शुक्रबार, चैत १६, २०८०

डेल्टा भेरियन्ट र तेस्रो लहरको संकेत

नेपालखोज २०७८ साउन ११ गते ८:५८

गत केही सातादेखि लकडाउनमा लगातार दिइँदै आएको छुटसँगै कोरोनाको ग्राफ पनि उकालो लाग्दै गएको छ । काठमाडौंका अस्पतालहरुबाट आएका सूचनाअनुसार त्यहाँ कोभिडका बिरामीको चाप बढ्दै गएको छ भने फेरि एकपटक कोभिड वार्डहरु भरिन थालेका छन् । यसैगरी पीसीआर जाँच गराउनेहरुको संख्या पनि बढेको छ । समग्रमा भन्ने हो भने लामो लकडाउनपछि केही नियन्त्रणमा आएजस्तो देखिएको कोरोना महामारीको विपत्‌ले फेरि टाउको उठाउन थालिसकेको छ ।

अहिले कोरोना महामारीले विश्वव्यापी रुपमै राम्रो संकेत दिइरहेको छैन । संसारका कैयन् देशमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । स्वयं विश्व स्वास्थ संगठनका महानिर्देशकले संसारभर कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको र यसले संसारलाई कोरोनाको तेस्रो लहरको चपेटामा पार्ने चेतावनी दिइसकेका छन् । महानिर्देशकले डेल्टा भेरियन्ट संसारका ११२ देशमा पुगिसकेको बताउँदै अहिलेको अवस्था कोरोनाको तेस्रो लहरको प्रारम्भिक चरण भएको बताएका छन् । यो नयाँ भेरियन्ट थप नयाँ मुलुकमा पुग्ने र संक्रमितहरुको संख्या बढ्ने क्रमसँगै मानिसहरुको मृत्यु हुने क्रममा पनि बढेको छ ।

गरिबी र अशिक्षाका कारण यो महामारीविरुद्ध सचेतना र नियमहरुको पालनामा समस्या देखिएको छ भने आमसञ्चार र नयाँ मिडियामा आउने सूचनाहरुबाट मानिसहरु दिग्भ्रमित भएको अवस्था पनि छ ।

यद्यपि मानिसहरुले विश्व स्वास्थ संगठन तथा सरकारद्वारा जारी निर्देशिका तथा नियमहरुको पालना ठीक ढंगले गरिरहेका छैनन् भने नियमक निकायहरुको अनुगमन र कडाइसमेत फितलो हुँदै गएको छ । निषेधाज्ञामा दिइएको छुटसँगै आममानिस कोरोनाको खतराप्रति लापरवाह देखिएका छन् । सरकारी निकायहरु लकडाउन खुकुलो गर्नुको अर्थ कोरोनाको जोखिम घटेको होइन भन्ने कुरा जनतालाई बुझाउन पूरै असफल भएका छन् । खुकुलो भएको निषेधाज्ञासँगै सावधानी बढाउनुपर्ने कुरामा कमैले ध्यान पुर्‍याएको पाइन्छ । गरिबी र अशिक्षाका कारण यो महामारीविरुद्ध सचेतना र नियमहरुको पालनामा समस्या देखिएको छ भने आमसञ्चार र नयाँ मिडियामा आउने सूचनाहरुबाट मानिसहरु दिग्भ्रमित भएको अवस्था पनि छ ।

कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक र तीव्र बनाउँदै नियमहरुको पूर्ण पालना नै कोरोनासँग लड्ने प्रमुख तथा महत्त्वपूर्ण उपाय हो । यद्यपि कोरोनाविरुद्धको खोप ल्याउन नै निकै ढिला भइसकेको छ । त्यसको देशव्यापी समानुपातिक वितरणमा पनि समस्या देखिएको छ । खोपप्रतिको जागरुकतामा पनि कमी छ भने खोप केन्द्रहरु उत्तिकै अव्यवस्थित छन् । त्यसमाथि हाम्रो खोप अभियान राजनीति, निहित स्वार्थ, पूर्वाग्रह, धाँधली, पक्षपात आदिको सिकार हुँदै आएको छ । मुखले भन्नेबाहेक देशमा पर्याप्त मात्रामा खोप भित्र्याउने प्रक्रिया पनि निकै सुस्त छ । अहिलेसम्म निजी क्षेत्रले खोप ल्याउन अनुमति नपाउनु, स्थानीय सरकारहरुले आफूलाई खोप किन्न अनुमति दिइयोस् भनेर गरेको अनुरोध स्वीकार नहुनुको कारण जे-सुकै होस् यसले खोपमा संघीय सरकार एकाधिकार स्थापित गर्न चाहन्छ भन्ने कुरा नै साबित हुन्छ र त्यसका पछाडि के-कस्ता स्वार्थले काम गरेको छ जनताले नबुझेका होइनन् ।

हामीकहाँ कोरोनाको डेल्टा भेरियन्टको अवस्था कस्तो छ, के-कति बिरामी छन् भन्ने कुरा स्पष्ट छैन । यससम्बन्धी खोज- अनुसन्धान पनि भएको छैन । नुवाकोट, पोखरालगायत ठाउँका केही बिरामीमा डेल्टा भेरियन्ट देखिएको पुष्टि भइसकेको सन्दर्भमा यो भेरियन्ट नेपाल भित्रिसकेको कुरामा भने सन्देह गर्नुपर्ने अवस्था छैन ।

भारतमा विज्ञहरुले अगस्त महिनाको अन्तदेखि डेल्टा भेरियन्टको प्रकोपसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चेतावनी दिइसकेका छन् । नेपालमा पनि चिकित्सकहरुले यो विषयमा सबैको ध्यानाकर्षण गराइरहेको पाइन्छ । यस्तो स्थितिमा सरकारले ढिलाइ र लापरबाही नगरी समयमै आवश्यक कदम चाल्नु वाञ्छनीय छ । साथै कोरोनाको विस्तार रोक्न कठोर कदम चाल्न पनि पछाडि हट्नु हुँदैन । सरकारले समयमै आवश्यक तयारी र सावधानी नअपनाउने हो भने एउटा ठूलो क्षति र समस्या अवश्यम्भावी छ ।

प्रतिक्रिया