बिहीबार, वैशाख १३, २०८१

‘पार्टीमा नेतृत्व परिवर्तन भइरहनुपर्छ’

नेपालखोज २०७८ असार ३० गते ८:४५

अहिले जति चलिरहेको छ त्यतिले मात्र कांग्रेस बाँच्न सक्दैन

भदौको तेस्रो साता हुने भनिएको नेपाली कांग्रेसको चौधौ महाअधिवेशनलाई लिएर कांग्रेसको आन्तरिक माहोल गर्माउँदै गएको छ । एकातिर अधिवेशन होला-नहोला भन्ने अनिश्चितता पनि कायमै छ । अधिवेशनले लिनुपर्ने कार्यनीति, गर्नुपर्ने छलफलका साथै आगामी चार वर्षका लागि छनोट गर्ने नेतृत्वका सम्बन्धमा तलदेखि माथिसम्म बहस पनि चलिरहेको छ ।

नेपाली कांग्रेसको यही सन्दर्भलाई लिएर नेपालखोजले पार्टीका युवा नेता शिव बस्नेतसँग कुराकानी गरेको छ । नेपाल विद्यार्थी संघमार्फत प्रजातान्त्रिक आन्दोलनमा होमिएका बस्नेतले सक्रिय राजनीतिमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य रहिसकेका बस्नेत कांग्रेस सरकारमा मन्त्रीसमेत भइसकेका छन् । स्पष्ट र खरो विचार राख्ने युवा नेता बस्नेत नेपाली कांग्रेसको यो महाधिवेशनले नयाँ नेतृत्व छनोट गरेर पार्टीमा ऊर्जा भर्नुपर्ने बताउँछन् । प्रस्तुत छ बस्नेतसँगको कुराकानी :

हाइलाइट्स :

– कांग्रेसको चौधौं महाधिवेशन सम्पन्न गर्न केही प्राकृतिक तथा केही जैविक समस्या विद्यमान छन् । अल्टरनेटिभ उपाय खोज्ने कि भन्ने कुरा पनि अन्तर-कुन्तरमा चलिरहेको छ । यद्यपि कांग्रेसको अधिवेशन निकट भविष्यमै हुने स्थिति छ । पार्टीलाई गतिशील तथा ऊर्जाशील बनाएर तमाम कार्यकर्ता र आममानिसमा आशा सिर्जना गरेर जान अधिवेशनअघि नै गम्भीर छलफल/बहसहरु हुनुपर्थ्यो तर त्यसो हुन सकेको छैन । अधिवेशनका लागि समय पनि छोटो छ । कोभिडका कारण कार्यकर्ताहरुबीच व्यापक उठबसको सम्भावना पनि छैन । त्यसो हुनाले कांग्रेस महाधिवेशनको जुन महत्त्व र उपादेयता छ त्यसअनुरुपको हुन सकेको छैन । महाधिवेशनबाट एउटा कार्यसमिति निर्माण होस् भन्ने कामचाहिँ पूरा हुनसक्छ ।

– पार्टीमा सभापतिकै उम्मेद्‌वार धेरै देखिनुले नेतृत्वहीनताको स्थितितर्फ पनि इंगित गर्छ । यतिका उम्मेद्‍वार हुनु नेतृत्वमा ग्याप छ भन्ने पनि हो । पार्टीमा यति धेरै नेता हुनु भनेको कार्यकर्ता र जनताको ठूलो समूहलाई लिड गर्ने नेतृत्वको अभाव पनि हो ।

– नेपाली कांग्रेसमाथि थुप्रै दायित्व अनि जिम्मेवारी छन् । यो केवल कर्मकाण्डी सत्ता सञ्‍चालन गर्ने पार्टी होइन । यसमाथि अनेकन ऐतिहासिक अभिभारा छन् । देश र प्रजातन्त्रप्रतिको दायित्व छ । ती जिम्मेवारी निर्वाह गर्न सक्नुमै यसको उपादेयता छ । यो पार्टीको मूल कर्तव्य पनि यही हो । तर दुर्भाग्यवश देश र प्रजातन्त्रलाई बलियो बनाउने विषयमा पार्टीभित्र गहन छलफल भएको पाइँदैन खाली म सभापति हुनुपर्‍यो भन्ने कुरा मात्र गरिन्छ । देश र प्रजातन्त्रको आवश्यकताभन्दा केही साथीहरुको वैयक्तिक प्रतिस्पर्धाबाट अघि बढिरहेको हुनाले यस्तो नहोस् भन्ने धारणा कार्यकर्ताहरुमा छ ।

