सर्वोच्चको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलियो : नेम्वाङ

नेपालखोज २०७८ साउन ८ गते १५:०६
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुगेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरुबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्तअन्तर्गत नभएकाले राज्यका अंगहरुबीचको सन्तुलन गुमेको बताएका हुन् ।

अदालतको फैसलाले संविधानको अक्षर, बहुदलीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर तुल्याएको पनि उनले बताए । उनले वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट आएको बताए ।

प्रधानमन्त्री देउवाले यसअघि आफूलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जाँदैनौं भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेम्वाङले अहिले प्रधानमन्त्री बन्न कसरी जनादेश आयो भन्ने प्रश्न पनि गरे ।

उनले आगामी दिनमा देशमा कस्तो प्रणाली बसाउने भन्नेमा ध्यान दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले आफूहरु जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए ।

आफूहरुले प्रत्येक मन्त्रालयको अनुगमन गर्ने र सरकारले के गरिरहेको छ हेर्ने पनि बताए । उनले विश्वासको मत दिने सम्बन्धमा नेपाली कांग्रेस लगायतका दलमा चाहिँ ह्विप लाग्ने तर नेकपा (एमाले) लाई ह्विप नलाग्ने अवस्था बनाइएको भन्दै कांग्रेसलाई अनुशासन लाग्ने आफूहरुलाई नलाग्ने भनेर प्रश्न गरे ।

नेम्वाङले सरकारलाई छिट्टै पूर्णता दिनुपर्ने भन्दै विगतका सरकारले गरेका कामहरुलाई निरन्तरता दिनसमेत प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया