प्रचण्ड, माधव र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज एक कार्यक्रमको आयोजना गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल, ललितपुरमा दिउँसो साढे १२ बजे कार्यक्रमको समय तोकिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसम्मले सम्बोधन गर्ने भएका छन् । एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटोका विषयमा विचार राख्ने मित्रता केन्द्रले जनाएको छ ।
केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले विज्ञप्ति जारी गर्दै ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयमा नेताहरुले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुने छैनन् ।
पुष्पलालको ४३औं स्मृति दिवस हिजै देशभर विभिन्न कार्यक्रम गरि मनाइएको थियो ।

प्रतिक्रिया