– चिनी र नुनको सर्वमान्य गुण छ गुलियो र नुनिलो भन्ने । तर युवा भन्नेबित्तिकै चिनीको गुलियो गुणजस्तो सक्षम नै हुन्छ भन्ने हुँदैन । यो राजनीतिक विषय हो, भौतिक विषय होइन । यसमा लड्ने भिड्ने भन्ने कुरा हुँदैन । यो सामन्ती व्यवस्था पनि होइन राजाको ठाउँमा उसको छोरा नै राजा हुने । यो बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था हो । यहाँ के बूढो, के तरुनो सबैले प्रतिस्पर्धाबाटै आउनुपर्छ ।

वामपन्थीहरु दश टुक्रामा विभक्त भए पनि जनमत उनीहरुकै पक्षमा छ

– नेपाली कांग्रेसका अधिवेशनहरु प्रतिस्पर्धात्मक नै भइरहेका छन् । यहाँ जो-सुकैलाई प्रतिस्पर्धाबाट आउन कसले रोकेको छ र ? जहाँसम्म युवा नेतृत्वको कुरा छ शेरबहादुर देउवा ४८ वर्षको उमेरमा गृहमन्त्री हुनुभएको हो । ५० भन्दा कम उमेरमा मन्त्री भएर लामो समय राज्यसत्ता चलाउने थुप्रै नेताहरु छन् कांग्रेसमा ।

– पार्टीमा नेतृत्व परिवर्तन भइरहनुपर्छ, यसो हुनु राम्रो हो । देशको समग्र स्थिति झन्-झन् चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको छ । कांग्रेस तुलनात्मक रुपमा कमजोर अवस्थामा छ । वामपन्थीहरु दश टुक्रामा विभक्त भए पनि जनमत उनीहरुकै पक्षमा छ । तसर्थ अहिले जति चलिरहेको छ त्यति मात्र चलाएर कांग्रेस बाँच्न सक्दैन । देशलाई पनि कांग्रेसबाट योभन्दा बढी चाहिएको छ । देश र कांग्रेसलाई बचाउन अहिलेको स्थितिभन्दा माथि उठनुपर्‍यो । त्यसका निम्ति हिजोभन्दा राम्रो काम गर्नुपर्‍यो, हिजोभन्दा गतिशील हुनुपर्‍यो । हिजो गरेका कामका विरासत बोकेर मात्र अब नेपाली कांग्रेसको अगाडिको बाटो तय हुन सक्दैन ।

– नेतृत्व परिवर्तन हुँदा अरु केही नभए पनि आमजनता-कार्यकर्तामा, संगठनमा नयाँ रक्तसञ्‍चार हुन्छ, पार्टी अगाडि बढ्ने नयाँ परिस्थिति सिर्जना हुनसक्छ । एउटा नेता आएर कुर्सीमा बसोस्, हामीलाई टिकट बाँडोस्, मन्त्री नियुक्त गरोस् भन्नेजस्ता कुरा हाम्रो दायित्व-आवश्यकता पनि होइन, यसले हामीलाई धान्दैन । कांग्रेसलाई एक-एकवटा सभापति, महामन्त्री मात्र चाहिएको होइन, देशलाई गति दिने प्रजातन्त्रलाई बलियो बनाउने देशमा समृद्धि ल्याउने नेता चाहिएको हो । अब एउटा गएर अर्को आउने हिसाबले मात्र काम चल्दैन ।

‘नेपाली कांग्रेसमाथि देश र प्रजातन्त्रप्रतिको दायित्व छ’

– कांग्रेसभित्र त्यति धेरै सैद्धान्तिक मतभिन्नता छैन तर हामीले पार्टीमा थिति बसाल्न सकेका छैनौं । पार्टीलाई थिति, पद्धतिअनुरुप चलाउने कुरामा ध्यान दिनुपर्‍यो, यसका काम-कारबाही, हिसाबकिताब आदि पारदर्शी हुनुपर्‍यो । कांग्रेसले के गर्दै छ तमाम कुरा जनताले थाहा पाउनुपर्छ किनभने यो साँचो अर्थमा देशको एक मात्र प्रजातान्त्रिक पार्टी हो ।

विस्तृत भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया