बिहीबार, वैशाख १३, २०८१

बगिरहने पानीसित

विमल वैद्य २०७८ साउन २ गते १०:१२

आँसु जस्तै लाग्ने
पानीको भेल बगेर आयो
मनको संवेदना भत्काउँदै
टुहुरो भविष्य छाडेर आँगनमा
विभत्सताको ओछ्यान बिच्छयाउँदै
गयो पानी बग्दै/बग्दै
सीमाबाट निर्वासित भयो।

सधै फूल मुस्कुराउने
फूलबारी भनेन
लहलह बाली झुल्ने
खेत/खलियान भनेन
गाई/भैंसी ओत लाग्ने
गोठ पनि सम्झिएन
यसरी उर्लियो कि पानी
किनार छल्काउँदै
नयाँ बाटो बनाएर अघि बढ्यो
म छुटे कतै
त्यही पानीको भुमरीमा।

टापु जस्तै घरको धुरीमा
म रूखको हाँगामा बसेको चरा थिए
आकाशबाट खस्थ्यो
चिउराका पोका
बिस्कुटका पाकेटहरू
र केही चिसा पाउरोटीहरू,
बगिरहेको भकारी हेर्दै
म उकास्थे
आफ्नै रित्तो पेट
थियो पानी आँखा वरिपरि देखुन्जेल
पिउँदै त्यही पानी आँखाले
म तिर्खा मेट्थे
र सुन्थे उहीँ पानीले
बगाएर ल्याउँदै गरेको
आफन्तका चिच्चाहटहरू ।

बगायो विगत
र बगायो सँग/सँगै भविष्य पनि
काखमा टल्किरहेको जून
आङमा सुस्ताइरहेको पाको घाम
सुनेन कसैको आर्तनाद
विदेशमा ज्यान गुमाएको
पतिको एउटा तस्बिर थियो निसानी
टेबुलमाथि
बगायो त्यो पनि
सधैं कर्णप्रिय लाग्ने खोलाको धून
एकान्तको साथी बगरका ढुंगाहरू
सबै/सबै यतिबेला
मेरो विरोधमा खनिएका थिए
म निरीह रूखका हाँगामा झुन्डिएर
आफ्नै तातो श्वास जोगाउन
प्रयत्नरत थिए
सुनेको थिएँ
पानी जीवन हो
सन्जीवनी हो
यो कथन पनि अब त मलाई
मिथ्या लाग्न थालेको छ
बाढीको विध्वंसपछि
पानीका सम्पूर्ण बयानहरू
भ्रम लाग्न थालेको छ।

प्रतिक्रिया