सोमबार, वैशाख २४, २०८१

व्याख्यात्मक घोषणापत्र

राम योञ्जन `गाउँले´ २०७८ फागुन २८ गते ८:३७

रुँदै रुँदै-
सडकमा हिँडिरहेको फूलहरूका आँसुमा!
काँडा मुस्कुराएको दिन हो आज।

मेरो जस्तै जस्तै अनुहारहरू-
जो काँढाले- काँढालाई फूल स्वीकारिदिए।

यो प्रत्यक्ष आँखाको प्रमाण हो-
आफ्नो अस्तित्वमा उभिरहेको पहाडलाई
धमिलो पानी बनाएर बगाइयो !
र बगिरहेको पानीको संरचनालाई
यो उभिएको अटल पहाड हो भनियो ।

महोदय,
यो कस्तो व्याख्यात्मक घोषणा पत्र हो?
छामीसकेकाहरूले काँढा छ भनेर-
घोचिएका रक्ताम्य हातहरू देखाइरहँदा पनि
त्यहाँ केही छैन-
छ भने पनि केवल फूलहरूको स्पर्श छ भन्ने
यो कस्तो व्याख्यात्मक घोषणा पत्र हो?

सम्झौता शब्दार्थलाई नै बलात्कार गरिरहेछौ,
होईन भने एक पक्षीय अभिव्यक्ति
कसरी सम्झौता हुन सक्छ?
कसरी अर्को पक्षलाई स्वीकार्य हुन सक्छ??

बलात्कारीलाई सजायको लागि-
कुनै प्रमाण र अनुसन्धानको जरुरी हुन्न
अब छिटोभन्दा छिटो सिधा कारबाही हो।

आँखाको स-प्रमाणमा जलिरहेको दृश्यलाई
कसरी भन्न सकिरहेका छौ?
कि- त्यहाँ हिउँ छ र हिउँ सुन्दरता हो।

मान्दिएँ मैले-
कि- म दृश्यहीन छु/ आवाजविहीन छु
तर म मेरो स्वाधीनताको रक्षाको लागि-
राष्ट्रिय अखण्डताको सुरक्षाको लागि-
र सार्वभौम स्वतन्त्रता जोगाउनको लागि-
म कहिल्यै चेतनाहीन हुन सक्तिनँ।

म कसैको सामु नझुक्ने नेपाली हुँ नेपाली।

यो मेरो चेतनाको भव्य निर्णय हो
यो मेरो विवेकताको बिशाल निर्णय हो
र मेरो यो विचारको हिम्मतवाला निर्णय हो।

यो तिम्रो व्याख्यात्मक घोषणा पत्र!
जीवनमा अन्तिम इच्छा व्यक्त गरिएको
व्याख्यात्मक मृत्यु पत्र हो यो!
जहाँ मेरो देश बेचिएको- तिम्रो हस्ताक्षर छ।

यत्ति मात्रै बुझ्नू !
तिम्रो मृत्यु सुनिश्चित छ !
अब तत्काल सडक हुँदै-
यमराज सिंहदरबार छिर्ने छ
तत्पश्चात हामी व्याख्यात्मक मृत्यु पत्र लेख्ने छौँ
र इतिहासमा एक एक गरेर कुपात्रको नाम पठाउने छौँ ।

प्रतिक्रिया