शुक्रबार, वैशाख ७, २०८१

दरबारबाट बीपीलाई बारम्बार धोका ! (भिडियाेसहित)

नेपालखोज २०७८ साउन ६ गते १४:४७

बीपीको तुलनामा अरु कुनै नेता थिएनन् । उहाँ पहिलेदेखि नै जननेता त हुँदै हुनुहुन्थ्यो । तर २०३३ सालपछि यो विशेषण उहाँमाथि धेरै प्रयोग भयो ।

होमनाथ दाहाल विश्वेश्वरप्रसाद (बीपी) कोईरालासँग निकट रहेर काम गरेका पत्रकार हुन् । २०३३ सालमा बीपी भारतको निर्वासन त्यागेर नेपाल फर्किएपछि दाहाल उनको नजिक मात्र भएनन् दैनिक बैठकीको महत्त्वपूर्ण सदस्य नै बने ।

यो क्रम बीपीको देहावसानसम्मै चल्यो । यसको अर्थ उक्त समयावधिमा दाहालले बीपी कोइरालालाई नजिकबाट चिन्ने-बुझ्ने अवसर प्राप्त गरे । एक जमनामा दाहालद्वारा सम्पादित राष्ट्रपुकार साप्ताहिक बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको प्रवक्ताजस्तै थियो । नेपाल पत्रकार महासंघको निर्वाचित सभापति रहिसकेका वरिष्ठ पत्रकार दाहाल पछि गएर ओखलढुंगाबाट नेपाली कांग्रेसको टिकट पाई सांसदसमेत भए ।

दिवंगत बीपी कोइरालाको ३९‍औं जन्मजयन्तीको अवसर पारेर नेपालखोजले हिजो (मंगलबार) बीपीबारे दाहालको स्मरण, अनुभव, मूल्यांकन आदि खोतल्ने प्रयास गर्‍यो । दाहालले यो कुराकानीका क्रममा केही त्यस्ता ऐतिहासिक र अहिलेसम्म सार्वजनिक नभएका कुराहरु पनि उल्लेख गरे जसको साक्षीमध्ये अहिले उनी एकजना जस्तो मात्र जीवित छन् । दाहालसँको कुराकानी हामी दुई भागमा प्रस्तुत गर्नेछौं जसको पहिलो भाग :

हाइलाइट्स :

– वि.सं. २०१४ सालमा ओखलढुंगाको विकट गाउँबाट काठमाडौं आएपछि यहाँका भित्ताहरुमा मैले अलकत्राले लेखेको सविनय भद्र अवज्ञा आन्दोलन सफल पारौं भन्ने नारा कोरिएको देखें । के रहेछ यो भद्र अवज्ञा आन्दोलन जसलाई सफल पार्नुपर्ने भन्ने जिज्ञासा मनमा थियो ।
– त्यसपछि २०१५ मा आमचुनावको घोषणा भयो । त्यस क्रममा गणेशमान सिंहको चुनाव प्रचारका लागि वसन्तपुरमा सभा आयोजना गरियो । उक्त सभालाई सम्बोधन गर्न बीपी कोइराला विराटनगरबाट काठमाडौं आउनुभएको थियो । त्यही सभामा हो मैले उहाँलाई प्रत्यक्ष देखेको । म भरखर गाउँबाट आएको र राजनीतिक समझ पनि कम भएकाले बीपीको कुरा के बुझ्नु ? के सम्झनु ? आमनिर्वाचनबाट कांग्रेसको सरकार बन्यो । त्यतिबेला कम्युनिस्टहरु दरबारको उक्साहटमा लागेर सरकारले जे गरे पनि त्यसको विरोध गरिहाल्थे ।
– बीपी अत्यन्तै संवेदनशील हुनुहुन्थ्यो । कम्युनिस्टहरूले आफ्नो बिर्ता उन्मूलनदेखि लिएर वनको राष्ट्रियकरणको विरोध गर्न थालेपछि उहाँले आफ्नो कुरा र योजनाहरु बुझाउन युवाहरुलाई संगठित गर्न थाल्नुभयो । त्यस्तैमा २०१७ पुसमा राजाले प्रजातन्त्रको अपहरण गरी बीपीलाई आठ वर्ष जेलमा राखे । उहाँ जब जेलबाट निस्कनुभयो तब म यस्तो पत्रिकाको सम्पादक थिएँ जो सुन्न त सक्थ्यो तर लेख्न सक्दैनथ्यो । ८ वर्षको जेल जीवनपछि बीपी भारत निर्वासनमा जानुभयो र त्यति नै वर्ष त्यहाँ बस्नुभयो । २०३३ सालमा भारतको निर्वासित जीवन त्यागेर नेपाल आउँदा बीपीमाथि सातवटा गम्भीर मुद्दा थिए ।
– नेपाल आएपछि उहाँलाई एयरपोर्टबाटै गिरफ्तार गरेर मुद्दा चलाइयो । २०३४ सालमा बीपीलाई अदालतले तारेखमा रिहा गर्‍यो ।
– त्यसपछि भने बीपीसँग हरेका दिन भेट्ने कुराकानी गर्ने छलफल गर्ने उहाँका कुराहरु सुन्ने क्रम सुरु भयो । म त्यो बैठकको नियमित सदस्य थिए । एकदिन बीपीलाई भेट्न १५/२० जना शिक्षक आउनुभएको थियो । बीपीले उहाँहरुसँग कुराकानी गरेपछि तपाईंहरु सधैं म भएका ठाउँ आउन सम्भव हुँदैन । मप्रति कृपा गरेर हुमनाथ दाहालको राष्ट्र पुकारले मेरो कुराहरु प्रकाशन गरिदिन्छ । त्यही पढेर मेरो कुरा बुझ्नुहोला भनिदिनुभयो । यता मेरा लागि बीपीको त्यो कृपा भन्ने शब्द ममाथि निकै ठूलो भारी भइदियो । उक्त घटनापछि मेरो बीपीकहाँ जाने क्रमले थप निरन्तरता पायो । जुन उहाँको निधन नहुनजेलसम्म चलिरह्यो ।
– बीपी त्यतिबेला ६ वटा दरबारको कुरा गर्नुहुन्थ्यो । पहिलो इन्डियाको दरबार, दोस्रो चाइनिज दरबार यसले इन्डियाको दरबारलाई च्यालेन्ज गर्थ्यो, तेस्रो अमेरिकाको दरबार जसलाई रुसको चौथो दरबारले चुनौती दिन्थ्यो । पाँचौं राजा वीरेन्द्रको दरबार र छैटौं जनताका शक्तिको मेरो दरबार । मैले राष्ट्रियतालाई अगाडि सारेर जुन नीति लिएको छु । त्यसले गर्दा अरु सबैको भन्दा मेरो दरबार बलियो हुन्छ बुझ्यौं भन्नुहुन्थ्यो उहाँ ।
– बीपीलाई हरेक दिन कुनै न कुनै विषयमा छलफल गरिरहनुपर्थ्यो । कुनै दिन त्यस्तो विषय भएन भने उहाँ १५/२० जनाको जमघटमा मलाई भन्नु हुन्थ्यो ए होमनाथ गल्ली हल्ला के छ ? ल सुनाऊ । उहाँ खासगरी जनता र राष्ट्रका प्रति सचेत र संवेदनशील हुनुहुन्थ्यो । विदेशी शक्तिहरुले नेपालमा खेल्ने भूमिकप्रति गम्भीर हुनुहुन्थ्यो । त्यही राष्ट्रियताप्रतिको संवेदनशीलताका कारण सिक्किमलाई भारतमा विलय गराइएपछि उहाँ आफूलाई मृत्युदण्ड दिइने सम्भावना हुँदा-हुँदै नेपाल फर्कनुभयो । उहाँले आफ्नो जीवनको अन्तिम समयसम्म राष्ट्रिय मेलमिलापको मन्त्र जपिरहनुभयो । बीपीले हामीलाई छोडेर जानुभएको एउटा महत्त्वपूर्ण कुरा यही राष्ट्रिय मेलमिलापको सन्देश पनि हो ।
– त्यतिबेला राजा थिए एउटा शक्तिका रुपमा त्यसैले राजासँग मेलमिलाप, अहिले राजा छैनन् त्यसैले अहिलेको सन्दर्भमा राष्ट्रिय शक्तिहरुको मेलमिलाप ।

