एकान्त घरझैं उजाड बन्यो बसपार्क, यात्रु र गाडी चालकलाई सास्ती (भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौंको खुलामञ्च परिसरको बसपार्क । अहिले सुनसान छ । बसपार्क कम्पाउन्ड छेउछाउ हरियो झार लहराएको छ । ठाउँठाउँमा पानी जमेको छ । बसपार्क छिर्ने पूर्वतर्फको गेटमा ताला ठोकिएको छ भने पश्चिमको गेटमा पनि तालै झुन्ड्याइएको छ । सधैं मान्छे र बसले भरिने बसपार्क बसाईं सरेर मान्छे नभएको एकान्त घरझैं उजाड देखिन्छ ।
बसपार्क कम्पाउन्ड चिर निद्रामा झैं देखिन्छ । सधैं बस चढ्न आउनेजाने बानी परेकाहरू ताला पो लागेको छ त, अब कहाँ पो बस पाइएला भन्दै अलमलमा परेका देखिन्छन् । बस चढ्न बसपार्क पुगेका प्रकाश तामाङ गेटमा ताला लगाएको देखेर छक्क पर्दै फनक्क फर्किएको भेटिए । उनको भनाइ छ, ‘ताला किन पो लगाएको होला, गाडी त सबै खुले, अब भक्तपुर जानुछ म त अलमलमा परें ।’
दोस्रो चरणको लकडाउनअघि पश्चिमतर्फको गेटबाट सयौंको संख्यामा सवारीसाधन छिर्ने गर्थे । यस्तै पूर्वतर्फको गेटबाट सयौं बस गन्तव्यतर्फ छुट्ने गर्थे । सर्वसाधारण सबैलाई सजिलो थियो जुनसुकै ठाउँमा जान पनि । चट्ट बस चढिहाल्दा भइहाल्थ्यो । तर, अहिले बसपार्कमा ताला लागेपछि यात्रु बस चढ्ने ठाउँ थाहा नपाएर अलमलमा परेका छन् । रत्नपार्कबाट थानकोट जान लागेका चम्सुरी सुनधारामा भेटिइन् । बसपार्कमा ताला लगाएको देखेपछि उनी तातो घाममा पसिना चुहाउँदै निकै भौंतारिइन् । सोधखोज गर्दैगर्दा बस त भेटियो तैपनि मन भने उनको खुसी भएन । खुलामञ्चस्थित बसपार्कमा वैशाख १५ गतेदेखि ताला लागेको हो । तर, लकडाउन खुकुलो बनाउँदै असार २२ देखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बसपार्कको ताला नखुल्दा मर्कामा परेको यात्रुको गुनासो छ ।

काँडाघारीका सन्तोष काफ्ले लकडाउनअघि घर फर्किने बेला सधैं बसपार्क नै पुग्थे । तर यसपटक भने उनले धेरै प्रयासपछि मात्रै बस भेटे ।
यस्तै पेप्सीकोलाका कपडा व्यवसायी कमल खनाल ठूलाठूला कपडाको पोका सडक किनारमा राखेको अवस्थामा निराश अनुहारमा भेटिए । सधैं त बसपार्क भित्रै पसेर आरामले कपडा लोड गरेर गन्तव्यतिर उनी लाग्थे । यसपालि त ट्याक्सी चढेर बल्ल फेला परेको पिक एन्ड ड्रप स्टेसनमा पनि छोटो समय मात्र बस रोकिँदा उनले समस्या झेल्नुपर्यो ।
वैशाख १५ अघि काठमाडौंको पुरानो बसपार्कबाट काठमाडौं उपत्यकाको तीन जिल्लाका विभिन्न स्थानका साथै काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा सवारीसाधन आवतजावत हुँदै आएको थियो । तर बसपार्कलाई समेत समेटेर खुलामञ्च खुला गर्ने निर्णय गरेसँगै महानगरपालिकाले ताला पनि लगाएको हो । अर्को बसपार्कको टुंगो नलागीकन खुलामञ्च परिसरको अस्थायी बसपार्क एक्कासि बन्द हुँदा यात्रुका साथै आफू पनि मारमा परेको चालकहरूको गुनासो छ ।

चालक दीपक खड्काले पनि यात्रु र चालक दुवैले सास्ती भोगेको बताउँछन् । बसपार्क खुला नहुँदा बस चढ्न भौंतारिनु पर्ने र यात्रु नपाउने समस्या त छँदै छ । अर्कातिर चालकको साथै बिरामी, रोगी, अशक्त यात्रुलगायत सबैले पिसाब फेर्नसमेत समस्या भोग्नुपरेको उनको अनुभव छ ।
महानगरपालिकाको सोच भनेको खुलामञ्चलाई खुला बनाई उपत्यकामा पिक एन्ड ड्रप प्रणाली लागु गर्ने हो । अनि टाढा जाने बसका लागि मात्रै बसपार्कको व्यवस्था गर्ने भन्ने छ । वास्तवमा काठमाडौं महानगरपालिकालाई खुलामञ्चस्थित बसपार्क बन्द गर्न कुनै न कुनै बहाना चाहिएको थियो । सर्वसाधारणलाई सूचना नै नदिई वैशाख १६ गतेको लडकडाउनसँगै लगाइएको ताला अब कहिल्यै नखुल्ने महानगरपालिकाको अडान छ ।
महानगरपालिका र महानगरीय ट्राफिक महाशाखाको सहकार्यमा उपत्यकाका विभिन्न १२ ठाउँमा पिक एन्ड ड्रप सेन्टर बनाइँदै छ । शुक्रबारदेखि बल्ल बस रोक्ने ठाउँमा पोस्टर टाँसेर यात्रुलाई जानकारी गराएको पाइएको छ । महानगरपालिका २८ स्थित बागबजारमा भ्युटावर निर्माणसँगै निर्माण भइरहेको दुईतले बसपार्क पनि कहिले बन्ने हो टुंगो छैन । महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता सुनीलजंग शाहले विभिन्न ठाउँमा पिक एन्ड ड्रप सेन्टर बनाएर यात्रु र चालकलाई सहज बनाउन थालिएको प्रतिक्रिया दिए ।

काठमाडौंका विभिन्न ठाउँमा बसपार्क बने पनि बिस्तारै पिक एन्ड ड्रप प्रणाली लागु गर्ने महानगरपालिका र ट्राफिक महाशाखाको योजना छ । तत्काल यात्रु र चालकलाई समस्या देखिए पनि सूचना पाएपछि बिस्तारै बस खोज्न भौंतारिनुपर्ने समस्या हट्ने काठमाडौं महानगरपालिकाका सुरक्षा प्रमुख धनपति सापकोटाको दाबी छ ।
सधैंका लागि बसपार्कमा ताला लगाइएको थाहा नपाएका यात्रुले गन्तव्यमा पुग्ने बस खोज्दा निकै सास्ती खेप्नुपरेको छ । खुलामञ्च खुला गर्न त्यस परिसरको बसपार्क बन्द गरिनु राम्रो पक्ष हो । यस्तै काठमाडौं उपत्यकाको ठाउँठाउँमा पिक एन्ड ड्रप सेन्टर स्थापना गर्नु पनि राम्रो पक्ष हो । तर, पूर्वसूचना नदिईकन बसपार्क बन्द गरिँदा बढी मात्रामा यात्रु र चालक मारमा परेका छन् ।
![]() | ![]() |
स्वस्थ व्यक्तिले गन्तव्यसम्म पुग्ने बस हिँडेर खोज्न सक्लान् । तर ज्येष्ठ नागरिक, अशक्त र बिरामीलाई भने बस खोज्दाखोज्दा सास्ती भएको छ । यसतर्फ काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी महाशाखाले संयुक्त छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको छ ।
तस्बिर/भिडियो : रुपेश चौलागाईं



प्रतिक्रिया