आइतबार, वैशाख १४, २०८२

अन्तिम युद्धको आह्वान

मिलन समीर २०७८ साउन २ गते ८:०८

मलाई पूरै विश्वास छ- एउटा भीषण युद्ध त
स्वयं बुद्धले पनि लडेका थिए आफ्नै जीवनमा
त्यसैले , बुद्ध भन्नू नै आफैंमा एउटा अन्तिम युद्ध पनि हो ।

मलाई यस्तो लागिरहेको हुन्छ-
युद्ध भन्नू आफैंमा जन्मिँदै लिएर आएको
मानवीय स्वभाव – संस्कारसँगै
नवीनतम् सिर्जनाको श्रुतिमधुर लय हो ।

तिमीले कहिल्यै अनुभव गरेका छौ ?
ओहो ! कति धेरै रमाइलो हुन्छ
जीवनभर एउटै युद्ध गर्नुमा
आजीवन अफ्ठ्यारो र साँघुरो
काँडेघारीको लामो… पट्यारलाग्दो
साच्चिँकै थकित यात्राको विरुद्ध … !

सदैव अक्करे भीर- पहरा छिचोलेर
फराकिलो वैकल्पिक बाटो बनाउँदै
सहृदयी सिर्जनशील प्रिय सहयात्री मनहरुलाई
अग्रगामी पृथक पाइलाहरु चाल्न लगाएर
दूरदराजको दुर्गम बस्तीलाई सहरसँग जोड्ने
सिर्जनशील युद्धको शङ्खघोष गरिरहेको हुन्छु ।

युद्ध त लडिरहेका छौं तिमीले पनि
तर जित्न सकिरहेका छैनौं अहिलेसम्म
किनकि, फरक छ तिम्रो र मेरो विचारमा
नियत नै खराब छ- तिम्रो सोचाइमा
तिम्रो युद्धनायकका रूपमा उभिएको हुन्छ-
सारथि भएर हीरण्यकशिपु- युद्धमैदानमा
मेरो युद्धनायकका रूपमा उभिएको हुन्छ-
सारथि भएर प्रह्लाद- युद्धमैदानमा ।

तिमीले मलाई जहिले पनि
भोक- प्यासले गालिरहेको बेला
पस्किरहेका हुन्छौं- बमबारुदको थुप्रो
निद्राले छोपिरहेको बेला हालिदिएर-
बन्दुकको बिझाउने गह्रुङ्गो सिरानी
ओढाइरहेका हुन्छौं- मेसिनगनको बाक्लो बर्को
अनि भनिरहेका हुन्छौ- मैले जिते, तैंले हारिस् !

सके अरुलाई मार्ने र नसके आफैं मर्नेबाहेक
अहिलेसम्म अरु केही पनि गर्नै नजानिरहेका
तिमीलाई त के थाहा हुनु र ? युद्ध कसले जित्यो
कसले सबैको मन- मुटु र मायासँगै
आँखा चिम्लेर गरिएको विश्वास जित्यो ?
थाहा छ तिमीलाई ? युद्ध जित्नुभन्दा धेरै ठूलो कुरा
अरु कसैको मन जित्न सक्नु हो ।

तिमीले एउटै मान्छेलाई अनेक जातमा विभक्त गरिदियौ
मैले हरेक जातलाई एउटै मान्छेमा समाहित गरिरहे
त्यसैले आउ ! आफ्ना रक्तरन्जित विध्वंसकारी हातले
समातिरहेका हतियारहरु मिल्क्याएर आउ !
तिमी पनि म जस्तै एउटै मान्छेमा समाहित भएर
लोकतान्त्रिक गणतन्त्रसँगै नयाँ नेपालको
निर्माणकार्यमा एउटै भए पनि इँटा थप्न आऊ !

अघि भर्खरै साक्षी राखेर आफ्नै हृदयको देवतालाई
कसम खाएर परिश्रमको पसिनामा डुबुल्की मार्दै
दानवताको विरुद्धमा मानवताको वकालत गर्दै
अन्याय र अत्याचारसँगै मौलाइरहेको अशान्तिको विरुद्धमा
अन्तिम युद्धको आह्वान गर्दै हिँडिरहेको छु- यतिबेला ।

प्रतिक्रिया