मंगलबार, असोज १२, २०७८

व्यापारीले देश चलाउन किन हुँदैन ?

अम्बिका शर्मा २०७८ साउन १७ गते २२:५४


अहिले हामी जुन सभ्यतामा छौं त्यो व्यापारिक सभ्यता हो । हाम्रा हरेक दैनिकी व्यापारिक हुन्छन् । दैनिकी मात्रै होइन, प्रत्येक सेकेण्डमा हुने हाम्रा कृयाकलाप व्यापारिक छन् ।

मैले सवै कुरालाई किन व्यापारिक भनेको हो त ? के सवै मानिसहरु व्यापारी हुन् त ? यस्ता प्रश्नहरु आउनु स्वाभाविक नै हो । आउँछन्, आउनु नि पर्छ । हो, हामी सवै व्यापारी नै हौं । हाम्रा व्यवसाय फरक–फरक छन् । कार्यक्षेत्र पनि फरक–फरक नै हुन्छन् । यहाँ सवै व्यवसायका बारेमा उल्लेख गर्न त सकिँदैन । ति सवैलाई कोट्याउन थाल्यो भने एउटा वृहत् पुस्तक नै बन्ला । तैपनि मनमा लागेका केही कुराहरु राख्दैछु ।

हाम्रो देशमा राजनीतिक व्यवसाय मज्जाले फष्टायो । टोल–टोलमा मन्त्री छन् । विज्ञको त कुरै नगरम् । ‘मल्टिप्रपोज’ खुवीका विज्ञहरु हरेक गल्लीमा पाइन्छन् । डाक्टर, इन्जिनीयर, वकिल त घरैपिच्छे । सानो केही समस्या कसैलाई सुनायो भने त्यसको समाधानका लागि अनेक उपाय बताउने ‘विज्ञ’हरु बग्रेल्ती भएको ठाउँमा देश बनाउने कुरामा प्रधानमन्त्री बनिहाल्छन् । त्यो काम गर्न जानेन सरकारले । यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो, त्यो ठीक भएन । त्यसलाई जिताएर पठाएको खत्तम भइगो नि । आदि आदि भन्दै गाली ग¥यो । अलि पछि त्यही व्यक्ति सरकारमा पुग्छ । उसले जानेको अरुको निन्दा मात्रै हो । अब ऊ बाट कस्तो कामको अपेक्षा गर्न सकिन्छ र ?

हरेक विषयमा व्यवहारिक ज्ञान अनिवार्य हुन्छ । यदि व्यवहारिक ज्ञान भएन भने कुनै पनि काम सफल हुँदैन । देश चलाउन राजनीतिक पृष्ठभूमिबाट आएकाहरुमा एउटा मात्रै विषयमा ज्ञान हुन्छ । धेरै विषयमा एकै व्यक्तिले कहिल्यै पनि विज्ञता हासिल गर्न सक्दैन । तर, हामीमा हरेक कुरा गर्न आफैं पर्फेक्ट छौं भन्ने घमण्ड छ । त्यो सत्य होइन रहेछ । एक व्यक्ति एक विषयमा पर्फेक्ट हुनसक्छ । अरुमा असम्भव । किनभने प्रकृतिले हामीलाई त्यस्तै प्रकारले बनाएको छ । सवैकुरा जान्ने छु भन्ने जो कोही होस्, त्यो गलत व्यक्ति हो । गलत नै रहनेछ ।

कोही व्यक्तिहरु त्यसै व्यापारी बनेका हुँदैनन् । उनीहरुले हरेक कुरामा सुक्ष्म अध्ययन गरेका हुन्छन् । कसरी व्यवसाय अगाडि बढाउने, यसको विस्तार कसरी गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्ने, कुन–कुन ठाउँमा लगानी गर्ने भन्ने कुरामा उनीहरुको विशेष दख्खल हुन्छ । कतिपय ठाउँमा ठक्कर खाँदा पनि नडगमगाई अगाडि बढेर बनेका हुन्छन् कुशल व्यापारी । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उनीहरुले सरकारमा नभए पनि देश चलाइरहेका हुन्छन् । सरकार नभए पनि जनता वाँच्न सक्छन्, तर, व्यापारी नभए त्यो असम्भव छ ।

त्यस्ता कुशल व्यापारीलाई सरकारमा लानुपर्छ । उनीहरुको अनुभवलाई देश विकासमा लगाउनुपर्छ । जसरी घर चलाउन अनुभवी अभिभावकको आवश्यकता पर्छ त्यसरी नै देश चलाउन पनि अनुभवी व्यक्तित्व चाहिन्छ । देशको विकास भाषण गरेर मात्रै हुँदैन । काम गर्नुपर्छ । नेताले कुनै विषयमा दख्खल राख्लान्, तर व्यापारी हरेक विषयमा पोख्त हुन्छन् । उनीहरु अनेक व्यवहारिक समस्याबाट गुज्रिइसकेका हुन्छन् । अनि तिनको समाधान गर्दै अगाडि बढेका हुन्छन् । भनिन्छ नि ‘पढेर भन्दा परेर जानिन्छ’ त्यस्तै व्यापारीले पढेर अनि परेर प्रायः सवै कुरा भोगिसकेका हुन्छन् ।

मैले सवै व्यापारीलाई जिम्मा लगाउनु भन्न खोजेको चाहिँ होइन । चेक एण्ड ब्यालेन्स चाहिन्छ । एउटा संयन्त्र बनाएर व्यापारीलाई देश चलाउने जिम्मा दिने हो भने नेपाल यति सम्पन्न र शक्तिशाली हुन्छ कि तपाइँ हामीले सोचेभन्दा पनि बढि ।

एउटा व्यापारी सरकारमा गयो भने हाम्रो सोचाइ नै फरक हुन्छ । उसलाई हेर्ने दृष्टिकोण नै अलग । उसले सबै बेचेर खाने भयो । आफैंलाई मात्र सजिलो बनाउने भयो । अरुको त के हेर्ला र ? कति पैसा तिरेर सरकारमा गयो होला ? यस्ता–यस्ता प्रश्नहरु गर्छौं हामी । अनि बिरोधमा कता–कता के–के गर्न सक्ने हो त्यो गर्छौ । सामाजिक सन्जालमा जे मन लाग्यो त्यही लेख्छौं । कहिल्यै पनि त्यो व्यक्तिका विशेषताका बारेमा छलफल गर्दैनौं । गाली गर्नु नै बुद्धिमानी हो भन्ने ठान्छौं हामी ।

देश चलाउने निकायमा व्यवहारिक व्यक्तित्वलाई प्राथमिकता दिऔं । जसले आम जनताको समस्या बुझोस् । अरुको समस्या बुझ्न जो–कोहीले सक्दैन । अरुको कुरा काट्नेले आफ्नै समस्या त बुझ्न सकेको हुँदैन । त्यसैले व्यापारीहरुलाई सरकारमा राख्न विशेष व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।

प्रतिक्रिया