चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिए ।
उनका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको हो । १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिए । ‘असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ,’ उनले भने ।
डा. लोहनीका अनुसार बालबालिकाका लागि चैत मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप आउनेछ । हालसम्म ३४ लाख पाँच हजार १५४ अर्थात् १५.८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यस्तै १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया