मंगलबार, वैशाख २५, २०८१

तटबन्ध निर्माणका लागि खाडल खनेर लथालिङ छाडिएपछि तीनपैनीको बस्ती जोखिममा

नेपालखोज २०७८ असार २८ गते १२:५१

विराटनगर । तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीवासीमा त्राश सृजना भएको छ । विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर-पुर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्राशको अवस्था छ ।

लगातार वर्षात भइरहेको र घर पछाडिबाट बग्ने सिंघीया खोला किनारमा गहिरो खाडल खनेर छाडिएका कारण खोलाको बाढीले जुनसुकै बेला घर कटान भएर बगाउन सक्ने भएपछि उनिहरुमा त्राश छाएको हो ।

चालु महिनाको असार ६ गते तटबन्ध निर्माणकालागि भन्दै सो ठाँउमा खाडल खनिएको स्थानीयले जानकारी दिए । यो पानी पर्ने समयमा आफूहरु ठूलो जोखिममा रहेको पीडित जगदीश सहनीले बताए ।

निर्माण पक्षलाई तटबन्धको काम छिटो गर्न आग्रह गर्दा चासो नदिएको स्थानीय सहनीले गुनासो गरे । उत्तरबाट दक्षिणतर्फ खनिएको खाडलका कारण स्थानीय जगदीश सहनी,रमेश झा,सुरेन्द्र सहनी र रामु सहनीको घर सबैभन्दा बढी जोखिममा परेको छ । उनिहरुको घर पछाडि नै खाडल खनिएका कारण घर तथा बारीका भित्ताहरु भास्सिन थालेको छ ।

खाडलकै कारण बस्तीको उत्तरतर्फ रहेको तीनपैनी स्पोर्टिङ क्लबको जगको माटोसमेत भास्सिएर ढल्ने जोखिममा छ । क्लबको सो भवन दक्षिणतर्फ फैलिएको सुकुम्बासी बस्तीलागि बाढीको बेगबाट जोगिने महत्वपुर्ण सुरक्षा कवचका रुपमा समेत काम गर्दै आएको छ ।

बाढी आउने महिना साउन भदौ बाँकी रहेकाले उक्त क्षेत्रको सिंगो बस्ती नै कटानको जोखिममा परेको स्थानीय मनोज मलहाले बताए । संघीय सरकारको तराईमधेश समृद्धि कार्यक्रम अन्र्तगत उक्त क्षेत्रमा बोल्डर हाल्न सय फिट बढी लम्बाईको खाड्ल खनिएको हो ।

झन्डै १० लाख बजेटबाट तटबन्ध निर्माणगर्न स्थानिय शिला दिक्षीत कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । तारजाली र बोल्डर हाल्ने काम सुरु गरिएपनि पछिल्लो समय मजदुर अभावका कारण काममा ढिलाई भइरहेको अध्यक्ष कार्कीले बताए ।

आउँदो केहिदिन भित्रै तटबन्धको कामसक्ने उनले दाबीसमेत गरे । खोलालाई नियन्त्रण गर्न तटबन्ध गर्न खाडल खनिएको भएपनि मध्यवर्षातको समयमा निर्माणगर्न खोजिएकाले स्थानीयको जिउधन जोखिममा परेको हो । तसर्थ सम्भावित दुर्घटनालाई टार्न समयमै निर्माण सक्नु आवश्यक छ ।

प्रतिक्रिया