मंगलबार, साउन १२, २०७८

नेपाली कम्युनिस्ट आन्दोलनमा क. पुष्पलाल

केशवप्रसाद गौतम २०७८ साउन ७ गते ९:१४

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव,नेपाली वाम-प्रजातान्त्रिक आन्दोलनका महान नेता क. पुष्पलाल नेपाल कम्युनिस्ट आन्दोलनका एउटा यस्तो हस्ती हुनुहुन्थ्यो जसले वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरी तीसको दशकको मध्यसम्म मार्क्सवाद-लेनिनवादको झन्डालाई माथि-माथि उठाउँदै नेपाली जनताको हित र राष्ट्रिय मुक्तिका लागि अविरल रूपमा संघर्ष गर्दै २०३५ सालसम्म आफ्नो जीवन समर्पित गर्नुभयो।

कम्युनिस्ट पार्टीको निर्माण :
उहाँले वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको निर्माण गरेर नेपालका किसान मजदुरवर्गलाई सामन्त र दलालपुँजीपतिसँग लड्ने एउटा शक्तिशाली हतियार प्रदान गर्नुभयो । यो उहाँको महान् ऐतिहासिक कार्य थियो । त्यसबेला अरू पनि नेपाली कम्युनिस्ट नेताहरु हुनुहुन्थ्यो तर पार्टीको स्थापना गर्ने विचार उहाँमा आउनु नै ठूलो कुरा थियो ।

हुनत उहाँ नेपालको आदि कम्युनिस्ट होइन । किनभने जतिबेला उहाँ वि.सं. २००३ सालमा राष्ट्रिय कांग्रेसमा कार्यालय सचिव हुनुहुन्थ्यो त्यहीबेला मनमोहन अधिकारी पनि नेपालमा कम्युनिस्ट पार्टीको गठन गर्न भनेर वि.सं. २००३ सालमा नेपाल आएर विराटनगर केमिकल्समा केमिस्टको जागिर खाँदै ऐतिहासिक मजदुर आन्दोलन गर्दै हुनुहुन्थ्यो । अझ त्योभन्दा चार वर्षअगाडि नै वि.सं. १९९९ मा मनमोहन अधिकारी भारतको वनारसमा अध्ययनरत रहँदा ब्रिटिस साम्राज्यवाद विरोधी भारतीय जनताको ‘भारत छोडो’ आन्दोलनमा संलग्न रहेबापत १ वर्ष ६ महिना जेल परी जेलमै कम्युनिस्ट पार्टीको सदस्यता लिइसक्नुभएको थियो । मनमोहन अधिकारी विराटनगरमा मजदुर आन्दोलन गरेबापत ३ वर्ष जेल परेकै अवस्थामा क. पुष्पलालले वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरी संस्थापक महासचिव हुने अवसर प्राप्त गर्नुभयो । यो ऐतिहासिक कामले उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापकका रूपमा अमरत्व प्रदान गर्‍यो ।

कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद :
क. पुष्पलालको अर्को महत्त्वपूर्ण काम भनेको कार्ल मार्क्स र फ्रेडरिक ऐंगल्सको विश्व विख्यात कृति कम्युनिस्ट घोषणापत्रको नेपाली नेपाली अनुवाद हो । कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरेर उहाँले नेपालका मजदुर किसान श्रमजीवी जनतालाई मुक्तिको बाटो मात्र देखाइ दिनुभएन उनीहरूलाई लड्नका लागि एउटा शक्तिशाली वैचारिक हतियारसमेत नेपाल भित्र्याइदिनुभयो । कम्युनिस्ट घोषणापत्रको अनुवाद गरेर त्यसको भूमिकामा उहाँले लेखेको विचार नै नेपाली समाजको पहिलो मार्क्सवादी विश्लेषण थियो ।

नेपालि कम्युनिस्ट आन्दोलनका वैचारिक नेता :
उहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक र कम्युनिस्ट घोषणापत्रको अनुवादक मात्र होइन उहाँ नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक नेतासमेत हुनुहुन्थ्यो । उहाँको शक्ति भनेकै उहाँको विचार हो ।

उहाँको व्यक्तित्वको निर्माण विचारबाटै भएको छ । उहाँले नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न कालखण्डमा धेरै वैचारिक पुस्तकहरू लेख्ने काम गर्नुभएको छ जसले गर्दा नेपालको कम्युनिस्ट साहित्य मार्क्सवादी लेनिनवादी ज्ञानमा समृद्ध भएको छ । उहाँ गणतन्त्रको पहिलो उद्घोषक र नेपालमा नयाँ जनवादको नारा दिने प्रथम व्यक्ति पनि हुनुहुन्छ ।

मार्क्सवादी इतिहासकार :
क. पुष्पलालले नेपाली समाजको ऐतिहासिक विश्लेषण गरी नेपाली क्रान्तिको दिशानिर्देश गर्नुभयो । उहाँ नेपालको पहिलो मार्क्सवादी इतिहासकार पनि हो । उहाँले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट नेपाली समाजको वर्ग विश्लेषण गर्ने काम गर्नुभयो ।

पार्टी संगठक :
उहाँको मार्क्सवादप्रति रहेको निष्ठा र क्रान्तिप्रति रहेको विश्वास अद्भूत थियो । उहाँसँग एकपल्ट भेटेको मानिस उहाँको सिद्धान्त र क्रान्तिप्रतिको निष्ठा र विश्वास देखेर गदगद भएर उहाँसँग काम गर्न तत्पर हुन्थ्यो । त्यही विशेषताले गर्दा उहाँले २००६ सालदेखि २०१७ सालसम्म नेपालमा रहेर पार्टी सञ्‍चालन गर्दा र २०१७ सालपछि भारतमा निर्वासित जीवन बिताउँदा पनि देशव्यापी संगठन निर्माण गर्न सफल भएको हुनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो- ‘कार्यकर्ताहरू राजनीतिक रूपले संगठित हुनुपर्दछ, जनता चेतनशील हुनुपर्दछ, क्रान्ति अवश्यम्भावी छ, यसलाई कसैले रोक्न सक्दैन ।

पुष्पलाललाई अनेक आरोप लगाउनेहरू, उहाँलाई संशोधनवादी, गद्दार भन्नेहरू यतिबेला उहाँको योगदानको प्रशंसा गर्न थालेका छन् । यही नै क. पुष्पलालको विचारको विजय हो ।

पार्टीको कार्यक्रम र कार्यनीति :
(क) क. पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीलाई जहिले पनि सही कार्यक्रम र कार्यनीतिमा र हिँडाउने प्रयत्न गर्नुभयो । २००६ सालको नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा जनतालाई नागरिक आन्दोलन गर्न आह्वान गर्दै राणाविरोधी आन्दोलनलाई राजावाद र बुर्जुवा सुधारवादको भ्रमबाट मुक्त गरी आमूल परिवर्तनको दिशामा अगाडि बढ्ने कार्यनीति सार्वजनिक गर्नुभयो ।

त्यस्तै देशको सामाजिक र आर्थिक स्थिति अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेकाले सामन्तवादी र साम्राज्यवादी शोषणको अन्त्य गरी नयाँ नेपाल निर्माण गर्न ‘नयाँ जनवाद’का लागि संघर्ष गर्नुपर्ने कुरा उहाँले कार्यक्रममा उल्लेख गर्नुभएको थियो ।

(ख) वि.सं. २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् भंग गरी सैनिक तानाशाही व्यवस्था लागु गर्दा उहाँले विघठित संसद्‌को पुन:स्थापना भनी सही कार्यनीति प्रतिपादन गर्नुभएको थियो । जुनकुरा ३० वर्षपछि वि.सं. २०४७ मा सत्य साबित भयो ।

(ग) नेपाली कम्युनिस्ट आन्दोलनमा २०२८ सालमा झापा विद्रोह भयो । त्यसबेला झापा विद्रोहीहरूले वर्गदुस्मन सफायाको कार्यनीति लिएर अगाडि बढ्दा व्यक्तिहत्याको बाटोबाट क्रान्ति सम्भव हुँदैन यो बाटो गलत हो भनेर पुष्पलालले भनेको कुरा नेकपा मालेले २०४६ सालमा आएर स्वीकार गर्‍यो र चौथो महाधिवेशन गरी शान्तिपूर्ण प्रगतिशील रूपान्तरणको बहुलवादी प्रजातन्त्रको बाटो अख्तियार गर्‍यो ।

(घ) पञ्चायती व्यवस्था भनेको राजाको तानाशाही व्यवस्था भएकाले त्यसको अन्त्य गर्न सबै प्रजातन्त्रवादी शक्तिहरू एक भएर संघर्ष गर्नुपर्द्छ भन्दै उहाँले नेपाली कांग्रेससँग समेत संयुक्त भई संघर्ष गर्ने कुरा गर्दा तात्कालीन नेकपा मालेले उहाँलाई कांग्रेसको पुच्छर भन्यो, संशोधनवादी भन्यो । तात्कालीन ‘मुक्तमोर्चाले’ पुष्पलालका १२ अपराध भनी पुस्तक नै निकाल्यो । तात्कालीन नेकपा मशालका नेता मोहनविक्रम सिंहले पनि गद्दार पुष्पलाल भनी पुस्तक निकाल्नुभयो । अरू कतिपय कम्युनिस्टहरूले पनि विरोध गरे तर आखिरमा उहाँले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको सिद्धान्तबाटै उहाँको निधन भएको ११ वर्षपछि नेपालमा संसदीय लोकतन्त्रको प्राप्ति भयो । संयुक्त जनआन्दोलन वि.सं. २०४६ सालमा एकपटक मात्र सफल भएको होइन, जब राजा ज्ञानेन्द्रले वि.सं. २०५९ मा पुन: सत्ता आफ्नो हातमा लिएर अधिनायकवाद प्रारम्भ गरे तब नेकपा माओवादी र सातदलले वि.सं. ०६२/६३ मा पुन: १९ दिन संयुक्त जनआन्दोलन गरेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको प्राप्ति गरे ।

पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक नेता हुनुहुन्थ्यो । त्यसैकारण आज नेपाली कम्युनिस्ट आन्दोलनका सर्वमान्य नेताका रूपमा रहेको हुनुहुन्छ । पुष्पलाललाई अनेक आरोप लगाउनेहरू, उहाँलाई संशोधनवादी, गद्दार भन्नेहरू यतिबेला उहाँको योगदानको प्रशंसा गर्न थालेका छन् । यही नै क. पुष्पलालको विचारको विजय हो ।

पुष्पलालका योगदानको चर्चा सानो लेखमा सम्भव छैन । तथापि उहाँको स्मृति दिवसमा उहाँका महान्‌तालाई सम्झने यो सानो प्रयास हो । उहाँ क्रान्तिकारी स्वभावको हुनुहुन्थ्यो । समय र परिस्थितिको सही विश्लेषण गर्नसक्ने क्षमता उहाँमा थियो । उहाँको त्यागमय जीवन र त्यागी व्यक्तित्व थियो । उहाँ क्रान्तिका लागि जस्तोसुकै त्याग गर्न तत्पर हुनुहुन्थ्यो । उहाँले कैयौं रात चना मात्र खाएर बिताउनुभयो भने चना पनि नहुँदा कैयौं दिन भोकभोकैसमेत रहनुहुन्थ्यो ।

उहाँ सधैं गरिब र उत्पीडित नेपाली जनताको मुक्तिको चिन्ता गर्नुहुन्थ्यो । उहाँले देश र जनताको मुक्तिका लागि परिवार समेतलाई छाडेर निर्वासित जीवन बिताउनुभयो र निर्वासित अवस्थामा रोग र भोकका कारण मात्र ५४ वर्षको उमेरमा उहाँको निधन गोविन्दवल्लभ अस्पताल, दिल्लीमा भयो । उहाँको शवसमेत पञ्चायती सरकारले नेपाल ल्याउन अनुमति दिएन । उहाँको अस्थीकलश बडो मुस्किलले नेपाल ल्याइयो जसलाई उहाँका परिवार, शुभचिन्तक र हजारौं नेपाली जनताको उपस्थितिमा क. मनमोहन अधिकारीले बिसर्जन गर्नुभयो ।

आज उहाँ हामीबीच हुनुहुन्न तर उहाँले दिएका शिक्षाले हामीलाई अझै पनि प्रेरणा दिइरहेको छ । उहाँका शिक्षाको पालना गरेको भए नेपालको कम्युनिस्ट आन्दोलनले आजको जस्तो विकृति, विसंगति र दुर्गति भोगुनुपर्ने थिएन । उहाँका शिक्षाहरू :
(१) कम्युनिस्ट पार्टीमा नेता होइन नीति प्रधान हुन्छ !
(२) कम्युनिस्ट पार्टीमा पद र पैसा होइन राजनीति प्रधान हुन्छ !
(३) कम्युनिस्ट पार्टीका सदस्यहरूमा सिद्धान्तप्रति दृढविश्वास हुनैपर्छ !
(४) कम्युनिस्ट पार्टीका सदस्यहरूको त्यागमय जीवन र त्यागी व्यक्तित्व हुनैपर्छ !
(५) कम्युनिस्ट पार्टीका सदस्यहरूको क्रान्तिप्रति अदम्य उत्साह हुनैपर्छ र उसलाई त्यो उत्साह मार्क्सवादी लेनिनवादी ज्ञानले प्रदान गर्दछ !

(गौतम पुष्पलाल स्मारक समिति, विराटनगरका अध्यक्ष हुन् ।)

प्रतिक्रिया