मंगलबार, वैशाख २५, २०८१

थामिएन बीपीको आन्दोलन, आन्दोलनकारीका माग पनि बढ्दै

केशव भट्टराई २०७८ असार २८ गते १६:५२

‘तत्काल माग पूरा नभए पेनडाउन गर्ने, यसबाट पनि पार नलागे चिकित्सक तथा कर्मचारीले संयुक्त राजीनामासम्मको तयारी छ ।’

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजभोलि बिरामी, चिकित्सक र नर्सलगायत कर्मचारीहरूको आ–आफ्नै व्यथा छ । यस्तै अस्पतालमा रोगले थलिएको शरीर भएकाहरूको आफ्नै व्यथा छ । बिमारीलाई उपचार खर्च जुटाउने चिन्ता, उपचार भइहाले पनि रोग निको होला÷नहोला भन्ने चिन्ता छ । यता तिनै बिरामीको उपचार गर्ने, मल्हमपट्टी लगाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पनि आफ्नै व्यथा छ । बिरामी भएपछि उपचार गर्न जाने अस्पताल बीपीमा यतिखेर भने सेवा–सुविधा नपाएको, बेथिति बढेको, भ्रष्टाचार बढेको, काममा असहज भएकोलगायत समस्या भएकाले शुद्धीकरण गर्न माग गर्दै चिकित्सक तथा कर्मचारीले आन्दोलन चर्काइरहेका छन् ।

देशभित्र र बाहिरका बिरामीलाई पनि यहाँ आएपछि रोग निको हुन्छ भन्ने विश्वास उस्तै छ । तर, त्यही रोग निको बनाउन खटिने चिकित्सक, नर्स, कर्मचारी र नागरिक अभियन्ताहरूले समेत करिब एक महिनादेखि आन्दोलन गरिरहेका छन् । पहिले पनि विभिन्न माग राख्दै बीपी प्रष्ठिानका चिकित्सक तथा कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए । तर जुनसुकै बेलाको आन्दोलन होस् राजनीतिक आडमा हुँदाचाहिँ बीपी प्रतिष्ठानको वातावरण अलिक धमिलिने गरेको छ । आन्दोलनरत पक्षले माग सुनुवाइ नभएको भन्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा.डा. गुरु खनाल र मेडिकल डाइरेक्टर प्रा.डा. गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरूले चारैजना पदाधिकारीको बहिर्गमनलाई न्यूनतम सर्तका रूपमा अघि सार्दै आएका छन् । प्रतिष्ठानमा आन्दोलन भइरहँदा प्रतिष्ठानका पूर्वविद्यार्थी, नागरिक समाज, विभिन्न राजनीतिक दललगायतले साथ दिइरहेका छन् । प्रतिष्ठान सुधारका लागि आन्दोलन थालेका आन्दोलनकारीको माग पूरा गर्न भन्दै आइतबार नागरिक समाजले काठमाडौंमै प्रदर्शनसमेत गरेको छ । काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार क्षेत्रबाट २६ प्रदर्शनकारीलाई केहीबेर नियन्त्रण लिएर छाडेको छ । यद्यपि बिरामीको उपचारमा प्रभाव पर्ने भन्दै बीपी प्रष्ठिानमा कार्यरतहरूले सिंहदरबार घेराउ भने नगर्ने जनाएका छन् ।

यसैबीच केही दिनभित्रै आफूहरूले राखेका माग पूरा नगरे पूर्ण रूपमा पेनडाउन गर्ने बीपी कोइराला सुदृढीकरण अभियान संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समिति संयोजक डा. एसपी रिमालले सरकारलाई चेतावनी दिँदै भने, ‘केही दिनभित्रै आफूहरूले राखेका माग पूरा नगरे पूर्ण रूपमा पेनडाउन गर्नेछौं र त्यसबाट पनि पार नलागे सबै चिकित्सक तथा कर्मचारीले संयुक्त राजीनामा दिनेछौं ।’ डा. रिमालले १९ दिनसम्म आन्दोलन गर्दा गणतन्त्र आएको तर आफूहरूले करिब एक महिनादेखि आन्दोलन गर्दा सुनुवाइ नहुनु दुखद रहेको बताए । बिमारीले सहज उपचार पाउनुपर्ने, विद्यार्थीलाई पढाइका लागि उपकरणलगायत व्यवस्था गर्नुपर्ने, भ्रष्टाचार र अनियमितता छानबिन गरी सुशासन र पादर्शिता कायम गर्नुपर्ने, राजनीतिक भागबण्डामा भीसी नियुक्ति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेलगायत १२ वटा माग राख्दै आन्दोलन भइरहेको छ ।

यस्तै पछिल्लो समयमा आन्दोलनरत समूहले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीको बहिर्गमनलाई आन्दोलनको बटमलाइन बनाएको छ । आन्दोलनको अवधि लम्बिएसँगै आन्दोलनकारीहरूको माग पनि थपिँदै गएको छ ।

यस्तै बीपीमा भइरहेको आन्दोलनलाई नागरिक अभियन्तालगायतले पनि साथ दिइरहेका छन् । नागरिक अभियन्ता उज्ज्वल प्रसाईले बीपीमा देखिएको भ्रष्टाचार र बेथिति हटाउनैपर्नेमा जोड दिएका छन् । उनले भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्दै बीपीमा सुशासन कायम गर्ने आवश्यकता खड्किएकाले आन्दोलन गर्नुपरेको बताए । आन्दोलनकारीको माग पूरा भएमात्रै बीपीको आर्थिक स्तर उकासिने उनको ठहर छ ।
यता प्रतिष्ठानका सहायक प्रवक्ता चूडामणि पोखरेलले आन्दोलनरत पक्षका जायज मागहरू केही दिनमै पूरा हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनरत पक्षको माग पूरा गर्न प्रतिष्ठानले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयसम्म ध्यानाकर्षण गराइसकेको छ । यसका लागि उच्चस्तरीय समिति गठन गरेर जायज माग पूरा भई आन्दोलनको निकास निस्किने पनि उनले बताए ।

आन्दोलनकारीले पदाधिकारीहरूसँग वार्ता नगर्ने र प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले गठन गरेको उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् ।

कोभिड महामारी चलिरहेका बेला भारत र भुटानबाट समेत उपचार गर्न आउने धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयको द्वन्द्वले बिमारीदेखि अस्पतालको आर्थिक पक्षलाई पनि प्रभावित बनाएको छ । यसतर्फ सरकारले समयमै सुनुवाइ नगर्ने हो र आन्दोलन पनि लम्बिरहे त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्नेछ । अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया