मंगलबार, वैशाख ११, २०८१

मेरो गुरु Google

सुनील सापकोटा २०७८ साउन ९ गते १६:३३

आज गुरु पूर्णिमा र व्यास जयन्ती हो । ऋषि पराशर र सत्यवतीको संगमबाट हिन्दू धर्मावलम्बीको ग्रन्थको रचयिता कृष्णा-द्विपयण व्यासको जन्म भएकाले आजको दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ । व्यास एउटा विद्वान् सन्त थिए । उनीसँग प्रचुर ज्ञानको भण्डार थियो ।

प्राचीनकालमा श्रुतिका रुपमा विभिन्न ऋषिमुनि, योगी, सन्त, ज्योतिषी र आयुर्वेदाचार्यहरुसँग छरिएर रहेका वेदलगायत शास्त्र, विभिन्न ज्ञानका कुरा र घटनाहरुलाई व्यासले लिपिबद्ध गरेका थिए । उनले वैदिक स्तोत्रहरुलाई जम्मा पारेर त्यसमा भएका कुरा विषयगत आधारमा चार भागमा विभाजन गरे ।
१) ऋग्वेद
२) यजुर्वेद
३) सामवेद
४) अथर्ववेद ।

त्यसैले उनलाई हिन्दूहरुले आदरणीय गुरु मानेका होलान् भन्ने मलाई लाग्छ।

आजकै दिन बुद्धमार्गीहरुले पनि एउटा पर्वका रुपमा बुद्धलाई गुरु मानी सम्झना गर्ने गर्छन् । भनिन्छ कि आजको दिन भारतको वनारस स्थित सारनाथ भन्ने स्थानमा बुद्धले आफ्ना चेलाहरुलाई पहिलो उपदेश दिएका थिए रे ।

त्यस्तै भगवान् शिवलाई पनि हिन्दुहरुले यो दुनियाँको पहिलो गुरु भनेर मान्ने गर्छन् । तर मचाहिँ मेरो पहिलो एकमात्र गुरु आफ्नो आमालाई मात्र मान्छु । विचार आ-आफ्नो हो ।

मलाई लाग्छ एउटा मानवको जीवनमा उसका धेरै गुरु हुन सक्छन् । तर हिन्दू दर्शनको आध्यात्मिक हिसाबले हेर्दा जसले सत्य र मानवताको ज्ञान दिँदै मृत्युपछि पनि मोक्षको मार्ग देखाउँछ त्योचाहिँ वास्तविक गुरु हो ।

आज म मेरो जीवनका ती तमाम गुरुहरुलाई सम्झिँदै छु जसले मलाई स्कुलदेखि कलेजसम्म पढाएका थिए । ज-जसले खेलकुद क्षेत्रमा मलाई विभिन्न खेलमा कोच गरेका थिए । मलाई मोटरसाइकल र मोटर चलाउन सिकाएका थिए आदि-इत्यादि ती तमाम गुरुहरुलाई मेरो प्रणाम छ । हुन त हिजोआज मेरो गुरु Google पनि भएको छ ।

प्रतिक्रिया