संघीय संसद्का दुवै सदनको बैठक आइतबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आइतबार सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
आइतबारको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा बढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सभामुखले सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बममोजिम अध्यक्षता गर्ने सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायत सम्भावित कार्यसूची छ ।
संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायतका व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ। तयारी स्वरुप पछिल्लो पटक संघीय सांसदसहित ८ सय एक जनामा कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये तीन जना कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो।

प्रतिक्रिया