शुक्रबार, जेठ ३, २०८२

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति भण्डारी

नेपालखोज २०७८ साउन ६ गते ७:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताइन् ।

राष्ट्रपतिले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरिन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै ‘इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद) को अवसरमा शुभकामना दिएका छन् ।

नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताए।

प्रतिक्रिया