शुक्रबार, वैशाख ७, २०८१

एमालेभित्रको किचलोप्रति टंक कार्की र रघुजी पन्तले के भने ?

नेपालखोज २०७८ साउन ६ गते ६:५६

नेकपा एमालेभित्रको द्वन्द्वले रोकिने नाम लिइरहेको छैन । क्रिया र प्रतिक्रियाको क्रम बढ्दो छ भने स्वयं पार्टी अध्यक्ष यो विवादमा मच्ची-मच्ची होमिइरहेका छन् । पार्टीमा दिनहुँ नयाँ-नयाँ बखेडा खडा हुने क्रम पनि निरन्तर चलिरहेकै छ ।

अर्कातिर पार्टी एकताको प्रयास पनि जोडतोडका साथ जारी छ । बाहिरबाट फुटिसकेको देखिए पनि पार्टी औ‍पचारिक रुपमा विभाजन पनि भइसकेको छैन । यस क्रममा एमालेको दोस्रो पुस्ताका नेताहरु आ-आफ्नै हिसाबमा सक्रिय छन् ।

एमालेको वर्तमान विवादमा युवा नेता टंक कार्कीले सामाजिक सन्जालसहितका माध्यमबाट आफ्नो धारणा नियमित जसो सार्वजनिक गरिरहेका छन् । कार्की पार्टीमा बौद्धिक नेता मात्र मानिँदैनन् उनले कठोर संघर्षकालमा अनेरास्ववियुको कुशल नेतृत्वसमेत गरिसकेका छन् । पार्टी सरकारमा रहँदा चीनका लागि नेपाली राजदूत भएर काम पनि गरेका छन् ।

आरोपप्रत्यारोप किन ?
टंक कार्की भन्छन्- पार्टीमा मत विरोध हुन्छन् । तिनको सम्यक समाधान नहुँदा पार्टी फुट्न सक्छन्, नेताको पार्टीबाट सम्बन्धविच्छेद हुन सक्छ तर परिपक्क पार्टी वा नेता अलग हुनु पर्दा पनि यति तल झर्दैनन् कि एक अर्कालाई गद्दार भनिहालुन् । कांग्रेसले गणेशमान र किशुनजीमाथि त्यस्तो आरोप लगाउने धृष्टता कहिल्यै गरेन न उनीहरुले कांग्रेसमाथि त्यस किसिमको कुनै आरोप लगाए । माओवादी विभाजनमा पनि त्यस्तो आरोप-प्रत्यारोप सुनिएन । अँ, लेनिनले काउत्स्कीविरुद्ध त्यस्तो आरोप लगाए, जुन राजनीतिक रुपमा उचित पनि थियो, फेरि पनि लेनिनले नै काउत्स्कीले अतितमा मार्क्सवादको व्याख्या र सिर्जनात्मक विकासमा गरेको योगदानको खुलस्त रुपमा प्रशंसासमेत गरेका थिए ।

नेपाली कम्युनिस्ट नेतृत्वले ‘गद्दार काउत्स्की’ पढ्यो र बढीमा आफूलाई क्रान्तिकारी देखाउन र असलियतमा आफू हाबी हुन लेनिनबाट उक्त शब्द सापटी लियो अनि आफ्नै सहयोद्धालाई गद्दारको बिल्ला भिराई हाल्यो- भद्दा नक्कल । त्यसको पहिलो शिकार पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नै बनाइहाल्यो । आन्दोलनप्रति घात र निरंकुशताको ठाडो ताबेदारी गर्ने केशरजंग रायामाझी, शैलेन्द्रकुमार उपाध्याय, कमलराज रेग्मी र डीपी अधिकारीहरुलाई त उनीहरुले गद्दार भनेनन् । छैन त रोचक इतिहास ? अहिले माधव नेपाललाई गद्दारको आरोप लगाइएको छ । पार्टीभित्र विमति हुन् सक्छ, विवाद हुनसक्छ तर त्यतिकै भरमा त्यस्तो आरोप लगाउनु होस हराएको बेलाको मर्यादाहीन आक्रोश शिवाय केही होइन । आफू नाच्न नजान्ने, आँगन टेडो !

