शनिबार, वैशाख १५, २०८१

कबि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ असोज ९ गते १२:१२

• जुनी जुनीलाई , मेरी उनीलाई… (रविन शर्मा )
• सबैले दिने उस्तै हुन्छ माया….( तारा थापा)
• थामेर किन छोड्यौ हातहरु….( सुनिता सुब्बा )
• यो मनको के भर हुन्छ….( अरुण थापा)
• मेरो याद अझै आउँछ भने…( ओम बिक्रम बिष्ट )

भन्नु नपर्ला – नेपाली गीत/ संगीतका स्रोताका लागि अत्यन्तै प्रिय यी र यस्तै अन्य धेरै गीतका गीतकार हुन् – सुरेन्द्र राना ! राम थापाको संगीत र बिज्ञान श्रेष्ठको स्वरमा रेडियो नेपालमा २०३७ सालमा ” धेरै धेरै बाधाहरु पन्छाई…” बोलको गीत रेकर्ड गराएर शुरु भएको उनको सांगीतिक – यात्रा अहिले पनि जारी नै छ। हालसम्म उनका पुगनपुग दुई सय जति गीतहरु प्रचारप्रसारमा आएका छन्।

२०१६ साल माघ २ गते गोरखा जिल्लाको लिगलिगकोटमा जन्मिएका सुरेन्द्रका “मेरी उनीलाई” र “के भयो यस्तो ” शीर्षकमा आधुनिक गीतका दुइवटा एल्वम प्रकाशमा आएका छन् भने “लाठीचार्ज ” शीर्षकको दोहोरी गीतको एल्बम( दुई भाग) २०६३ र २०७८ मा प्रकाशनमा आएका छन। वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको “प्रण” शीर्षकको गीति एल्बम पनि ३ भागमा प्रकाशित छ। ” मेरी उनीलाई ” ( गीतसङ्ग्रह – फाइन लाइन पब्लिकेसन /२०७३) र ” रेनी ड्रिम्स ” ( उपन्यास – डिकुरा प्रकाशन/ २०७३) सुरेन्द्रका प्रकाशित पुस्तकहरु हुन।

सुरेन्द्र रानाको अभिरुचिको अर्को क्षेत्र चलचित्र पनि हो । नेपाली कथानक चलचित्र गुरु- चेला, आँखा लोभी मन पापी आदिको कथा, पटकथा र सम्वाद लेखेका सुरेन्द्रले किनारा, होष्टेल समेतका केही टेलिचलचित्रमा पनि आफ्नो यो शीप खन्याएका छन्। रेडियो नेपालको सर्वोत्कृष्ट गीतकार(२०३७) सहित छिन्नलता गीत पुरस्कार (२०६८) र नातिकाजी विशेष संगीत सम्मान (२०७६)समेतका पुरस्कार / सम्मानद्वारा सम्मानित सुरेन्द्र रानाले अहिलेसम्म बादल, मोहनी, घामछायाँ, घुम्टो, गुरु- चेला, आँखा लोभी मन पापी समेत तीन दर्जनभन्दा बढी चलचित्रका लागि गीत लेखेका छन्। मलाई सम्झना भएसम्म, राम थापाको संगीत रहेको चलचित्र “बादल”का लागि भने हामी दुबैजनाले गीत लेखेका थियौं। सुरेन्द्रको संलग्नता वा भनूँ क्रियाशीलता विविध क्षेत्रमा रहे,भए पनि गीतिकारिता नै उनको परिचयको प्रमुख पाटो हो। सरलता र सहजता उनको गीति- लेखनको विशेषता हो भन्ने मेरो ठम्याइ छ।

गीतकार सुरेन्द्र रानाको कुरा गर्दा संगीतकार राम थापालाई बिर्सिनु भनेको तेल र बाती छुट्याउनु जस्तै हुन्छ भन्ने मलाई लाग्छ। माथि उल्लेख गरिएका सब‌ै गीतहरु राम थापाकै संगीतका त हुन् नै; सुरेन्द्र रानाका अधिकांश गीतहरु राम थापाकै संगीतमा रेकर्ड भएका छन् भन्न पनि अप्ठ्यारो मान्नु परोइन । म त राम थापालाई आफ्नो “सिरानी संगीतकार” नै भन्छु। गगन विरही र केही हदसम्म कृष्णहरि बरालका गीतहरुलाई पनि राम थापाको संगीतले जीवन्त बनाएको छ भन्ने मान्यता राख्छु।

