युवा नेताहरुको माग- नेतृत्वबाटै असुरक्षित हुने अवस्थाको अन्त्य होस्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमुलक कार्यक्रमहरु भइरहेकोप्रति लक्षित गर्दै युवा नेताहरुले पार्टीभित्र न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसका १० युवा नेताहरुले मंगलबार संयुक्त वक्तव्य जारी गदै चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले आफूहरुको ध्यान तानेको उल्लेख गरे । युवा नेताहरु डा.चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यता सम्वन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका हुन्।
प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पूँजी ठान्ने भएकाले कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न पनि उनिहरुले आग्रह गरेका छन् ।
कांग्रेका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु कृयाशिल सदस्यता सम्बन्धि बवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनसनमा बसेका छन् । यसलाई युवा नेताहरुले गम्भीर बिषयको रुपमा लिनु भएको छ ।
“विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ । र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ,” नेताहरुको आग्रह छ ।
वक्तव्यको अन्त्यमा लेखिएको छ, “पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ ।”
नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न पनि युवा नेताहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया