बुधबार, वैशाख १२, २०८१

लोकगायक सपुत र दुलाल ‘विपत् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

नेपालखोज २०७८ साउन ७ गते २०:२२

काठमाडौं । सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपत् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपत् सम्बन्धि जनचेतना अभिवृद्धि गर्न ‘विपत् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।

गीत संगीतको माध्यमबाट समूदायका विपत् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उनहरुलाई सो सम्बन्धि सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए ।

उनले भने, “विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारीरुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ । यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपत् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ ।”

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढि प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भईरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाई सकेको छ ।

प्रतिक्रिया