यी सब‌ै सन्दर्भहरुभन्दा पर सुरेन्द्र राना- कहिलेकाहीँ “तिमी” को भाषामा पनि कुरा हुने मेरा साथी हुन। नेपाल ल क्याम्पसमा पाँचबर्षभन्दा बढी हामीले संगसंगै पढेका मात्र होइनौं , साथीहरु मध्ये पनि हामी दुबैजना ” एउटै ग्याङ ” का साथी थियौं। म अहिले पनि सम्झन्छु – कानूनको पढाईमा भन्दा सुरेन्द्रको ध्यान,त्यतिखेर पनि, गीतलेखन र वादनमै केन्द्रीत थियो। जो कसैलाई पत्याउन गाह्रो पर्छ – कलेजले लिने मासिक टेष्ट होस् वा सेमेष्टर जाँच – उनले कहिल्यै पनि जाँचमा राम्रो नम्बर ल्याउने अभिरुचि देखाएनन्। आफ्नै अन्दाजले पास हुने जति प्रश्नको उत्तर लेखिसकेपछि उनी परिक्षा- हलवाट बाहिर निस्कन ढिलो गर्दैनथे। एकपटक यो बानी सुधार्नका लागि सुझाव दिँदा उनले सजिलै भनिदिए – पास भए त भैहाल्यो नि! बढि नम्बर ल्याएर के नै गर्नु छ र ? यस अर्थमा उनी केही हदसम्म “अल्छे” पनि हुन । कानूनको स्नातक भए पनि सुरेन्द्रले कानूनी पेशा कहिल्यै अपनाएनन्।

क्याम्पस- समय बाहेक सुरेन्द्र र मेरो भेट रेडियो नेपाल र बागबजारमा रहेको राम थापाको डेरा- कोठामा पनि हुन्थ्यो। राम थापाको कोठामा नियमित जस्तो भेटिने सुरेन्द्र, गगन, म समेतले आ-आफ्ना नयाँ सिर्जना सुनाउँथ्यौं, सुन्थ्यौं । रामका नयाँ संगीत – सिर्जनाहरु सुन्थ्यौं र आवश्यकतानुसार त्यसमा आफ्नो दृष्टिकोण पनि अगाडि सार्थ्यौं। समकालीन गायक/गायिकाहरु पनि रेकर्ड गरिने गीतको अभ्यासका लागि त्यहाँ आएका हुन्थे। गीतकार , संगीतकार तथा गायक / गायिका एकैसाथ बसेर ( छलफल गरेर) गीत तयार गर्दाका ती दिनहरु आफैंमा रमाइला थिए ।

कार्यक्रमहरुतिर जान खासै रुचि नराख्ने सुरेन्द्रको पुरानै बानी हो। त्यसैले पनि हुन सक्छ, सुरेन्द्रलाई अनुहारले चिन्नेहरुको संख्या तुलनात्मक रुपमा कम छ। त्यसमाथि पनि मिडियाले गीतकारको नाम लिन छोडेको वर्तमान त झन आफैंमा सकसपूर्ण छँदैछ। सकसको कुरा गर्दा, सुरेन्द्रको सन्दर्भमा, यतिखेर म के पनि सम्झिरहेकोछु भने २०५९ साल कार्तिक ९ गते ललितपुरको अक्षेश्वर महाविहार परिसरमा कान्तिपुर एफ. एम. को चौथो वार्षिकोत्सव कार्यक्रम हुँद‌ै थियो। यही कार्यक्रममा मैले कान्तिपुर एफ.एम.का अध्यक्ष हेमराज ज्ञवालीसंग सुरेन्द्रको परिचय गराएको थिएँ। त्यसको केही क्षणपछि एकजना गायक भाइ सुरेन्द्र र म उभिदै चिया पिइरहेको त्यही ठाउँमा आउनु भयो। मैले उहाँलाई पनि गीतकारका रुपमा सुरेन्द्रसंग चिनाजानी गराएँ। उहाँले सुरेन्द्रलाई सोध्नु भयो- कहिलेदेखि गीत लेख्न थाल्नु भएको हो? त्यतिबेला सुरेन्द्रलाई उछिनेर मैले भन्नै पर्‍यो- रेकर्डिङको हिसाबले सुरेन्द्रजी मभन्दा जेठो गीतकार हो। मलाई गीततिर तान्नमा धेरथोर उहाँको पनि हात छ!

सुरेन्द्रसंग चिया पिउँदै गर्दाको यो फोटो त्यही बेला अर्थात् ९ कार्तिक, २०५९ को हो भने दोस्रो चाहीँ कलेज- जीवनकै बेला ५ माघ,२०३९ का दिन दिल्ली स्थित कुतुम मिनार अगाडि खिचिएको फोटो हो; जसमा बायाँबाट क्रमश: सुरेन्द्र राना, उमेश खकुरेल र म दिनेश अधिकारी उभिएका देखिन्छौं ।

प्रतिक्रिया