बिहीबार, वैशाख १३, २०८१

मन्त्री बन्न किन दौडधुप ?

युवराज संग्रौला २०७८ साउन ११ गते ७:१४

मन्त्री भन्नेबित्तिकै अब त त्यो मानिस बदमास हो भन्ने मनोविज्ञान बनिसके छ । किन यस्तो मनोविज्ञान बन्यो होला ? को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्त्वपूर्ण होइन अब, सोच्नुपर्ने कुरा के हो भने राष्ट्रको राजनीतिमा भ्रष्टाचारको अवस्था कति गम्भीर भएछ ! किन मान्छे मन्त्री बन्न दौड्धुप गर्छ नेपालमा ? यसको उत्तर दिन अब गाह्रो रहेन ।

१. नेपालमा पञ्चायतका ३० वर्षमा मन्त्री हुनु भनेको, त्यो मानिसलाई राजाले चिनेको छ भन्ने अर्थ लाग्थ्यो । अनि के फाइदा हुन्थ्यो र राजाले चिन्दा ? उत्तर सोझो छ, त्यो पदले त्यो व्यक्तिको साख वा हैसियत ठूलो हुन्थ्यो । त्यसलाई भ्रष्टाचार गर्ने अवसर प्राप्त हुन्थ्यो, सीडीओ र अञ्चलाधीशलाई भनेर आफूलाई समर्थन गर्ने पञ्चको संरक्षण गर्न सजिलो हुन्थ्यो । अर्थात् मन्त्री भनेको राष्ट्रको सम्पत्ति, आय, स्रोत, राजस्व आदिमा लुट गर्ने प्रमाणपत्र थियो, त्यसबेला । राजतन्त्रको कन्तबिजोग त्यसैले पार्‍यो ।

२. पञ्चायतको मध्यतिर पढेलेखेका विज्ञहरु मन्त्री बने, र केही विकासका राम्रा अभ्यासहरु देखिएजस्तै पूर्वमा चियाखेती, देशभर स्कुल कलेज, कृषिमा आधुनिकीकरण, इत्यादि केही हदसम्म फस्टाए । तर यस्ता विकासले एउटा चुनौती ल्याउँदो रहेछ। त्यो हो मानिसको चेतना । तर पञ्चायत र दरबारलाई त्यो मनपर्दो रहेनछ । पञ्चायतको पछिल्लो समयमा मन्त्री भनेको जोकर हो भन्ने अर्थ लाग्न थाल्यो । र, भ्रष्टाचार गर्ने, चतुर/धूर्त, गँवार र लोकतन्त्रलाई सराप्न जान्ने मन्त्री हुन्छ भन्ने मनोविज्ञान निर्माण भयो ।

३. एउटा मन्त्रीमण्डल थियो जसप्रति मानिसको श्रद्धा थियो । त्यो मन्त्रीमण्डलले सिंगो राष्ट्रको स्वरुपको प्रतिनिधित्व गरेको भान हुन्थ्यो । त्यो मन्त्रीमण्डल २०४७ को अन्तरिम मन्त्रिपरिषद् थियो । देवेन्द्रराज पाण्डे, डा. मथुरा श्रेष्ठ, सहाना प्रधानजस्ता र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यक्तित्वले सरकारको ओज निर्माण गरेको थियो ।

४. अहिलेसम्म आइसक्दा मन्त्रीको पद भनेको लुट्ने, पार्टी र आफ्ना लागि कमिसन लिने, ठेक्काबाट कमिसन लिने, मन्त्रालयको बजेट लुट्ने, आफ्ना नातेदार र झोले कार्यकर्तालाई जागिर दिने, बैठकका नाममा महँगो होटेलबाट खानाखाजा मगाएर खाने, हेलिकोप्टर चढ्ने र मन्त्री भएको दुई-तीन महिनामा रातो रसिलो देखिन चाहनेले खाने लामो-छोटो जागिर हो भन्ने बुझिन्छ ।

५. अहिले मन्त्री हुनेले केही अर्थ बताउँछ । मन्त्री हुने मानिस प्रधानमन्त्रीको गुटनजिकको मानिस हो, त्यो पार्टीभित्र सेटिङ मिलाएर व्यापारीबाट कमिसन लिन सिपालु छ, त्‍यसले पार्टीलाई ठूलो चन्दा दिएको छ, त्यसको विदेशीसँग लेनदेन तथा बस-उठ छ, त्यो विदेशीको जासुस हो, त्यो भ्रष्ट हो र लम्पट छ भन्ने बुझिन्छ । एकाध मानिस यसभित्र मूल्य-मान्यता बोक्ने झुक्किएर पर्लान् तर अधिकांश चाकडी, सेटिङ, नेताको बाध्यताबाट आउँछ्न् ।

६. मन्त्री हुन हुन चाहनेले जे पनि गर्छ । के-के गर्छ ? अनेक नामका संगठनका मुस्तन्डको प्रयोग गर्छ दबाब निर्माण गर्न, पार्टीभित्र नेताको भनसुन गराउँछ, चन्दा दिने कमिसनखोर व्यापारीबाट लबिइङ गराउँछ, दोग्ला बुद्धिजीवी र बिकाउ पत्राकारको सहयोगले दबाब सिर्जना गर्छ र पार्टीभित्र आफैं गुटको प्रतिनिधित्व गर्छ । यस्ता मानिसले गर्ने मकारीको सीमा हुँदैन ।

७. यिनै कुरा अहिले जनताले बुझेका मन्त्रीका चेहरा हुन् । मन्त्री हुनु राजनीतिको एउटा मात्र लक्ष हो। भोटमाग्दा नै मैले जितें भने मेडिकल कलेजको लाइसेन्स, क्यासिनो लाइसेन्स, होटेलको लाइसेन्स, एयलाइन्सको लाइसेन्स, प्लटिङका लागि सार्वजनिक जग्गा दर्ता अनेक कुराको भरोसा दिएर चन्दा लिएको हुन्छ। त्यो व्यक्ति मन्त्री हुन्छ जो माफियाबाट पालित पोषित र समर्थित हुन्छ ।

केही समयपहिला चीनको एउटा काउन्टीबाट डेपुटीहरुको निर्वाचन हुँदा केहीले आफ्नो जित सुनिश्चित गर्न प्रत्यासीलाई पैसा दिएर उम्मेद्‌वारी नदिने बनाए छ्न् । एउटाले त्यसो गरेपछि अर्को पनि त्यसो गर्न बाध्य भएछ । चिनियाँ भ्रष्टाचार उन्मूलन ब्युरोले जाँच गर्दा ३०/४० जना यस्ता डेपुटी फेला पारेछ । केही जेल गए, केहीले मृत्युदण्ड पाए ।

जापानमा एक प्राध्यापकले एउटा लेख लेखे एउटा मन्त्रीले राजीनामा दियो, डेनमार्कमा कानुनमन्त्रीले भने मेरो त साइकल मात्र छ गाडी छैन, म आफैंले त्यहाँको प्रधानमन्त्री ग्रोसरीमा खानेकुरा किन्न आएको देखें, संसारमा मिल्ट्री पोसाक र राइफल लिएर मन्त्री हिँडेको देखिएको छैन, होला सिरिया लेबनानजस्ता देशमा होला ।

अहिले नेपालमा मन्त्री कस्ता मान्छे हुन्छ्न् देखिएकै छ । यो सबै राजनीतिमा विचारधाराको पतन, राजनीति व्यापार, जागिर र लुटन्त्रको प्रेमी-प्रेमीका भएकाले भएको हो । तपाईंलाई राम्रो देश बनाउने विचार छ भने यो फोहोर बढार्ने चेत खुल्नुपर्छ झोले हुने होइन।

(वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको फेसबुकमा राखिएको विचार)

प्रतिक्रिया