‘विदेशबाट आउने पर्यटकले क्वारेन्टिन बस्न आवश्यक छैन’

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टिनमा बस्न आवश्यक नरहेको बताएका छन् । उनले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टिनमा बस्न आवश्यक नरहेको बताए ।
त्यस्तै उनले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको बताए । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उनले बताए ।
उपाध्यक्ष शर्माले भने, “ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइसक्नुभएको छ । भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नु भयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानु भयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनु भएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आउनु भएको छ, ७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टिनमा राख्नुको कुनै अर्थ छैन ।”
कोरोनाको कारणले गर्दा व्यपार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उनले उल्लेख गरे । साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताए । उनले एक पछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गरे ।
पर्यटकलाई आह्वान गर्दा सरकारले पनि नेपालमा पर्यटन व्यवसायी र कर्मचारीहरु भ्याक्सिनेट भइसकेको र सबै सुरक्षित हुनेछन् भन्ने सन्देश दिएर पर्यटक आह्वान गर्न आग्रह गरे ।

प्रतिक्रिया