावित गर्न सकेका छैनन् ।

अहिले कर्मचारीको सरुवा, बढुवा, बर्खास्त, नियुक्तिजस्ता कुराहरुमा सबै पार्टीका नेताहरु कुममा कुम मिलाउँछन् संविधान संशोधन र त्यसलाई क्रियाशील गर्ने विषयमा सधै मतमतान्तर देखाउँछन् र यस्तो कहिलेसम्म गर्दै जाने हो र कहिलेसम्म यही बहानाबाजीमा सरकारको नेतृत्व फेरिरहने हो ? यो अति गम्भीर र चिन्ताको विषय हैन र ?

प्रतिक्रिया