शुक्रबार, चैत १६, २०८०

एमालेमा खबरदारी जरुरी !

केशव प्रसाद गाैतम २०७८ साउन ११ गते १४:०१

नेपाल कम्युनिस्ट पार्टीका पहिलो पुस्ता क. पुष्पलाल, मनमोहन अधिकारी आदि नेताहरू नयाँ जनवादी क्रान्ति गर्ने उद्देश्यबाट प्रेरित र विश्व कम्युनिस्ट आन्दोलनबाट शिक्षित भएकाले निष्ठावान्, त्यागी र अनुशासित हुनुहुन्थ्यो । उहाँहरूको नेतृत्व रहुन्जेल नेपाली कम्युनिस्ट आन्दोलनमा पुँजीवादी विकृति र विसंगतिले टाउको उठाउन पाएको थिएन ।

तर सन् १९९१ मा सोभियत संघको विघटन भएपछि विश्वभरी नै कम्युनिस्ट पार्टी र सरकारहरू विघटित भई विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेलामा क. मदन भण्डारीले परम्परागत कम्युनिस्ट आन्दोलनमा प्रजातान्त्रिक विचारलाई प्रविष्ट गराएर सिर्जना गरेको “जनताको बहुदलीय जनवादलाई” नेकपा एमालेले अँगाल्यो। यसरी नेकपा एमाले दार्शनिक रूपमै एकात्मवादीबाट बहुलवादी भयो र सशस्त्र क्रान्तिको पुरानो मार्क्सवादी बाटोको सट्टा प्रतिस्प्रधाद्वारा प्रगतिशील समाज रूपान्तरणको शान्तिपूर्ण बाटोबाट कम्युनिस्ट पार्टी अगाडि बढने राजनीति लियो । समयानुसारको राजनैतिक लाइन लिएकाले नेकपा एमालेले संख्यात्मक विकास गर्‍यो । सरकारमा पनि पटक-पटक पुग्न सफल भयो । सरकारमा गएर केही सामाजिक हितका कामहरू पनि गर्‍यो तर पार्टीले गुणात्मक विकास गर्न सकेन। मार्क्सवादलाई परिवर्तित सन्दर्भमा लागु गर्न सकेन । कम्युनिस्ट पार्टीमा पुँजीवादी प्रजातन्रको विशेषता समावेश गर्दा त्यसका चरीत्र पनि संगसंगै आउछ भन्ने बारेमा सजग हुन सकेन।
नेकपा एमालेमा अधिकांस नेताहरू निम्न पुँजीवादी वर्गबाट आउनुभएको हुनुहुन्थ्यो । उहाँहरूले मजदुर किसानको हितलाई प्रमुखता नदिई आफ्नो ब्यक्तिगत हितलाई प्रमुखता दिन थालेपछि नेकपा एमाले क्रमश निम्नपुँजीवादी पार्टीमा रूपान्तरित हुदैगयो । फलस्वरूप पहिलो पुस्ताबाट पार्टीको नेतृत्व दोस्रो पुस्तामा आएपछि नेकपा एमालेले मार्क्सवादी विचारलाई छोड्दै गयो र पुँजीवादी विचार र पद्धतिलाई अँगाल्दै गयौ।

क. पुष्पलालले कम्युनिस्ट पार्टीमा नेता होइन नीति प्रधान हुन्छ भन्नु भएको थियो। त्यसको ठीक विपरित एमालेमा नीति होइन नेता प्रधान भयो र नेताको पछि लाग्ने संस्कारको बिकास भयो फलस्वरूप नेकपा एमाालेमा गुटहरू निर्माण हुदै गए । एमालेका नेताहरूले मार्क्सवादी विचारलाई दराजमा थन्क्याएर कम्युनिस्ट पार्टीले गर्न नहुने कामहरू गर्दै जानुभयो । कतिसम्म भने पुँजीवादी र प्रतिगामी पार्टीहरूसँग सत्ता साझेदारी गर्नुभयो । पुँजीवादीहरू झैं पजेरो संस्कृति, सांसद खरिद-बिक्री आदि जस्ता पुँजीवादी संस्कृतिबाट ग्रसित हुनुभयो। होलीवाइन संस्कृतिको प्रवर्द्धन गर्ने काम गर्नुभयो । कम्युनिस्ट सामुहिकतावादको ठाउँमा व्यक्तिवाद र देश र जनताको सेवा गर्ने कम्युनिस्ट भावनाका ठाउँमा ब्यक्तिगत समृद्धि तर्फ लागेर ब्यक्तिगत स्वार्थका लागि पार्टी नै समाप्त गर्न समेत संकोच मान्नु भएन ।

मार्क्सवादी दर्शनले भन्दछ “पदार्थले चेतना जन्माउछ अर्थात हाम्रो भौतिक अवस्थाले हाम्रो विचार निर्माण गर्दछ”। त्यसैले गरिब मजदुर किसान क्रान्तिकारी हुन्छन र सामन्त, पुँजीपतिहरू प्रतिक्रान्तिकारी हुन्छन । भारत जस्तो देशका पुँजीवादी नेताहरू ‘एम्बेसडर’जस्तो सामान्य गाडी चढ्थे तर हाम्रो गरीब देशका कम्युनिस्ट पार्टीका नेताहरू ३ करोडभन्दा पनि महँगा जापानी गाडी चढनुहुन्छ । बिरामी पर्दा सरकारी खर्चमा बिदेशमा गई करोडौं खर्च गरी उपचार गर्नुहुन्छ । यसरी हाम्रा देशका कम्युनिस्ट नेताहरू विलासी हुँदै जानुभयो । नेताहरू मात्र होइन नेतासँग निकट रहेका कार्यकर्ताहरू पनि सार्बजनिक सम्पत्तिको दोहन गर्ने काममा संलग्न रहेको देखिनुहुन्छ। यसरी नेता मात्र होइन पार्टी नै भ्रष्टीकरणतर्फ अगाडि बढ्दै गयो।

जतिजति नेताहरूको सम्पन्नता बढदै गयो नेताहरूका विचार पनि त्यति धेरै बिकृत हुदै गए। उहॅाहरू गरीब जनताको बारेमा होइन आफ्नो पद र समृद्धिको बारेमा मात्र शोच्न थाल्नुभयो र झनझन आत्म केन्द्रीत हुदैजानुभयो।फलस्वरूप आत्मकेन्द्रीत नेताहरूको बीचमा सत्तामा जानका लागि सत्तासंघर्ष भयो र नेताहरूको बीचको सत्ता संघर्षमा नेपालको कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नु पर्यो।यस्मा दुबै पक्षका शिर्ष नेताहरू दोषी देखिनुहुन्छ।

नेकपाको अध्यक्ष र दुईतिहाईको सरकारको प्रधानमन्त्री रहेर पनि आफ्नो पार्टी र सरकारलाई ब्यवस्थित राख्न नसकोको र जनताको सार्वभौम संस्था संसदलाई २ पटक भंग गरी अध्यादेशबाट नागरिकता विधेयक र देशको ढूंगा गिट्टी बेच्ने प्रयत्न गरेकोले पार्टीका अध्यक्ष र प्रधानमन्त्रीको बढी गल्ति देखिन्छ। त्यस्तै देश र जनताको सेवा गर्ने कम्युनिस्ट संस्कृति छाडेर आत्मकेन्द्रित भई पद र सत्ताका लागि अन्तरपार्टी संघर्षलाई मित्रवत ढंगबाट हल नगरी शत्रुतापूर्ण ढंगले सञ्चालन गर्ने, आफ्नै पार्टीका अध्यक्षलाई पार्टी सदस्यबाट हटाउने र प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेसलाई बिश्वासको मतदिने वरिष्ठ नेता माधवकुमार नेपालको पनि त्यति नै ठूलो गल्ती रहेको देखिन्छ । यी गलत कामहरू पार्टीमा रहेको निम्नपुँजीवादी आत्मकेन्द्रित चिन्तनकै परिणाम हो तसर्थ जबसम्म नेकपा एमालेले पार्टीमा रहेका गलत विचारलाई सच्याउदैन, यस्ता निम्नपुँजीवादी चिन्तनलाई छाड्दैन तबसम्म पार्टी सही बाटोमा आउन सक्दैन र कथंकदाचित पार्टी एकताबद्ध भएपनि विकसित हुन सक्दैन।

नेकपा एमाले भित्र नेताहरूबीच देखापरेको अन्तरविरोधका रूपमा पद र प्रतिष्ठाका लागि भएको संघर्ष जस्तो देखिए पनि यसको सार पार्टीमा रहेको निम्नपुँजीवादी विचार नै हो ।

त्यसैका कारण नेताहरूले गरेको सत्ता संघर्षले गर्दा हामीले दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा गुमाइसक्यौं । दुईतिहाइको कम्युनिस्ट सरकार गुमाइसक्यौं । नेकपा एमालेको सरकार पनि गुमाइसक्यौं । कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र दुई ठूला कम्युनिस्ट पार्टीहरू अलग मात्र भएनन् दुवै पार्टी छिन्नभिन्न भएको अवस्था छ।

यो सबै, पार्टी पुँजीवादी विकृतिमा परेका कारणले भएको हो । अब नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्नका लागि नेताहरूले आफूले गरेका गल्तीहरू स्वीकार गर्दै, पुँजीवादी विकृतिहरूलाई छाड्दै गरिब मजदुर किसान जनताको नेता झैं सामान्य जीवन व्यतित गर्नुपर्छ । अन्यथा नेताहरू सच्चिनु भएन भने कम्युनिस्ट पार्टीका रूपमा नेकपा एमालेको भविष्य राम्रो देखिँदैन। तर, अहिलेको स्थिति हेर्दा दुवै पक्षका शीर्ष नेतृत्व र उहाँका सहयोगीहरू यति ‘बायस’ हुनुहुन्छ कि उहाँहरू अर्को पक्षको मात्र गल्ती देख्नुहुन्छ, आफ्ना कमी कमजोरीबारे आत्मसमीक्षा गर्ने वा त्यसलाई स्वीकार्ने मनस्थितिमा देखिनु हुन्न तसर्थ नेकपा एमालेका जिम्मेवार चिन्तनशील कमरेडहरूले स्थितिको गाम्भिर्यतालाई बुझेर आफ्ना -आफ्ना शीर्ष नेतृत्वलाई सच्याएर नेकपा एमालेको रक्षा गर्न दबाब दिनुपर्दछ ।

प्रतिक्रिया