कुर्था–जयनगर रेल सञ्चालनका लागि आइतबार अन्तिम परीक्षण गरिँदै

जनकपुर । कुर्था–जयनगर रेल संचालनको लागि आइतबार अन्तिम परीक्षण गरिने भएको छ । जयनगर ब्रोडगेज रेल्वे सञ्चालनका लागि आइतबार गरिने अन्तिम परीक्षणको तयारी पुरा भएको छ ।
जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म भारतीय रेल्वेका चालक दल र अन्य प्राविधिकहरूले प्रतिघण्टा १ सय २० को गतिले रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यका लागि तयारी पुरा भएको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जनकपुरधामको कुर्था रेल्वे स्टेसनदेखि भारतको जयनगरसम्म रेल लिकको परीक्षण हुने भएकाले आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रेल्वे लिकमा आवतजावत नगर्न सर्वसाधारणमा रेल विभागले आग्रह गरेको छ ।
भारतीय रेल विभागका कर्मचारीहरूले नव निर्मित संरचनाहरूमा १ सय २० प्रति घण्टाको दरले रेल गुडाएर परीक्षण गरेपछि नेपाल सरकारले खरिद गरेको दुई वटा रेल संचालन गर्नका लागि अनुमति दिने भएको छ ।
परीक्षणका क्रममा रेल्वेको लिकमा कमी कमजोरी पाइएको खण्डमा परीक्षणपछि पुनः सच्याइने र कमी कमजोरी नभएको खण्डमा भारतीय रेल्वेले नेपालमा रेल सञ्चालनका लागि प्रमाणपत्र प्रदान गर्ने छ । प्रमाण पत्र पाएसँगै नेपालको रेल नियमित रुपमा सञ्चालन गर्न मिल्ने पनि रेल्वे विभागले जनाएको छ ।
प्रतिक्रिया