– बीपीमा हरेका कुरालाई सूक्ष्म तरिकाले विश्लेषण गर्ने अनि तर्क पूर्ण रुपमा आफ्ना कुराहरु राख्ने विशेषता थियो । उहाँ असाध्यै उच्च श्रेणीको सु-संस्कृत सोच भएको व्यक्ति हुनुहुन्थ्यो । विश्वको घटनाहरुप्रति जानकार बीपी नेपालमा कसले के भने र कुन शक्तिको पक्षपोषण गर्‍यो बुझ्न सक्नुहुन्थ्यो । राष्ट्रियताप्रतिको यही संवेदनशीलताको कारण उहाँले राजासँग आफ्ना घाँटी जोडिएको कुरा गर्नुभयो भने प्रजातन्त्रका लागि तिनै राजासँग जीवनभर लडिरहनुभयो । उहाँ भन्नुहुन्थ्यो बरु मेरो रगतले यो भूमि सिँचित होस् तर म राष्ट्रियताको पक्षमा रहन्छु ।
– बीपी नेपाल आउने भनेर प्लेनको टिकट काटिसकियको थियो । उहाँ नेपाल फर्कनुभन्दा ४/५ दिनअघि आफ्ना पुराना साथीभाइलाई भेट्न वनारस पुग्नुभयो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी त्यतिबेला असाध्यै शक्तिशाली थिइन् । उनी बीपीका हरेक गतिविधि नियालिरहेकी थिइन् । त्यतिबेला जगजीवनराम भारतको रक्षामन्त्री थिए । बीपी वनारस छँदै उनी बनारस पुगे अनि एयरपोर्टबाटै फोन गरी आफूलाई मेडम (इन्दिरा गान्धी) ले पठाएको तपाईंसँग भेट्नु छ भने । बीपीले बुझिहाल्नुभयो कि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सन्देश लिएर जगजीवनरामले किन आफूसँग भेट्न खोज्दै छन् ? बीपीले जगजीवनरामलाई फोनमै भन्नुभयो माफ गर्नुहोला म अहिले तपाईंसँग भेट्न सक्दिनँ मैले नेपाल फर्कने निर्णय गरिसकें मेडलाई मेरो नमस्कार सुनाइदिनुहोला । पछि कुनै दिन भेटेको बेला कुराकानी होला । त्यसपछि उहाँ बनारसबाट पट्ना आउनुभयो । पट्नामा उहाँले के भन्नुभयो भने- रक्षामन्त्री जगजीवनराम भेट्न आएका थिए तर मैले भेट्न चाहिनँ । हो, मलाई थाहा छ ममाथि सातवटा गम्भीर मुद्दा छन् । जसमध्ये २/३ वटामा मलाई फाँसी पनि हुन सक्छ तर मलाई फाँसी दिएर राजाको समस्या समधान हुँदैन । बरु उनको समस्या अझै बढेर जान्छ । यदि राजाले मूर्खतापूर्वक फाँसी दिएछन् भने पनि मेरो रगतले मेरो मातृभूमि सिञ्चित हुनेछ । म भारत आएर भारतीय स्वतन्त्रता आन्दोलनका अघि पनि जेल बसेको मान्छे संघर्ष गरेको मान्छे । अहिले नेपालमा राजाले प्रजातन्त्र खोसे त्यो प्रजातन्त्र फर्काउन इन्डियाले सहयोग गर्छ भनेर पो म यहाँ आएको । म मेरो मुलुक इन्डियामा मिसाउन विलय गराउन यहाँ आएको होइन । बीपीले यो कुराभन्दा गिरिजाबाबु, शैलजाजी, चक्रजी, रामबाबु प्रसाईंहरु त्यही हुनुहुन्थ्यो । तिनै ५/६ जना मान्छेलाई ती कुरा सुनाएर बीपी नेपाल फर्कनुभयो । दुर्भाग्य राजा वीरेन्द्रले उहाँलाई थुने । राजा वीरेन्द्र बाहिरबाट हेर्दा पढे-लेखेका सज्जन प्रकृतिका थिए । तर उनी कुनै निर्णय लिन नसक्ने, चाँडै अरुको दबाबमा आउने खालका थिए ।
– यसबीच अबदेखि अमेरिकाको परराष्ट्र नीतिको आधार मानवअधिकार हुन्छ भनेर आफ्नो घोषणापत्रमा उल्लेख गरेका जिम्मी कार्टर राष्ट्रपति निर्वाचित भए भने भारतमा पनि इन्दिरा गान्धी पराजित भएर बीपीका निकटस्थ मित्रहरु, सहयात्रीहरु सत्तामा पुगे । आखिमा त्यो दबाबले बीपीलाई तारिखमा छाडियो । मुद्दाचाहिँ फिर्ता लिइएन । ती मुद्दा २०३७ सालमा जनमत संग्रह घोषणा भएपछि अरु नेता कार्यकर्ताको मुद्दासँगै फिर्ता भयो । बीपी राष्ट्रियतामाथिको खतरा देखेर नेपाल आउनुभएको थियो । त्यतिबेला इरान, अफगानिस्तान र सिक्किमको घटनापछि उहाँले नेपाल आउने निर्णय गर्नुभएको थियो । राजासँग राष्ट्रिय शक्तिको एकता भएन भने नेपालको राष्ट्रियता पनि रहँदैन भन्ने उहाँको धारणा थियो ।
– दरबारबाट भने बीपीलाई बारम्बार धोका भयो । जनमत संग्रहको घोषणापछि बीपी र म अझ नजिक भयौं । बहुदलको प्रचारमा बीपी जहाँ जहाँ पुग्नुभयो म उहाँसँगै रहें । आमसभाहरुपछि हामी त्यो दिनको सभाको समीक्षा गर्थौं । बीपी आफ्ना भनाइमा जनताको प्रतिक्रिया के छ भन्ने कुरामा अत्यन्तै संवेदनशील हुनुहुन्थ्यो ।
– बीपीको तुलनामा अरु कुनै नेता थिएनन् । उहाँ पहिलेदेखि नै जननेता त हुँदै हुनुहुन्थ्यो । तर २०३३ सालपछि यो विशेषण उहाँमाथि धेरै प्रयोग भयो ।
– जनमत संग्रहमा बीपीले आफ्ना साथीहरु विपक्षमा रहँदा-रहँदै राजामा विश्वास गर्नुभयो । राजालाई पञ्चायत नै चाहेको भए पञ्चायत त छँदै छ नि जनमत संग्रह किन चाहियो ? भन्ने उहाँको तर्क थियो । जनमत संग्रहको पराजयपछि बीपी पञ्चायतको चुनावमा भाग लिने कि नलिने भनेर जनता कार्यकर्ताहरुको राय लिन सबै विकास क्षेत्र पुग्नुभयो । यो भ्रमणमा उहाँले ठूलो स्वागत र समर्थन पाउनुभयो । जनमत संग्रहमा पञ्चायतले जिते पनि मानिसहरु बीपीकै पक्षमा देखिन्थे, प्रजातन्त्रकै पक्षमा देखिन्थे । त्यो भ्रमणका क्रममा पाल्पा, तानसेनको कार्यक्रमअघि चार दिन ग्याप थियो । बीपीले भन्नुभयो म एकपटक काठमाडौं जान्छु । सकेसम्म राजालाई भेट्छु । कांग्रेसले चुनावमा भाग लिने कुरा राजालाई भन्छु । काठमाडौं आएर तीन दिनसम्म कोसिस गर्दा पनि बीपीले राजालाई भेट्न पाउनुभएन । बडो निराश हुँदै उहाँ तानसेन फर्कनुभयो । तानसेनपछि बीपीले आफ्नो जीवनको अन्तिम आमसभा काठमाडौंमा गर्नुभयो । बीपीले त्यही आमभामा भन्नुभएको हो- ‘कुनै दुविधा भए आफैंले टेकेको माटो हातमा लिएर सोच त्यो माटोले जे भन्छ त्यही गर ।’
– बीपी सीमित मानिसहरुबीच निकै थोरै पिउनुहुन्थ्यो । त्यो पनि हाई क्वालिटिको अनि कहिलेकाहीँ मात्र । उहाँमा अत्यन्त संवेदनशीलता थियो । युवाहरुलाई के भन्ने महिलाहरुलाई कसरी सम्बोधन गर्ने उहाँ बुझ्नुहुन्थ्यो । सामाजिक रुपमा पनि उहाँ त्यतिकै सचेत हुनुहुन्थ्यो । उहाँको साहित्यिक रचनाहरु पढ्ने हो भने पनि बीपी समाजका विभिन्न वर्ग र तहलाई कसरी हेर्नुहुन्थ्यो स्पष्ट हुन्छ । पछिल्लो चरणमा उहाँ बारम्बार भन्नुहुन्थ्यो मलाई लेख्नु छ म अब लेख्न चाहन्छु । तर बीपीलाई उहाँको स्वास्थ्यले साथ दिएन ।

प्रतिक्रिया