कर्णाली प्रदेशको बजेट अध्यादेशमार्फत ल्याउन प्रदेश प्रमुखलाई सिफारिस

नेपालखोज २०७८ असार ३१ गते २३:५५

सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो ।

प्रदेश सरकारले असार १ गते नै प्रदेश सभामा बजेट पेस गरेको भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुको अवरोधका कारण बजेटमाथि छलफल हुन सकेको छैन् । प्रदेश सभामा बजेटमाथि छलफल हुन नसकेपछि बुधबाररातिदेखि अधिवेशन अन्त्य गरी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

अध्यादेशमार्फत बजेट ल्याए पनि बजेट यसअघि प्रदेश सभामा पेस गरेकै अवस्थाको भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट सभामा पेस गरेको थियो ।

प्रतिक्रिया