‘जयसिंह धामी प्रकरणमा सरकारले औपचारिक रुपमा विरोध गर्नुपर्छ’

नेपालखोज २०७८ साउन १९ गते १५:०१

काठमाडौं । प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर बोलेका सांसद ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताएका हुन् ।

उनले भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउदै दोषी उपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरेका छन् । उनले सरकारले कर्मचारी स्तरबाट छानबिन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाए ।

उनले तुइनका कारण सिमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला-खलंगा-तिङ्कर-कालापानी सडक खन्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दिर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिए ।

उनले दार्चुला घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नपनि माग गरे । सांसद ठगुन्नाले सरकारले हालसम्म मन्त्रिपरिषद् लाई पूर्णता दिन नसकेको र संसदलाई विजनेशविहिन बनाएको भन्दै आलोचना पनि गरे। सत्तासम्बद्ध दलहरु भागबन्डाको किचलोमा रुमल्लिइरहेको उनको आरोप छ ।

प्रतिक्रिया