हामीकहाँ निकै अघिदेखि दक्षिणपन्थी विसर्जनवादले शिर उठाउँदै आएको र संसदीय राजनीतिमा प्रवेश गरेयता झांगिँदै गएको यथार्थ हो । पुँजीपति वर्ग संसदीय राजनीतिलाई ‘धोखाधडीको रुपमा प्रयोग’ गर्न माहिर छँदै छ । कम्युनिस्टहरुलाई त्यसलाई ‘मुक्तिको उपकरणका रुपमा बदल्ने गरी’ लाग्न मार्क्सवादले अनुमति दिन्थ्यो तर त्यो अभिप्राय कतै नदेखिने गरी उही धोखाधडीमा हेलिनु दक्षिणपन्थी विसर्जनवाद नै हो । हाम्रो समस्या यहाँ हो ।
विचारबाट विचलनको सिलसिला सँग-सँगै यसलाई पुठ दिने गरी हाम्रा संरचना, संस्था र संस्कृतिको निर्माण भएको छ । आन्तरिक जनवादलाई सुदृढ गर्न र पार्टीको कार्य दिशा र मिसनलाई लिगमा राख्न बनाइएका विधि, प्रक्रिया सबै निरस्त गरिएका छन् । सामुहिक नेतृत्व र सामूहिक ज्ञानका ठाउँमा अत्यन्त केन्द्रिकृत शक्तिको सन्की उर्दीले प्रतिस्थापित गरिएको छ । जतिसुकै परिपाठ लगाए पनि दुनियाँले देखेको, भोगेको यहीं नै हो । यहि भएर पनि पराइले समेत हाम्रा आन्तरिक अन्तरविरोधमा चलखेल गर्न समेत पाएका छन् | उनीहरु खुचिङ भन्ने मात्र होइन यो आन्दोलनको चितामा आफ्नो ह्याकुलो सेक्न अझ आतुर देखिन्छन् ।

सेना शब्दको दुरुपयोग रोकौं
यसैगरी पार्टीभित्र विवादका क्रममा उठेको ताजा प्रसंग केलाउँदै पूर्व सांसद, केन्द्रीय कमिटी सदस्य रघुजी पन्त लेख्छन्- नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना । द्वन्द्वकालमा देखापरेको जनसेना त समाप्त भइसकेको वर्तमान अवस्थामा सरकारमा अनेकौंपटक गएको नेकपा एमालेले आफ्ना विभिन्न संगठनको नाम साइबर सेना, आईटी सेना राख्नु उपयुक्त हुँदैन ।

सेना शब्दको विशेष अर्थ र महत्त्व हुन्छ । सेनाले देशको रक्षा गर्छ । सामान्य अवस्थामा देशमा एउटाबाहेक अर्को सेना हुँदैन । राजनीतिक पार्टीहरू थुप्रै हुन्छन् तर सेना एउटै हुन्छ, सबैको हुन्छ, साझा हुन्छ । त्यसैले कुनै पनि राजनीतिक दलले सेना शब्दको जथाभावी प्रयोग गर्नु हुँदैन । अझ आफूलाई ठूलो र जिम्मेवार मान्ने राजनीतिक दलले सेना शब्दको दुरुपयोग गर्न आफ्ना कार्यकर्तालाई हौस्याउनु र त्यस्ता कार्यक्रममा प्रधानमन्त्री भइसकेका नेताको सहमति र सहभागिता देखिनु दुखद कुरा हो ।

साइबर सेनाको काम केपी ओली विरोधीहरूको मानमर्दन र चरित्रहत्या गर्नु, झुटा लाञ्छना लगाउनु र अनेकौं कुप्रचार गर्नु रहेको देखिन्छ । आईटी सेनाले गर्ने पनि यस्तै काम त होला । यस्ता काम गराएर असल कार्यकर्ता जन्मँदैनन् । विचार, सिद्धान्त तथा नीति अध्ययन गरेर तिनका आधारमा माधव समूहको आलोचना गर भनेर सिकाउनुस् बरु, तिनले ठीक आलोचना गरेछन् भने स्वीकार गरौंला ।

अपसंस्कृतिले आफैंलाई खान्छ । कार्यकर्तालाई सडकमा बाँदर बन्न होइन असल मान्छे बन्न सिकाउँ । असल मान्छे नै असल कार्यकर्ता बन्नसक्छ । आलोचनात्मक चेतना र लागेको कुरा निर्धक्क बोल्नसक्ने कार्यकर्ता पार्टीका लागि ठूलो सम्पत्ति हुन् तर अचेल नेताहरूलाई आलोचना गर्ने कार्यकर्ता होइन प्रशंसा गर्ने भक्तजन मात्र मन पर्छन् ।

भक्तहरू होइन कार्यकर्ताहरूको निर्माण गरौं । साइबर सेना र आईटी सेना होइन, प्रतिभाशाली र सिर्जनशील साइबर तथा आईटी इन्जिनियरहरू उत्पादन हुने वातावरणको निर्माण गरौं । दिएको नारा भट्याउने होइन हामीलाई प्रश्न गर्नसक्ने सचेत, सक्षम र इमानदार कार्यकर्ता एवं नागरिकको खाँचो छ र आजको आवश्यकता पनि तिनै हुन् ।

त्यसैले दोहोर्‍याएर भन्छु सेना शब्दको दुरुपयोग रोकौं । राजनीतिक दल र तिनका संगठन सेना होइनन्, नागरिक संगठन हुन्, लोकतन्त्र रक्षा गर्ने माध्यम हुन् । तिनमा जागरण र चेतना भरौं, तिनलाई सुसंस्कारले दीक्षित गरौं । हामीले पनि जा गएर ठोकिहाल् भन्दा ठोक्न जाइलाग्ने दन्त्यकथाको पात्र बज्रठिंग्राजस्ता कार्यकर्ताहरू मन पराउन थाल्यौं भने पार्टीको सत्यानाश हुन्छ- बेलैमा सबैमा चेतना आओस् ।

प्रतिक्रिया