शनिबार, जेठ ५, २०८१

अन्तिम पत्र

नीरज दाहाल २०७८ फागुन ७ गते ६:४५

मृत्यु भएर आर्यघाटमा पुगेको मान्छेले
यदि लेख्न सक्ने भए
केके लेख्थ्यो र केके छुटाउने थियो
मलाई उसको अन्तिम पत्र हेर्न मन छ

सायद लेख्थ्यो कि
उसले गर्न बाँकी जीवनका सपनाहरू
अन्तिम पानामा लेख्थ्यो सायद
सपना सबै पूरा हुन्नन रहेछ

लेख्थ्यो कि उसले
घरमा बालाई भन्न नसकेको कुरा
आमालाई दिन नसकेको केही चीजहरूको नाम
भाइले नयाँ ज्याकेट माग्दा नदिनुको कारण
भाइटिकामा बहिनीलाई कम पैसा दिनुको वृतान्त
यस्तै केही लेख्थ्यो उसले त्यो पत्रमा

साथीलाई सम्झेर लेख्ने थियो
कतै घुम्न जाने योजनामा
सधैँ ऊ पछाडि हट्नुको समस्या
चिया भेटमा सबैभन्दा अन्तिममा
ऊ आउनुको रहस्य
सायद यस्तै केही लेख्थ्यो उसले

उसले बालाई भन्ने थियो
कुनै पसलको नाम लिएर
त्यो पसलमा यति बाँकी थियो तिर्दिनू

आमालाई भन्ने थियो
मेरा सबै कपडा नजलाइदिनु ती सबै भाइलाई दिनू

बहिनीलाई भन्ने थियो
तैँले भिजाएको कपडाको बाल्टीमा
अब कसैले झुक्याएर कपडा राख्दैन

साथीलाई भन्ने थियो
म नभए पनि कहिलेकाहीँ मेरो घर आइदिनू

उसले सम्झिन्थ्यो सायद
साँझ कोसेली बोकेर आइपुगेका पाहुनाले
बिहान
हिँडनेबेला ऋणको ब्याज माग्छन भन्ने थाहा पाउने छिमेकीलाई

सायद ती पत्रमा छुटने थिए
कसैको लागि तयार प्रेम पत्रका कुरा
देशलाई सोध्न मन लागेको प्रश्न
समाजले खोजेका जवाफहरू
यस्तै यस्तै

पत्रको अन्तिम पानामा
सायद लेख्ने थियो
उसले आत्महत्या गर्नुका कारणहरू ।
झापा

प्रतिक्रिया