शुक्रबार, चैत १६, २०८०

‘पदाधिकारीलाई खेलकुद विकासका लागि सोच्ने फुर्सदै छैन’

नेपालखोज २०७८ साउन १५ गते १४:५७

‘अल्पकालीन योजनाले ओलम्पिक सहभागितामै सीमित हुन्छ’

शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन । विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ । विगतजस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्नेबाहेक सहभागिता उपलब्धिविहीन बन्यो । गत संस्करणकै जसरी खेलाडीको भन्दा धेरै भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो । असम्बन्धित पदाधिकारीले सयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ । यसपटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्डभन्दा माथि उठ्न सकेन । ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टबाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन् । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेका थिए । के सधैं नेपालको ओलम्पिक प्रतिस्पर्धा सहभागितामै सीमित हुने हो ? खेलकुद विज्ञ सुशीलनरसिंह राणालाई सोधका छौं । उनीसँगको कुराकानीको सम्पादित अंश :

नेपालले ओलम्पिक प्रतिस्पर्धामा सधैं सहभागितामै चित्त बुझाउनुपर्ने हो ?
यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधैं जनाउने गरे पनि पहिलो चरणभन्दा दोस्रो चरण पार गर्न सकेको छैन । यो संस्करणको सहभागिता पनि औपचारिकतामा सीमित भएको छ । आगामी तीन/चारवटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सीमित हुनेछन् । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै छ । पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सीमित छ । आगामी ६ दशक पनि यस्तै हुनेछ । किनभने हाम्रो कर्मचारीतन्त्रले खेलकुद के भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीजस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नुपर्ने हो उनीहरु राजनीतिको स्वार्थमा पनि तल्लीन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ परिवर्तन २०औं वर्षसम्म पनि हुँदैन । खेलकुदले छलाङ मार्न सक्दैन । अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन ।

खेलकुदमा राजनीति हाबी भइरहँदा खेलाडी उत्पादन क्षेत्रमा राजनीतिक व्यक्तिहरुले खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिइँदैन ?
नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठभूमिको हुन्छ । उनीहरुको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्न कुनै पनि योजना छैनन् । सरकार कसको छ त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन् । अहिलेको सदस्य सचिव (रमेशकुमार सिलवाल) आउनुभन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य-सचिव आउने आश गरेका थिए । तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थिए, उनै नेतृत्वमा आए । यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरुको ध्यान कसरी विवादरहित कार्यकाल सकाउनेमा मात्र ध्यान हुन्छ । उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन । खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन । ओलम्पिककै कुरा गर्नु पर्दा यो बृहत् क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालीन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालीन योजनमा अघि बढेको देखिँदैन । सधैं केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ । केही महिनाको तयारीमा हामी साफ, एसियन गेम्स खेल्दै आएका छौं । तर ओलम्पिक भनेको बृहत क्षेत्र हो । यो छोटो र अल्पकालीन योजनाले सम्भव छैन । दीर्घकालीन योजना बनाएर युथ एथ्लिट्सहरुलाई अभ्यास दिलाउँदै उनीहरुको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ ।

यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ । जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन् । तर सम्बिन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरुलको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन । साँच्चिकै प्रतिभावान् खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरुप्रति कोही पनि जवाफदेही छैनन् । हामी यस्तो सोचबाट धेरै नै टाढा छौं । रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन । हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरुको खेल करियर कलिलै उमेरबाट सुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।

दीर्घकालीन ढंगबाट खेल क्षेत्र अघि बढाउन के-के विषयमा ध्यान दिन जरुरी छ ?
दीर्घकालीन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे पनि सम्भव छ । बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन । पोलिसी लेभलमा नै बन्न सकेको छैन । बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन् । अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन् । सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ । कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता संघहरुलाई फाइदा मिलेको छ । अभ्यास गर्ने स्थल बन्द भएको बाहना संघलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठिन हुने खेलाडीले बुझिसकेका छन् । खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।

ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६/२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता, यस विषयमा सधैँ आलोचना हुँदै आएको छ, यसलाई कसरी विश्लेषण गर्ने ?
वास्तवमा यो निकै नै अस्वभाविक विषय हो । हिसाबकिताबकै आधारलाई मान्ने हो भने पाँचजना प्रशिक्षक, पाँच पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नुपर्ने थियो । पदाधिकारी लग्नु अहिलेको अवस्थामा अलि अस्वभाविक भएको मात्र हो । यसरी ठूलो संख्यामा पदाधिकारीलाई सयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । खेलकुदमा नराम्रो सन्देश जान्छ । अनि अभिभावकको विश्वास नै टुट्छ । मैले किन मेरो बालबच्चा खेल क्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ । कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।

प्रतिक्रिया