कसले के भने ?

विमलेन्द्र निधि, उपसभापति, नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्यूले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दछु । प्रधानमन्त्री देउवाले प्राप्त गर्नुभएको विश्वासको मत फगत कांग्रेसको विजय हैन, यो त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैको विजय हो । हामीले हालसम्म प्राप्त गरेका राजनीतिक उपलब्धि मासेर मुलुकलाई निरंकुशतातर्फ लैजाने यसअघिको सरकारको प्रयास विफल पार्न कांग्रेसले नेतृत्व गरेको मार्गमा हिँड्ने सबै धन्यवादका पात्र हुनुहुन्छ । अब शासन व्यवस्था सुदृढ पार्दै मुलुकमा व्याप्त समस्या समाधान गर्ने कांग्रेस नेतृत्वको सरकारको कदममा पनि यहाँहरूको साथ-समर्थन रहोस् ।
चन्द्र भण्डारी, युवा नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसले देश र जनतालाई संकटबाट सदैव निकास दिएको छ । आज पनि सबै पार्टीको सहमति र विश्वासमा हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको छ जुन हामी सबै कांग्रेसजनका लागी खुसीको कुरा हो । यो सरकार देश र जनताको हितमा काम गर्न सफल होस् भन्ने कामनाका साथ नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गर्न सफल हुनु भएकामा बधाई !!!! विश्वासकको मतमा सहभागी आदरणीय नेता गणप्रति आभार प्रकट गर्दछु । यो विश्वासको भारी बोक्न सबै पक्ष बढी जिम्मेवार हुनुपर्दछ ।
नारायण वाग्ले, पत्रकार, नागरिक अभियन्ता
विश्वासको मतको बधाई । अब डेढ वर्ष प्रम देउवाले गर्नुपर्ने :
-बिजनेस संसद्मा, पार्टी बैठक पार्टीमा, मन्त्रिपरिषद् सिंहदरबारमा
-संस्थाहरू स्वायत्त
-स्वास्थ्य/शिक्षामा भूमिका
-प्रकृति दोहन र विचौलियाराज बन्द
-जनतालाई उन्नति/उद्यमको समान अवसर
-छुवाछुत र विभेदमा रोक
खबरदारी जारी !
उदयशमशेर राणा, नेता, नेपाली कांग्रेस
व्यक्ति होइन, विधि र संवैधानिक सर्वोच्चता कायम गर्दै पुन:स्थापित संसद्बाट हाम्रा पार्टी सभापति देउपाजीले विश्वासको मत प्राप्त गर्नु भएकामा प्रम शेरबाहादुरजी र गठबन्धनलगायतमा हार्दिक बधाई तथा शुभकामना । यो मत संसद्को पूर्णावधि, स्वच्छ, भ्रष्टाचाररहित सुशासन र लोकतन्त्र रक्षाको औजार बनाउन प्रतिबद्ध बनौं । चुनौतीको महासागर र अवसरको पहाडको यो यात्रामा झुक्किने, चुक्ने र फेरि सुधारुँला नि भन्ने मौका छैन भन्ने हेक्का आजका गठबन्धन संलग्न सबैमा हुनु अत्यन्त जरुरी र अनिवार्य छ ।
दीपक विष्ट, वरिष्ठ खेलाडी
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले संसद्मा भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएकामा हार्दिक बधाई एवं कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । यहाँको कार्यकालमा खेलकुद पनि उच्च प्राथमिकता पर्न सकोस् ।
भीम उपाध्याय, पूर्वसचिव
मैले प्रम शेरबहादुर जीलाई बधाई दिने दिन विश्वासको मत हासिल गरेपछि मात्र भनेर बसेको थिएँ । यति छिटो मत पाउनुभयो । हार्दिक बधाई छ सम्माननीय प्रम देउवाज्यू ।
सबैलाई मिलाएर एक असल अभिभावक बनेर अघि बढ्नुहुनेछ। तपाईको आज संसद्मा भएको सम्बोधनमा अभिभावकत्व, राजनीतिक संस्कार, सन्तुलन, व्यवहारिकता, समन्वयकारिता र परिपक्वता प्रस्ट देखिन्थ्यो । अहिले मुलुकमा राजनीतिक एक अभिभावकको सख्त खाँचो छ । त्यसको पूर्ति गर्नुहाला किनभने तपाईं अरू शीर्ष नेताहरूभन्दा जेठोबाठो र अनुभवी पनि हुनुहुन्छ । सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया