शुक्रबार, चैत १६, २०८०

‘वीरेन्द्रलाई हेलिकाेप्टर चलाउन सिकाएँ’

कृष्ण कँडेल २०७८ साउन २ गते १४:०८

विदेशीहरू खासगरी युरोपेलीहरू दुनियाँका फरक संस्कृति, पहिचान, जीवन पद्धति र सभ्यता हेर्न र जान्न उत्सुक हुन्छन् । नेपाललाई हेर्ने र माया गर्ने फ्रान्सेलीहरू तिनै नयाँ गन्तव्य चुम्ने मध्यकै हुन् । फ्रान्सलाई कर्मभूमि बनाएर आफ्नो अध्ययन र अनुसन्धानलाई निखारिरहेका कर्मशील पत्रकार ददि सापकोटाले राणाकालदेखि बहुदलकालसम्म र वर्तमानको गणतन्त्र नेपालको दर्जनौंपटक भ्रमण गरेका, नेपालका हिमाल चढेका, नेपालको भूगोलको सूक्ष्म अध्ययन गरेका, तत्कालीन राजपरिवारका सदस्यहरूलाई भाषा सिकाएका, हेलिकोप्टर सिकाएका, उच्च हिमालय भेकका जनताको जीवनस्तर सुधार्ने कार्यमा अहोरात्र खटेका करिब साढे दुई दर्जन फ्रान्सेलीहरूसँग प्रत्यक्ष भेटेर कुराकानी/अन्तर्वार्ता गरेर एउटा पुस्तक तयार पारेका छन् ‘त्यो नेपाल’ (फ्रान्सेली अनुभव)

२०६८ भदौमा प्रकाशित त्यो पुस्तक पढ्ने रहर त्यतिवेला जाग्यो जब ददिले हालसालै प्रकाशित गरेको ‘वनको वैभव’ पढ्ने अवसर प्राप्त भयो । कान्तिपुर दैनिकका संवाददाता ददिसँग मेरो औपचारिक चिनजान छैन तर विदेशमा बसेर नेपाल चिनाउने उनको लगनलाई हामी सबैले सलाम गर्नैपर्छ । ददिले युरोपका अन्य मुलुकमा रहेका नेपाललाई माया गर्ने धेरैपटक नेपाल आएकाहरूको अनुभवको अर्को सँगालो पनि चाँडै बजारमा ल्याउँदै छन् ।

त्यो नेपाल नामक पुस्तकमा २९ जना फ्रान्सेलीको धेरै मीठा थोरै तीता र रोमाञ्चकारी अनुभव समेटिएका छन् । यो पुस्तक पढ्दा यस्तो लाग्छ- नेपालका विभिन्न भूभागमा बस्ने जनजाति र तिनको धर्म संस्कार, संस्कृतिबारे मिहिन अध्ययन सायद नेपालीले भन्दा विदेशीले नै बढी पो गरेका छन् कि भन्ने आभाष हुन्छ । नेपाल र नेपाललाई निस्वार्थ माया गर्ने विदेशीहरू अहिले पनि प्रशस्त भेटिन्छन् । हामीले तिनको मायालाई सही सदुपयोग गर्न कतै चुकिरहेका छौं कि ?

नेपाली आकाशमा दुई हजार घण्टा हेलीकोप्टर उडाएको अनुभव सँगालेका कर्णेल पिएर ल फ्लकले राजा वीरेन्द्र र उनको परिवारलाई नेपालका धेरै ठाउँमा उडाएका रहेछन् । उनले- नेपालको त्रिभुवन विमानस्थलबाट थाई धर्मपुत्रलाई विनाभिसा सामान्य भनसुनका आधारमा पछ्यौरीले छोपेर ट्रलीमा हालेर बाहिर ल्याएको रोचक प्रसंग पनि सुनाएका रहेछन् ।

प्रथम अन्नपूर्ण आरोही मोरिस हेर्जोगले मोहन समसेरको इजाजात लिएर नेपाल आएका रहेछन् । यसैगरी माथिल्लो डोल्पाको जनजीवनमा आधारित चलचित्र क्याराभानको निर्माता एरिक भालीले हनी हन्टर पनि नेपालमै निर्माण गरेको आफ्नो रोमाञ्चक अनुभव सुनाएका छन् ।

सगरमाथाको थाप्लोमा पाइला टेक्ने पहिलो फ्रान्सेली पियर माजोको आफ्नै कथा छ । यो पुस्तक मा उल्लेख गरिएका प्राय: सबै फ्रान्सेलीले आफ्नो निहित उद्देश्य मात्र पूरा गरेका छैनन् अपितु नेपाललाई संसार चिनाउने काम पनि गरेका छन् ।

दुई सय बयासी पृष्ठको यो पुस्तक संग्रहणीय छ, प्रेरणादायी छ । संसारका विभिन्न ठाउँलाई आफ्नो कर्म क्षेत्र बनाएका ददि सापकोटाजस्ता देशप्रेमी नेपालीहरूको निरन्तरको यी र यस्तै प्रयासले नेपाल र नेपालीको शिर सदा सर्वदा ऊँचो रहिरहनेछ ।

प्रतिक्रिया