शुक्रबार, वैशाख ७, २०८१

भर्जिन

वसन्त अनुभव २०७८ साउन १६ गते ९:१२

सहर पढेर आएको छोरालाई जति बिहे गर भन्दा पनि नमानेपछि दिक्क भएका उमेशका बुबाआमाले मलाई देख्नेबित्तिकै गुनासो पोखे ।
“लौन ए हर्के ! तेरो साथीलाई सम्झा । अब पढाइ पनि सकियो, हामी पनि डाँडामाथिको जून जस्तै भइसक्यौ । आँखामा पानी छँदै छोराको घर बसेको हेरेर सन्तोषले जाऔंला भनेको । बिहे गर्न पटक्कै मान्दैन ।”

“बुवाआमाले भनेको कुरो सही लाग्यो मलाई । आखिर त किन मान्दैनस् उहाँहरूको कुरा ?” मैले उमेशलाई एकान्तमा सम्झाउँदै भने ।

“अब तेत्रो पढेर गर्छु नि, गाउँका पाखे केटीलाई बिहे,” उमेशले चिढिँदै भन्यो ।

“ल ठीक छ, तेरै कुरो सही । सहर पढ्दा सबितासँग तेरो निकै हिमचिम थियो, त्यसैलाई बिहे गर्न त ।”

“अब कहीँ नपाएर त्यो चरित्रहीन केटीलाई जीवनसाथी बनाउँछु ।”

“त्यसो भए कविता या जुना या विपनामध्ये कुनै एउटीसँग बिहे गर, आखिर सबै त भन्दा हुरुक्क हुन्थे ।”

“ह्या .. ती केटीहरूको कुरा नगर् । सबै चरित्रहीन हुन् । मलाई भर्जिन चाहिन्छ ।”

“तलाईं सबै चरित्रहीन हुन् भन्ने कसरी थाहा भो भन् त । अरूको चरित्रमाथि त्यत्तिकै औंला उठाउन पाइन्छ ?”

“कस्तो ठिस् कुरा गर्छस् यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”

“वाह ! साथी वाह ! ती सबै केटीहरूसँग रात बिताउने तँचाहिँ चरित्रवान्, अनि ती सबै चरित्रहीन ? अब तलाईं बिहे गर्न भर्जिन केटी चाहियो । यत्रो पढेलेखेको विद्वान् मित्रले यस्तो तुच्छ बोल्दा अलिकति लाजसरम लागेन ?”

प्रतिक्रिया