शनिबार, वैशाख १५, २०८१

कब्जियत कारण, लक्षण र जोखिम !

डा. हेमराज कोइराला २०७८ साउन १९ गते ७:५६

मल निष्कासनको स्वभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।

विशेष रोगावस्थाजस्तै आन्द्राका घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम, पराकिनसन रोगजस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो । भोजन व्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो ।

भोक लागेका बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो-मीठो, तारे-भुटेको, पचाउन कठिन, जंकफुड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्राय: खाइरहने, सागसब्जी सलादजस्ता खस्रा-मोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरु, श्रमपछि विश्राम नगर्नेहरु, भय, चिन्ता, शोक र उदासीनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेहरुलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्कोटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।

लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटा पर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु, मुख बिग्रिनु, रिँगाटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छाती पोल्नु र थाकेको महसुस हुनु ।

जोखिम
कब्जियत सामान्य, तथा बहु प्रचलित रोग भए पनि यो कैयौं रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरुको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामै रही रहने भएकाले आन्द्राभित्रै मल सडेर कुपित हुन पुग्छ । यसरी अनकौं लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्राभित्रै विषाक्त पदार्थ बन्न पुग्छ । यी विषाक्त पदार्थहरु आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्त्वपूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउँदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् ।

पूर्वीय स्वास्थ्य विज्ञानहरुको मतअनुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल ववेल सिन्ड्रोम, एसिडिटी, एपेन्डिसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया-पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु, मानसिक समस्याहरु जस्तै- डर, चिन्ता, खिन्नता, उदासीनता, अनिन्द्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडिनु जस्तै- पटक-पटक इन्फेक्सन भइरहनु, सर्दी-मर्कीले सताइरहनु, ज्वरो, खोकी बल्झी रहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु अन्तश्रावी ग्रन्थीहरुको कार्य नियमित नभएर हार्मोनहरुको मात्रा घटबड भइरहनु, कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा भएका तत्त्वहरुको मात्रा घटबढ भइरहनु रक्तअल्पताको समस्या देखापर्नु महत्त्वपूर्ण अंगहरुको कार्यक्षमता घट्नु जस्ता रोगहरु हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया