भीम रावलको प्रश्न- संसद्‌बाट अनुमोदन नभएरै कसरी कार्यान्वयन हुन्छ एमसीसी ? (भिडियोसहित)

नेपालखोज २०७८ साउन १५ गते १४:५१

काठमाडाैं । नेकपा एमाले नेता भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धि-सम्झौता गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि आंशका व्यक्त गर्दै उनले प्रतिनिधिसभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे । ‘पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ’, डा रावलले भने, ‘एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन्, राष्ट्र हितमा छैन ।’ उपाध्यक्ष डा रावलले एमसीसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे ।

उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ/छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए । उनले सबै सांसदले एमसीसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे ।

उनले देशको हितलाई सर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसीसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे । ‘अनुदान हो भने त्यो कुरा स्पष्ट पार्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया