शनिबार, वैशाख १५, २०८१

नारी शक्ति

आचार्य प्रभा २०७८ साउन ९ गते ९:०८

– ‘छि: छि: त्यो आइमाईको तागतको कुरा के गर्छौ ? आओस् न हुल कसेर लड्न मसँग ।’

श्यामेको अंहकारमय आवाज गुन्जि रहेको थियो त्यो भिडमा।

रमणले सम्झाउँदै भन्यो- ‘त्यसो होइन नारी भनेर हेय दृष्टिले हेरिनु हुन्न । यहाँ तागतको कुरा होइन बौद्धिकताको कुरा छ ।’
– ‘ल आओस् न, बौद्धिकता, बल सबै कुरा लिएर । आइमाई हो जति गरे पनि पुरुषसँग तुलना गर्न मिल्दैन,’ श्यामले फेरि होच्याएर भन्यो ।

मान्छेहरु त्यहाँ निक्कै भेला भएका थिए । श्यामे र निर्जलाको पुरानो झगडा मिलाउन । श्यामेले निर्जलालाई कुनै दिन निक्कै अपमान गरेको थियो तर त्यो अपमानले विकराल रुप लियो र गाउँघरले उक्त समस्या मिलाउने निधो गर्‍यो यद्यपि श्यामे अझ आफ्नै ठूलो डंका पिटिरहेको थियो ।

श्यामे अघिदेखि मैमत्ता बनेर बसिरहेको थियो । परबाट निर्जला आइरहेकी देखेर अझ अभिमानका साथ बस्यो । सबैजनाले श्यामको अंहकारलाई मनन् गरिरहेका थिए । सबैजना अब कुरा कसरी मिल्ने हो ? भनेर प्रतीक्षारत थिए । कुराकानी सुरु भयो ।
– ‘ल ! भन्नुहोस् तपाईंहरुको झगडा कसरी सुरु भो ?’ उक्त भेलाका मानिने व्यक्तिले प्रश्न राखे ।

श्यामे हत्तसिएर उठ्यो र भन्न थाल्यो । ‘झगडाको विषय ठूलो होइन । ऊ हाम्रो गाउँमा आएर हामीजस्तासँग परिचय नै नगरी बस्ने ? आएपछि कमसेकम गाउँका भद्रभलाद्‌मी, वैभवशाली, हर्ताकर्ता पुरुषहरुसँग चिनाजानी गर्नुपर्छ । एउटी निर्बल नारी कति असुरक्षित हुन्छे नयाँ, नौलो ठाउँमा ? उसलाई सुरक्षाका लागि हाम्रो सहयोग चाहिँदैन ? हो यही विषयमा मैले केही भनेको थिएँ । मेरो कुरालाई बेवास्ता गर्दा मैले यिनलाई अबला नारी भएर ज्यादा फुर्ती नगर्नु भनेकाले असह्य भएर हाम्रो झगडा चर्किएको हो ।’

श्यामेको कुराले निर्जलालाई बोल्न बाध्य बनायो र भनिन्- ‘महाशय म निर्बल नारी होइन। यहाँको सोंच निर्बल र निरीह रहेछ । मैले यहाँजस्तासँग परिचय गर्नु र आफ्नो परिचय दिनु जरुरी अब झन् ठानिनँ । म आफ्नो परिचय मुखले होइन कामले दिन्छु । अनि मलाई सुरक्षाको आवश्यकता छैन । म आफैं आफ्नो सुरक्षाका लागि काफी छु।’

उनी बोलिरहेकी थिइन् । भिडबाट सुस्तरी आवाज आइरहेको थियो । ‘अरे ! यिनी त उही निर्जला होइनन् ? जो नारी शक्ति केन्द्रकी निर्मात्री तथा झापा जिल्लाकी दह्रिली प्रमुख जिल्ला अधिकारी । यिनको कार्यकालमा झापाका बद्‌मास, गुन्डा, फटाहाहरु थर्कमान थिए ।’

अर्काले भने- ‘अब यति भएपछि सक्किगो नि ! के सुन्नु निर्णय ? यस्ता महसुर नारीसँग श्यामले जोरी खोज्ने ? विचरा श्यामे ।अब यसको समय सक्यो । अब चिन्ने भो यो अहंकारीले निर्बल नारीको शक्ति ।’
केही क्षणपश्चात हेर्दा श्यामेको त्यहाँ अत्तोपत्तो थिएन ।

प्रतिक्रिया