शनिबार, वैशाख १५, २०८१

‘कांग्रेससँग कार्यगत एकताको कुरा गर्दा पुष्पलाललाई गद्दार भनियो’

नेपालखोज २०७८ साउन ७ गते १३:४७

उदार र प्रजातान्त्रिक वामनेता पुष्पलाल

२०२६ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका लोककृष्ण भट्टराई पुष्पलाल अध्ययन समाजका अध्यक्ष हुन् । ६७ वर्षीय भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक गरेर नौ वर्षजति जेल बसेका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानका संस्थापक महासचिव उनी हाल उक्त संस्थाको उपाध्यक्ष छन् । २०२७ सालदेखि वरिष्ठ कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको सम्पर्कमा आएका भट्टराई त्यसपछि आफू जेल नजाउन्जेल अर्थात् २०३२ सालसम्म लगातार उनको निकट रहे । भट्टराई पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्यसमेत थिए । ओखलढुंगाबाट नेकपा (एमाले) को टिकट पाएर प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्‍वार भएका भट्टराई नेपाली कांग्रेसका नेता बलबहादुर राईसँग पराजित भएका थिए । उनले केही समय पत्रकारितासमेत गरे भने हाल किसान अभियानसँग सम्बद्ध रही काम गरिरहेका छन् । ४३औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा नेपालखोजले पुराना कम्युनिस्ट नेता लोककृष्ण भट्टराईसँग दिवंगत पुष्पलालको जीवनका विविध पक्षमा कुराकानी गरेको छ ।

हाइलाइट्स :

– पुष्पलाल साँचो अर्थमा प्रोग्रेसिभ तथा डेमोक्रेटिक नेता हुन् । उनले नै सामन्तवादको अन्त्य नभई नेपालको विकास हुँदैन भनेर नेपाली सन्दर्भमा प्रजातन्त्र र समाजवादको व्याख्या गरे । उनका विचार विभिन्न पुस्तकका रूपमा प्रकाशित भएका छन् ।
– सबै किसिमका निरंकुशताविरुद्ध राजनीतिक दलहरुका साथै विभिन्न पेसागत संगठन एवं बुद्धिजीवीहरुबीचको एकता र संयुक्त प्रयासको कुरा पहिलोपटक पुष्पलालले नै उठाउनुभएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा पुष्पलालको यही थ्यौरीले काम गरेको छ ।
– बीपी कोइरालालगायत गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला आदि सँग पनि उहाँको निकै राम्रो र सौहार्दपूर्ण सम्बन्ध थियो । बीपी र गणेशमानजी २०३३ मा नेपाल फर्कनुअघि सरसल्लाह गर्न पुष्पलाल कहाँ पनि पुग्नु भएको थियो । उक्त भेटमा पुष्पलालले आन्दोलन नगरी राजाले डेमोक्रेसी दिन्नन् भन्दै आफू तत्काल नेपाल नजाने, भारतमै बसेर आन्दोलन चलाउने कुरा बताउनुभएको थियो ।
– गुल्मीका एकजना साथीले २०२७ सालमा बनारस लगेर मलाई पुष्पलालसँग चिनापर्ची गराउनुभएको थियो । त्यसपछि मैले उहाँको मृत्युसम्मै उहाँसँग रहेर काम गरें ।
– पुष्पलाल इतिहासका राम्रो जानकार हुनुहुन्थ्यो । भौतिकवादी इतिहासकारका रुपमा सबै इतिहासकारले उहाँलाई मानेका छन् । उहाँले तीन लाख वर्ष पुरानो इतिहास उत्खनन् गर्नुका साथै आधुनिक नेपालको (करिब साढे तीन सय वर्षयता) विकासक्रम अन्वेषणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।
– नेपालमा मार्क्सवादको पहिलो प्रयोगकर्ता पुष्पलाल हो । उहाँलाई नेपालको समाजवादी तथा प्रजातान्त्रिक आन्दोलनको नेता, कम्युनिस्ट पार्टीको संस्थापक एवं विचारकका रुपमा चिन्न सकिन्छ ।
– पुष्पलाल भारत निर्वासनमा रहे पनि पटक-पटक भूमिगत रुपमा नेपाल आउनुभयो । उहाँ राष्ट्रवादी नेता हुनुहुन्थ्यो । हर्ट एटेक भएर दिल्लीमा उपचाररत रहँदा जनता पार्टीका तत्कालीन अध्यक्ष चन्द्रशेखर भेट्न आएर उपचारका लागि बेलायत पठाउने कुरा गर्दा पुष्पलालले त्यसलाई अस्वीकार गर्नुभएको थियो ।
– पुष्पलालको जीवनशैली अत्यन्तै सरल थियो, एकदमै जनपक्षीय प्रकृतिको हुनुहुन्थ्यो । उहाँको रुचि पनि साधारण थियो खानपिन जस्तै । आफैंले भात पकाएर खानुहुन्थ्यो भने हामीलाई पनि पकाएर ख्वाउनु हुन्थ्यो । भाँडा पनि आफैं माझ्नुहुन्थ्यो । एकपटक हामी उहाँकहाँ पुग्दा चामल-दाल केही नभएर चार दिनदेखि चनाको सातु खाएर गुजारा गरेको पनि पायौं । श्रीमती सहाना प्रधानलाई राजाले राजनीतिक आरोपमा त्रिविविबाट निकालेपछि पुष्पलालको अलिअलि आउने बाटो पनि बन्द भएको थियो । उहाँलाई नेपालका किसानहरुले सानो तिनो खर्च पठाउँथे ।
– अहिले कोठामा पुष्पलालको फोटो टाँगेर करप्सन भइरहेको छ । युवा पुस्ता त्यसैले पनि रुष्ट छ, उनीहरुमा राजनीतिप्रति वितृष्णा छ । तर यो पुस्ताले नेपालको राजनीति बुझ्न, हाम्रा राजनेताहरुको त्याग र सरल जीवन र उच्च विचारसँग परिचित हुन पुष्पलाललाई पढ्नैपर्छ ।
– अहिले आएर अप्रिय कुरा किन गरौं तर ती नेता जसले पुष्पलाललाई गद्दार भने उनीहरु सबै कतैबाट निर्देशित थिए । पछि त उनीहरुले सार्वजनिक रुपमै आफ्नो गल्ती पनि महसुस गरे ।
– पुष्पलाल दूरदृष्टि भएका नेता हुनुहुन्थ्यो । पुष्पलालले संसद् पुनःस्थापना, कांग्रेस कम्युनिस्टबीच कार्यगत एकता, कम्युनिस्ट पार्टीको प्रजातान्त्रिकीकरण, गणतन्त्र स्थापनाजस्ता कुरा उहिले नै उठाउनु भएको हो । जुन कुरा पछि गएर नेपालको राजनीतिमा सत्य साबित हुँदै गयो । उहाँ राजनीतिक संस्कारयुक्त हुनुहुन्थ्यो । जसरी कांग्रेसको माटो कम्युनिस्टको माटो राप्रपाको माटो राप्रपाको माटो फरक हुँदैन नि यो भूमिको विकास गर्न सबै एकजुट हुनुपर्छ नि यस्तो विचार थियो उहाँको राष्ट्रिय सहमतिको शैलीको । प्रतिस्पर्धा पनि मित्रवत् हुनुपर्‍यो भन्नुहुन्थ्यो ।

नेपालमा मार्क्सवादको पहिलो प्रयोगकर्ता पुष्पलाल हो । उहाँलाई नेपालको समाजवादी तथा प्रजातान्त्रिक आन्दोलनको नेता, कम्युनिस्ट पार्टीको संस्थापक एवं विचारकका रुपमा चिन्न सकिन्छ ।

– पुष्पलाल असध्यै हँसी-मजाक गर्नुहुन्थ्यो । यो मामिलामा उहाँको स्वभाव किसुनजी (कृष्णप्रसाद भट्टराई) सँग मिल्थ्यो । दिक्क कहिल्यै मान्नु हुँदैन थियो । सिरियस भएर बस्यो भने पनि उसलाई फ्रेस बनाइहाल्नु हुन्थ्यो । राजनीतिक कुराबाहेक कार्यकर्तासँग उनीहरुको परिवार गाउँघरको अवस्था चालचलन आदिको बारेमा सोधखोज गर्नुहुन्थ्यो । एकदम पारिवारिक टाइपको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले पनि कार्यकर्ता उहाँको पछि लागेका हुन् । उहाँ हसाइरहनु हुन्थ्यो भने कसैलाई दुख पर्‍यो भने त्यो दु:खमा धैर्यधारण गर्न क्यापासिटी विल्डप गर्न मद्दत गर्नुहुन्थ्यो ।
– मैले संगत गरेकामध्ये दुईजना नेवारले मदिरा खाएको देखिनँ । मैले गणेशमानजी र पुष्पलालले मदिरा खाएको कहिल्यै थाहा पाइनँ ।
– उहाँको देहावसान गोविन्दबल्लभ पन्त अस्पतालमै भयो । उहाँको दाहसंस्कार पनि दिल्लीमै गरियो । अस्तु नेपालका विभिन्न क्षेत्रमा पुर्‍याइयो । उहाँको दाहसंस्कारमा जनता पार्टीका अध्यक्ष चन्द्रशेखर, जनता पार्टीका महासचिव मधु लिमय, रक्षामन्त्री जर्ज फर्नान्डिज, कृषिमन्त्री चौधरी चरणसिंह आदि संलग्न हुनुहुन्थ्यो . नेपाली नेताहरुमा गणेशमान, गिरिजाप्रसाद, बलराम उपाध्याय, निर्मल लामा, धर्मपत्नी साहना प्रधानलगायत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया